Loading...

शिव परियारका गज्जब फ्यान : युवतीले हात काटेर नाम लेखिन् !

Published Date: November 9, 2017

लोकगीत, आधुनिक गीत, शास्त्रीय संगीत हुँदै पछिल्लो समय पप गायनमा समेत जमेका चर्चित गायक हुन शिव परियार । उनका हरेक विधाका गीतले बजार पिटे । देशविदेशमा हुने कन्सर्टमा सबैभन्दा धेरै डिमान्ड हुने गायक पनि हुन् उनी । यतिखेर उनी अमेरिकाका विभिन्न सहरका कन्सर्टमा व्यस्त छन् । अमेरिका उड्नुअघि शिवसँग प्रवीण बुढाथोकीले गरेको फ्यान संवाद :

भैरहवाकी युवतीले किस गरिन्

समाचारमा पढ्थेँ, फलानो गायकलाई स्टेजमै चढेर फ्यानले ‘किस’ गरिन् । अचम्म लाग्थ्यो, त्यस्ता ‘डाइहार्ड’ फ्यान मेरोचाहिँ किन भएनन् । तर, केही वर्षअघि मात्र भैरहवा महोत्सवमा त्यस्ती ‘डाइहार्ड’ फ्यान भेटेँ । मेरो गीतमा टिनएजर्सहरू पसिनैपसिना भएर नाचिरहेको देखेपछि ममा झन् फुर्ती थपियो । ‘मलाई जालैमा पार्‍यो फेसबुकले’ गाउन सुरु मात्रै गरेको थिएँ, हुटिङ र सिट्ठी एकैचोटि आयो । स्टाइलिस तरिकाले अडियन्सछेउमै पुगेर नाच्दै गाउन थालेँ ।

गाउँदै थिएँ, पछाडिपट्टि कालो छाया देखेँ । ‘कार्यक्रम सकाउनुस् है’ भनेर फेरि होस्ट टर्चर दिन आए भन्ने सोचेँ । उसतिर हेर्दै नहेरी गाइरहेँ । हुटिङ झन् चर्कियो । उफ्रिँदै गाउँदै थिएँ, पछाडिबाट च्याप्प मलाई अँगालो हालियो । पछाडि फर्किन खोजेको मात्र थिएँ, गालामा म्वाइँ खाइयो । यसो हेरेँ, केटी रहिछिन् । त्यसपछि त लाजले रातोपिरो भएँ । अडियन्सलाई फेस गर्न पनि सकिनँ । दर्शकको सिट्ठी किन चर्को आएको रहेछ भन्ने बल्ल त्यसवेला बुझेँ ।

मफलर साट्ने युवती

चार वर्षअघिको कुरा हो । हेटौँडाको कन्सर्टमा कालो डे्समा पस्मिनाको रातो मफलर लगाएको थिएँ । त्यहाँ एउटी असाध्यै राम्री युवतीले मलाई फलो गरिरहेकी थिइन् । मैले गाइरहँदा स्टेजछेउमै आएर वेलावेला मफलर देखाउँदै हात दिन्थिन् । तर, अग्लो स्टेज र टाइट सेक्युरिटीका कारण मसामु आइपुग्न सकिनन् ।

कन्सर्टपछि अन्तर्वार्ता दिन रेडियोमा गएँ । उनी मलाई खोज्दै रेडियोमै आइपुग्नुभयो । ‘तपाईंसँग दुई मिनेट कुरा गर्न चाहन्छु’ भनेर बोलाइन । र, मफलर साट्न अनुरोध गरिन । कन्सर्टमै मफलर साट्न खोजेकी रहिछन्, त्यसवेला मैले बुझिनँ । मलाई मन परेको मफलर थियो, तैपनि ‘ह्वाई नट’ भन्दै दिएँ । उनले पनि आफ्नो ह्वाइट कलरको ऊनीको मफलर दिएर निस्कनुभयो । उनी फेरि ‘क्यान आई हग यू’ भन्दै फर्कनुभयो । साथीहरूले उनकै अगाडि मलाई जिस्क्याउन थाले । मैले लजाइलजाई ‘हुन्छ’ भनेँ । त्यसपछि त झन् ‘आई वान अ किस यू’ पो भनिन् । मलाई के भनुँ, के भनुँ भयो । म सालिकजस्तै उभिइमात्रै रहेँ । उनी नजिकै आएर गालामा किस गरिन् । ‘थ्यांक यू सो मच’ भन्दै फेरि हग गरेर हिँडिन् ।

