Loading...

श्वेताकी‘कान्छी’ लाई टक्कर दिन तीन करोडको ‘कृ’

Published Date: November 11, 2017

एउटा नेपाली चलचित्रको छायांकन कम्तीमा २२ दिन र बढीमा ६० दिन लाग्ने गरेको छ । तर चलचित्र ‘कृ’ले छायांकनमा यी सबैको रेकर्ड तोडेको छ । यो चलचित्रको छायांकनमा मात्रै एक सय दिनभन्दा बढी समय लागेको छ ।

गत ११ असोजबाटै देशव्यापी रिलिज हुने भनिएको यो चलचित्र समयमै छायांकन पूरा हुन नसक्दा त्यतिबेला दर्शकमाझ आउन सकेन । यसपछि तिहारको अवसरमा ३ कात्तिकबाट प्रदर्शनमा ल्याइने भनिएको यो चलचित्र अब २६ माघबाट दर्शकमाझ ल्याइने भएको छ ।

चलचित्र निर्माता सुवास गिरीले छायांकनको अन्तिम सेड्युल सम्पन्न गरेकाले अब आफूहरूले २६ माघमा चलचित्र प्रदर्शनीमा ल्याउने बताएका छन् । अब भने आफ्नो चलचित्रको प्रदर्शन तिथि नसर्ने र २६ माघबाटै दर्शकमाझ आउने निर्माता गिरीको भनाइ छ । चलचित्रलाई उत्कृष्ट बनाउने क्रममा लगानीले पनि आकाश चुमेको छ । यसको लागत तीन करोड नाघ्ने निर्माताको कथन छ । चलचित्रलाई सुवास गिरीसँगै भुवन केसीले निर्माण गरेका हुन् । यसका निर्देशक सुरेन्द्र पौडेल हुन् ।

तन्नेरी पुस्ताले सर्वाधिक रुचाएका अभिनेता अनमोल केसी र अदिति बुढाथोकी यस चलचित्रमा मुख्य भूमिकामा छन् । चलचित्रमा नयाँ रूपमा प्रस्तुत हुनकै लागि अभिनेता अनमोलले आफूलाई करिब एक वर्ष तयारी गरे । आफ्नो नयाँ रूप सार्वजनिक नहोस् भनेर उनी एक वर्ष गुप्त रूपमा बसेका थिए । कृका बाँकी कलाकारमा अनुपविक्रम शाही, कामेश्वर चौरासिया, सरोज खनाल, रूपा राना, अमित गिरी, लक्ष्मी गिरी र सुदाम सिके छन् ।

२६ माघबाटै चलचित्र कान्छीको पनि प्रदर्शनीको तयारी गरिएको छ । आफूले चलचित्रको तिथि धेरै अघि नै तय गरेर प्रचारप्रसारमा उत्रिएको बेला कृको रिलिज सोही तिथिमा तोकिएपछि निर्देशक आकाश खिन्न भएका छन् । नेपाल चलचित्र निर्माता संघका अध्यक्षसमेत रहेका आकाश भऩ्छन्, ‘२६ माघमा कान्छी रिलिजको तयारीमा म जुटिरहेको बेला कृको रिलिज पनि उहाँहरूले २६ माघ मै तोक्नुभयो । उहाँहरूसँग बसेर अब के गर्ने भन्नेबारे म चाँडै छलफल गर्नेछु ।’

आफूमाथि कृ जुधाउन आएकोमा आकाशले दुःख व्यक्त गरेका छन् । दयाहाङ राई र श्वेता खड्का अभिनित कान्छीलाई कृले व्यावसायिक संकटमा पार्ने डर स्वयं निर्माण पक्षलाई छ । कान्छीलाई श्वेता खड्काले निर्माण गरेकी हुन् । आफ्नो चलचित्रसँग कृ जुध्न आएपछि श्वेता पनि यतिबेला तनावमा छिन् ।



Recent Post
Recommendation
आजको भिडियो
Loading...