Loading...

सम्पादकीय : मतदातालाई प्रश्न

Published Date: November 11, 2017

मतदाताका प्रश्नको उत्तर चित्तबुझ्दो गरी दिन सक्ने नेतालाई छान्ने तथा टार्ने र मुन्टो बटार्नेलाई मत नदिने कसम खाएर मतदाता उभिए भने मात्र परिवर्तन सम्भव छ

निर्वाचनको माहोल तात्दै छ । राजनीतिक दल र तिनका उम्मेदवार अनेक सपनाका खाजा पोल्टाबाट झिक्दै मतदातालाई बाँड्न व्यस्त छन् । अघिल्लोपटक मतदान गरेका अधिकांश मतदाता यसपटक पनि मतदान गर्दै छन् । अघिल्लो भन्दा पनि अझ अघिल्लोपटक या पाँच–सात–आठपटकसम्म उम्मेदवार बनेर मत मागेका र जितेकाहरू पनि, मन्त्री, प्रधानमन्त्री या अरू जिम्मेवारी सम्हालेकाहरू पनि अहिले मत माग्न गइरहेका छन् । तिनका आश्वासनका खाजा अझै उस्तै छन् । सबै बासी र सडेगलेका लाग्छन्, तिनका आश्वासनका पोकाहरू । कसैले नयाँ–नयाँ समयका आकांक्षाको घोल पनि पुराना खाजामा मिसाएका छन् । र, मतदाताको एउटा पंक्ति अहिले नै, घोषणापत्र नहेरीकनै या उम्मेदवारसँग साक्षात्कार नगरीकनै एउटा निर्णयमा पुग्नेहरूको छ । यी मतदाता निर्वाचन अभियानको एक महिना र मतदानका दिन राजनीतिको केन्द्रमा हुन्छन् अथवा केन्द्रमा भएको भान दिइन्छ, नमस्ते गरेर । घरघर गएर भेटेर, मेलापात या कार्यस्थलमै पुगेर उनीहरूलाई आफ्नो उम्मेदवारीको औचित्य साबित गर्न नेताहरू भरमग्दुर प्रयास गरिरहेका हुन्छन् । तर, के आममतदाताले यो समयको जिम्मेवारी निर्वाह गरेका छन् ? अहिले नेपालको नागरिक समाज र आमसञ्चार माध्यमले खेल्नुपर्ने भूमिकामध्ये एउटा हो, मतदातालाई मतदान कसलाई गर्ने भन्नेबारेको निर्णय गर्नुअघि एकपटक गहिरिएर सोच्न आग्रह गर्नु । खासगरी उनीहरूलाई प्रश्न गर्न सिकाउनु । थाहा छ, उम्मेदवारले यतिवेला जस्तोसुकै वाचा, कसम खान्छ कुनै अल्लारे प्रेमीले झैँ । तर, यस्ता प्रश्न राखेर मात्रै, प्रश्नको चित्तबुझ्दो उत्तर भेटे मात्र मत दिने प्रचलन बसाल्न सक्ने हो भने लोकतन्त्र बलियो हुन्छ । दलहरूमाथि मतदाताको एकहदसम्म नियन्त्रण स्थापित हुन्छ । प्रश्न सोध्न सक्ने मतदाताले मात्र सही निर्णय लिन सक्छ, आफूले दिने मत खेर नजाओस् भन्नेमा
सचेत बन्छ ।

यतिका वर्ष मत पाएर जितेको उही दल र उही नेता सरकारमा छ । नीति बनाउने ठाउँमा छ । नियम बनाउने ठाउँमा छ । स्रोत परिचालन गर्ने ठाउँमा छ । सुधार गर्ने ठाउँमा छ । तर, जनताका आधारभूत माग पूरा किन भइरहेका छैनन् ? किन भ्रष्टाचार बढेको बढ्यै छ । किन देशमा उद्योगधन्दाको विकास भएको छैन ? किन रोजगारी पाइएको छैन । शिक्षा किन महँगो भएको हो ? किन उपचार पद्धति अविश्वसनीय र महँगो हुँदै गएको छ ? कहिलेसम्म यस्तो अवस्था रहने हो ? किन सडकहरू जीर्ण र यात्रा गर्नलायक नरहेका हुन् ? किसानले मल, बिउमा सहुलियत नपाएको किन हो ? किसानले उत्पादन गरेको वस्तुले उचित भाउ किन पाउन नसकेको हो ? बैंकको ब्याज किन बढेको हो ? अझै साहुसँग ऋण लिएर आफ्नो काखको सन्तानलाई विदेशको चर्को श्रम शोषण हुने ठाउँमा काम गर्न पठाउने बाध्यता किन आइलागेको हो ? सरकारी विद्यालय र क्याम्पसहरू किन बेरोजगार उत्पादन गर्ने कारखाना बन्दै गएका हुन् ? दलितमाथिको भेदभाव किन कायम रहेको छ ? यस्ता हजारौँ प्रश्न हुन्छन् । तिनको उत्तर चित्तबुझ्दो गरी दिनसक्ने नेतालाई छान्ने र टार्ने, मुन्टो बटार्नेलाई मत नदिने कसम खाएर मतदाता उभिए भने मात्र परिवर्तन सम्भव छ । आफ्नो हातमा अधिकार आउँदा, समय आउँदा झुक्किने या आश्वासनमा भुल्ने, पछि पछुताउने र गाली गर्ने मात्र गर्नाले यी दल र नेता कहिल्यै सुध्रिनेछैनन् । मतदाता सचेत बने भने मात्र लोकतन्त्र बलियो बन्छ । नयाँ पत्रिका दैनिकको सम्पादकिय साभार गरिएको



Recent Post
Recommendation
आजको भिडियो
Loading...