संगी गाउँदा अमेरिकनले  ‘थम्स अप’ गरेपछि…

युएसएडले देशभर ‘स्मार्ट फ्यामिली’ म्युजिकल इभेन्ट चलाएको थियो । म पनि सामेल हुने मौका पाएँ । पोखराको लेखनाथमा आयोजना गरिएको सो इभेन्टमा मैले ‘संगी’ गाएँ । एकजना अमेरिकन नागरिकले ‘थम्स अप’ गर्नुभयो । विदेशीले पनि मन पराए भनेर भित्रभित्रै खुसी भएँ । उहाँ युएसएड नेपालको कन्ट्री हेड हुनुहुँदोरहेछ । उहाँले आफ्नो टिमलाई आदेश नै दिनुभएछ, ‘हरेक इभेन्टमा मलाई शिव परियार चाहिन्छ ।’ त्यसपछि दुई–तीनवटा इभेन्ट त मेरोअनुकूलको समयमा भयो । सेसनको अन्तिम इभेन्ट लहानमा थियो । त्यसको अघिल्लो दिन झापाको कन्सर्टमा हिँड्दा एयरपोर्ट काउन्टरमा उनले मलाई देखेपछि तत्कालै साथीलाई फोन गरेर हप्काउनुभएछ, ‘शिव परियार त झापा गइरहेछ मैले भद्रपुरको काउन्टरमा देखेको, भोलि कसरी लहान आउँछ ?’ बल्लबल्ल प्रिज्माका साथीहरूले उहाँलाई कन्भिन्स गराउनुभएछ । भोलिपल्ट म पुगेपछि मात्र उहाँ ढुक्क हुनुभयो । अडियन्सको भिड थियो, मेरो गीत सुन्न उहाँ भिडको बीचमा छिर्नुभयो । सेक्युरिटीले देखेर उहाँलाई भिडबाट निकालेछन् । त्यति ठूलो पर्सनालिटी भएको मान्छे अडियन्सको भिडमा मैले कहिल्यै देखेको थिइनँ । नेपाली नबुभ्ने त्यति ठूलो व्यक्ति पनि मेरो शुभचिन्तक छन् भन्ने सम्झँदा गर्व महसुस हुन्छ ।

मेरै गीत मलाई नै गाउन  सल्लाह दिने फ्यान

दुई वर्षअघि एकजना युवती ‘तपाईंकी डाइहार्ड फ्यान हुँ’ भन्दै फेसबुक सम्पर्कमा आउनुभयो । उहाँका म्यासेज पढ्दा लाग्थ्यो, उहाँबाहेक अरू फ्यान नै होइनन् मेरा । ‘क्या दामी भो’ गीत उहाँलाई मनपर्दो रहेछ । म्यासेजमा ‘तपाईंसँग बसेर कफी खान चाहन्छु’ भनेर लेखिरहनुहुन्थ्यो । फ्यानले ढिपी नै गरेपछि सिटी सेन्टरको कफी सपमा बोलाएँ । बाइकमा धुस्रेफुस्रे भएर पुगेँ, उहाँ पहिल्यै नै आइसक्नुभएछ । एकदमै राम्री हुनुहुन्थ्यो, छँुदा दाग लाग्लाजस्ती । फेसनवाइज, पर्सनालिटीवाइज पनि स्ट्यान्डर्ड टाइपकै देखिनुहुन्थ्यो ।

तर, उहाँ त लास्ट गफाडी हुनुहुँदो रहेछ । सामान्य कफी गफ मात्र भएको थियो । त्यसपछि त निरन्तर मलाई सल्लाह दिन थाल्नुभयो । उहाँलाई शिव परियार क्या दामी गीतको गायक भन्ने मात्र थाहा रहेछ । ‘क्लासिकल पढेको मान्छे भन्नुहुन्छ, अलिकति नजर तिम्रो, कहाँ थियो रंगमञ्च, सुन्छु तिमीले मलाईजस्ता ड्र्यास्टिक सङहरू गाउनुपर्‍यो’ भनेर मेरै गीत मलाई गाउन सल्लाह दिनुभयो । सुन्छु तिमीले मलाई गीतको उहाँ सुपर फ्यान रे ! अडियो नै सुनाउनुभयो । उहाँका सल्लाह सुनेँसुनेँ, ‘ह्वस, कोसिस गर्छु’ भन्दै त्यहाँबाट उठेँ ।

