कतै ल्होछार, कतै ल्होसार : तर चाड एउटै

Published Date: December 29, 2017

काठमाडौँ, १५ पुस । गुरुङ समुदायले पुरानो वर्गलाई बिदाइ गरी आजदेखि नयाँ वर्गको स्वागत गरेर तमू ल्होछार-ल्होसार मनाउँदै छ ।

तमु भाषामा ल्हो को अर्थ वर्ग र छारको अर्थ नयाँ भन्ने हुन्छ । त्यसैले तमू समुदायले ल्होछार भनेर मनाउने गर्दछ । तर, कतिपय स्थानमा ल्हो को अर्थ वर्ग र सारको अर्थ फेरिनु भएकाले ल्होसार भनेर पनि मनाउने गर्दछ । तर सारमा यो एउटै हो । नयाँ वर्गको स्वागत गर्ने र पुरानोको बिदाई गर्ने चाड हो । यसलाई नयाँ वर्षको रुपमा पनि मनाइन्छ । यो वर्ष चरा वर्गको विदाई र कुकुर वर्गको स्वागत गरी यो चाड मनाइँदैछ ।

काठमाडौंमा ल्होसार भनेर मनाउन थालेको छ । दुई वर्षअघिसम्म काठमाडौंको टुँडिखेलमा ल्होछार भनेर मनाउने गरिएको थियो । तर, पछिल्ला दुई वर्षमा ल्होसार भनेर मनाउँदै आएको छ । शाव्दिक सवालमा तमु समुदायमा विवाद रहँदै आएको छ ।

भाषिक रुपमा भेगीय रुपमा फरक फरक पर्ने भएकाले यस्तो हुन गएको विज्ञहरुले बताउने गरेका छन् । तथापि काठमाडौंमा भने ल्होछार र ल्होसारबीच विवाद सतहमा देखिएको छैन ।

काठमाडौंमा भने कुनै परामर्शविना नै ल्होसार भनेर मनाउन थालिएकाले असन्तुष्टि पोखिन थालेका छन् । संस्थागत रुपमा कुनै पनि निष्कर्षविना नै ल्होसार भनेर मनाउने गरेकाले भित्रभित्रै ल्होछार भनेर मान्यता राख्नेहरुले फरक रुपमा मनाउने तयारी समेत भएको बुझिएको छ । काठमाडौंमा शक्ति प्रदर्शनका रुपमा एकै ठाउँमा ल्होछार÷ल्होसार मनाउने गरिएकाले पनि यसलाई मिलाएर अघि बढ्नुपर्ने मत पनि उत्तिकै रहँदै आएको छ ।

पोखरामा भने यो दुई शब्दबीचमा विवाद हुँदा कतिपय वर्षहरुमा ल्होछार ल्होसार मनाउनेहरुले भिन्नभिन्नै समेत मनाएका छन । विगत केही वर्षयता भने ल्होछार-ल्होसार भनेर संयुक्त रुपमा मनाउने गरेका छन् ।

तमू संस्कृति अनुसार पुस १५ गते खुशीसाथ सामूहिक भोज, सांस्कृतिक कार्यक्रम एवं नाचगान गरेर यो चाड मनाउने गरिन्छ । गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतमा मात्र नभएर अहिले तमू बसोबास रहेको पूर्वी जिल्लाहरुमा समेत ल्होछार-ल्होसार मनाउने गरिन्छ ।

यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोवास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा ती समुदायले यो पर्व मनाइने विश्वास गरिन्छ । पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको संस्कृतिविदहरुको भनाइ छ ।

यस पर्वको अवसरमा सरकारले सार्वजनिक बिदा दिने गरेकामा यसवर्ष शनिबार नै यो उत्सव परेको छ । यस अवसरमा आज टुँडिखेलमा ल्होसार मूल आयोजक समितिले विशेष कार्यक्रम गर्दैछ । कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा लगायत प्रमुख दलका नेताको सहभागिता रहनेछ ।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...