इजरायल र प्यालेस्टिनीबीचको तनावको अन्त्य गर्न पोपको आग्रह

Published Date: December 26, 2017

इशाई धर्म गुरु पोप फ्रान्सिसले इसाई धर्मावलम्बीको पवित्र पर्व ‘क्रिसमस डे’ का अवसरमा शुभकामना व्यक्त गर्दै जेरुसेलममा शान्ति कायम गर्न अपिल गरेका छन् । धर्मगुरू  फ्रान्सिसले भेटिकन सिटीमा जम्मा भएका हजारौं क्रिस्चियन धर्मावलम्बीलाई सम्बोधन गर्दै जेरुसेलम तथा सम्पूर्ण धार्मिक महत्वका भूमिमा शान्ति कायम गर्न आग्रह गरेका हुन् ।
विश्वभर छरिएर बसोबास गर्दै आएका १ अर्ब ३ करोड क्याथोलिक धर्मावलम्बीलाई आप्रवासी शरणार्थीको पीडामा बेवास्था नगर्न आग्रह गर्दै उनले जेरुसेलम विवादको शान्तिपूर्ण समाधानका लागि इजरायल र प्यालेस्टाइनबीच शान्तिवार्तामा  जोड दिए ।

आप्रवासीहरूप्रतिको सम्मान इसाई धर्मको एक महत्वपूर्ण हिस्सा भएको उल्लेख गर्दै उनले जिसस क्राइस्टको जन्म हुँदा जोसेफ र मेरीले बेथलेहममा बस्नका लागि तबेला बाहेक अन्य ठाउँ नभेटेको भन्दै इसाईहरूको धार्मिक ग्रन्थ बाइबलको कथासँग आप्रवासीहरूको अवस्थालाई जोडेर वर्णन गरेका थिए ।

मन्तव्यको क्रममा उनले भने, ‘हामीले मध्यपूर्वमा इजरायल र प्यालेस्टिनीबीचको तनाव चर्किँदा यहाँका बालबालिकामा जिससको उपस्थिति देखेका छौं । द्वन्द्वका कारण बालबालिकाको भविष्यमा कुनै दाग लाग्नु हुनेछैन ।’

यसैबीच सेन्ट पिटर्सस्थित ब्यासिलिकामा भेला भएका श्रद्धालुबीच पोपको एक सम्बोधनमा आप्रवासी शरणार्थीलाई संकेत गर्दै उनले भने, ‘जोसेफ र मेरीको पदचिह्नमा अन्य धेरैका पदचिह्नहरू लुकेका छन् । ‘हामीले १०औं लाख मानिसहरूकोपदचिह्नहरू देखिरहेका छौं जो जान चाहन्नन् तर आफ्नो जन्मस्थानबाट लखेटिन्छन् र आफ्ना प्रियजनहरूलाई त्यहीँ छाड्न बाध्य हुन्छन् ।’

मध्यपूर्वमा जेरुसेलमका विषयमा विवाद चर्किरहेका बेला शान्तिपूर्ण वार्ताको माध्यमबाट निकास खोज्न आग्रह गर्दै दुई राज्यको अवधाराणाअनुसार समाधान खोज्न आग्रह गरे । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै महिनाको सुरुमा जेरुसेलमलाई इजरायलको राजधानीका रूपमा मान्यता दिने निर्णय गरेपछि मध्यपूर्वमा पुनः तनावको अवस्था सिर्जना भएको छ ।

जेरुसेलमबाट आफ्नो दशकौंदेखिको मान्यतालाई परिवर्तन गर्दै ट्रम्प इजरायलको पक्षमा उभिएपछि त्यसको संसारभरीबाट विरोध भएको थियो । त्यसको विरोधमा रहेका ५७ वटा मुस्लिम राष्ट्रले जेरुसेलमलाई इजरायलको राजधानीको मान्यता दिने निर्णयको भत्र्सना गर्दै पूर्वी जेरुसेलमलाई प्यालेस्टाइनको राजधानीको मान्यता दिन माग गरेका थिए ।

गत साता संयुक्त राष्ट्र संघमा गत साता भएको मतदानबाट जेरुसेलमबारेको निर्णय रद्द गर्ने प्रस्ताव पारित भएको थियो । प्यालेस्टाइनले पूर्वी जेरुसेलमलाई आफ्नो भविष्यको राजधानी भएको बताउँदै आएको छ ।

उसले अन्तर्राष्ट्रिय समुदायलाई पनि तेल अभिभमा रहेका राजदूतावासलाई जेरुसेलम नसार्न भन्दै आएको छ । बिहीबार संयुक्त राष्ट्र संघ महासभाले अमेरिकाको जेरुसेलमलाई इजरायलको राजधानीको मान्यता दिने निर्णय रद्द गर्न माग गर्दै दर्ता गरेको प्रस्ताव पारित गरेको थियो ।

संयुक्त राष्ट्र संघको यो गैरबाध्यकारी प्रस्तावको समर्थनमा १ सय २८ देशले मतदान गरेका थिए भने ३५ राष्ट्र मतदानमा सहभागी भएका थिएनन् । ९ वटा देशले भने अमेरिकालाई साथ दिँदै प्रस्तावको विपक्षमा मतदात गरेका थिए ।

इजरायल र प्यालेस्टाइनबीच पवित्र सहर जेरुसेलमलाई लिएर लामो विवाद रहेको छ । जेरुसेमल इजरायल–अरब तनावको सबैभन्दा विवादित मुद्दा हो । यो सहर इस्लाम, यहुदी र इसाई धर्मावलम्बीको पवित्र स्थानका रूपमा रहेको छ ।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...