बेलुकी उहाँलाई फेसबुकमा मेरा गीतको लिंकसहितको म्यासेज पठाएँ । ‘ती सबै गीत मेरै हुन्, फुर्सद भो भने हेर्नुहोला,’ म्यासेजमा लेखेँ, ‘फोकटमा पायो भने फोकटिया तरिकाले गीत सुन्ने मान्छे हुनुहुँदोरहेछ तपाईं । अबदेखि आपूmलाई मनपर्ने गीतको सर्जक को हुन् बालमतलब गरेर नसुनिदिनुहोला ।’ उहाँले म्यासेज हेर्नु त भो तर रिप्लाई गर्नुभएन । त्यसपछि मैले उहाँलाई ब्लक नै गरिदिएँ ।

एउटै कन्सर्टमा ‘क्या दामी भो’  ६ चोटि गाउन लगाए

क्या दामी भो गीत भर्खर निस्किएको थियो । ०६७ को दसैँमा कन्सर्ट गर्न झापाको सुरुँगा गएँ । ११ बजेदेखि सुरु भएको कन्सर्टमा मलाई २ बजे बोलाएका थिए । रोड नै छेकेर ट्रकमा स्टेज बनाइएको थियो । परपरसम्म अडियन्सको भिड देखिन्थ्यो । म ब्याक स्टेजमा पालो पर्खिरहेको थिएँ । ‘हामीमाझ शिव परियार हुनुहुन्छ, शिव परियार सुन्ने होइन,’ होस्ट चिच्याए । होस्ट चिच्याएपछि म तयार हुन्थेँ, तर एक–एक घन्टामा स्टेजमा बोलाउँथे र कसैलाई ट्रफी त कसैलाई खादा ओढाउन लगाउँथे ।

साँझ ७ बजेपछि अति भएर मलाई किन २ बजे नै बोलाएको, साँझ ६ बजेपछि बोलाएको भए भइहाल्थ्यो नि भनेर आयोजकसँग रिसाएँ । ‘अन्त कि दाजु, शिव परियारलाई देखाउनुपरेन, क्या दामी यहाँ बबाल चल्या छ,’ भनेर हिँड्छन् । चार–पाँचवटा ब्यान्ड आएका छन्, उनीहरू मात्रै गाउँछन्, बजाउँछन् । एकलट मान्छे आएर गए, अर्को लट फेरि खाना खाएर पनि आइसके त्यही पनि आउँदैन गाउने पालो । राति १० बजे बल्ल पालो आयो । आधा मान्छे घर गएर सुतिसके । दिउँसभरि रोड नै जाम हुने गरी मान्छे थिए ।

पालो कुर्दै दिक्क लागिसकेको थियो । तैपनि गाना सुरु गरेँ । अरूअरू गीत गाएँ, भिडले वास्तै गर्दैन । अब कन्सर्ट टुंग्याउनुपर्‍यो भनेर लास्टमा क्या दामी गाएँ । २५–३० जनाको ग्याङ क्या दामी गाउन थालेपछि उफ्रिन थाल्योे । ‘क्या दामी वान्स मोर’ भिडबाट एउटै स्वरमा आवाज आयो । खुसी लाग्यो, दोहोर्‍याएर गाएँ । फेरि वान्स मोर आयो । अब ढिलो भयो, अर्कोचोटि भनेर बिदा हुन खोजेँ । ‘किन नगाउने ? हामी यही गीत सुन्न आएको अरू गीत चाहिँदैन,’ सर्ट च्यातेर ती ग्याङका केटाहरू स्टेजनजिक आए । दुईचोटिसम्म नाच्दै गाउँदै गरेको थिएँ, तेस्रोचोटि नाच्ने कि उभिने ! ट्वाल्ल परेँ । त्यो कन्सर्टमा क्या दामी भो ६ चोटि गाउन लगाए ।

राजदूत नै मेरा फ्यान

यही वर्ष लन्डनको एक कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत डा.दुर्गाबहादुर सुवेदीले मलाई स्तब्ध बनाइदिनुभयो । त्यहाँ भएका मेरा दुई–तीनवटा कार्यक्रममा उहाँ मुख्य अतिथि हुनुहुन्थ्यो । उहाँ साहित्यकार पनि हुनुहुन्छ । त्यहाँको एउटा कार्यक्रममा उहाँले मेरो स्ट्रगल फेजदेखि अहिलेसम्म बायोग्राफी पढेजसरी ब्रिफ गरिदिनुभयो । म ट्वाँ परेर हेर्‍याहेर्‍यै भएँ । डिप्लोम्याटहरूले हामीलाई के चिन्लान् र भन्ने सोच्थेँ । ‘अलिकति नजर तिम्रो, कहाँ थियौ रंगमञ्च, पागल बनायौ प्रिय तिमीले गाउनैपर्छ है’ भनेर अर्डर दिनुभयो । मैले उहाँलाई नै मेन्सन गरेर ती सबै गीत गाइदिएँ । उहाँले एक दिन डिनरमा पनि बोलाउनुभयो । त्यति ठूलो व्यक्ति पनि मेरो गीतको फ्यान हुनुहुँदोरहेछ ।

मेरा लागि दुईपटक हात काट्ने युवती

केही वर्षअघि एकजना युवतीको फेसबुकमा म्यासेज देखेँ । ‘मलाई तपाईंका गीत एकदमै मनपर्छ’ भनेर गीतका मात्रै कुरा थिए । त्यसपछिका म्यासेजमा पनि गीतबारे मात्रै कुरा गर्थिन् । मलाई लाग्छ उनी इन्डियन र नेपाली फ्यामिलीको मिक्स्ड हुन् । संगीतमा रुचि राख्ने फ्यान सम्झेर उनलाई रेस्पोन्स दिन्थेँ । हामी संगीतका कुरा धेरै गथ्र्यौँ । नियमितजस्तै कुरा हुन्थ्यो, केही समय मैले उनको म्यासेज नै पढिनँ ।
एक दिन अचानक फेसबुकमा उनले पठाएको फोटो देखेँ ।

ब्लेडले हात चिरेर शिव लेखेको फोटो थियो । ‘मान्छेहरू अति नाटक गर्छन्, रगतजस्तो रंग लगाएर शिव लेखेर पठाएको हो कि क्या हो,’ भनेर म्यासेजमै जिस्क्याएँ । ‘म तपाईंकी डाइहार्ड फ्यान हुँ । तपाईंले यत्तिका समय कुरा गर्नुभएन, सम्पर्कमा पनि आउनुभएन, रिसाउनुभयो कि भनेर आफूलाई सजाय दिएकी हुँ’ भनेर रिप्लाई आयो । मलाई नराम्रो लाग्यो । यसरी हातै काट्न के जरुरी थियो र ? किन हात काटेको भनेर सम्झाएँ । ‘मेरो हात हो, तपाईंको काटिदिएकी छैन क्यारे,’ उल्टै मलाई सम्झाउन खोजिन्, ‘तपाईंसँग लभसम्बन्धी कुनै फिलिंग्स होइन, तपाईंको गाना सुनेपछि म क्रेजी हुन्छु, मलाई तपाईं खत्रा लाग्छ ।’

केही समय फेरि उनका म्यासेजहरू पढिनँ । फेरि अर्को फोटो राखेर उनको म्यासेज आएको देखेँ । ‘ठूलो बुवाले देख्नुभयो अनि मेटाएँ,’ यसपटक शिव लेखेको ठाउँमा ठाडो काटेको हातको फोटो थियो । मलाई डर लाग्यो, मेन्टल्ली प्रेसर पनि भयो । भोलि तलमाथि केही घटना भयो भने शिव परियारको कारणले भनेर दोष आउँछ । त्यसपछि म उनीसँग झन् डिस्ट्यान्समा भएँ । उनीसँग कुरै गर्न छाडिदिएँ । एक हप्ताअघि मात्र उनको म्यासेज पढेको थिएँ, ‘तपाईं नडराउनुस् ।’

प्रवीण बुढाथोकी, – नयाँ पत्रिका दैनिकबाट



Recent Post
Recommendation
आजको भिडियो
Loading...