जङ्गलका कवितामा पुरुषप्रधान समाजप्रति विद्रोह

Published Date: December 30, 2017

काठमाडौँ । राष्ट्रिय जनसांस्कृतिक महासङ्घको संयोजन र जनसाहित्यिक मञ्च नेपालको व्यवस्थापनमा भएको ‘अविरल जनसाहित्य यात्रा’को ४२ औँ शृङ्खलामा कवि ज्योति जङ्गलले विभिन्न कालखण्डमा रचना गरिएका विम्बात्मक, व्यङ्ग्यात्मक र आक्रोशात्मक एक दर्जन कविता वाचन गर्नुभएको छ ।
वाचित कवितामाथि टिप्पणी गर्ने क्रममा समालोचक डा हरिप्रसाद सिलवालले २०२९ साल फागुन २ गते इलाममा जन्मेकी कल्पना भट्टराई पौडेल अर्थात् जङ्गलका कवितामा ग्रामीण नारी जीवन र उनीहरूले भोगेका पीडालाई सरल तर मार्मिक ढङ्गले अभिव्यक्त गरिएको र पुरुषप्रधान समाजप्रति आलोचनात्मक विद्रोह गरिएको तथा समग्र सामाजिक बेथितिको रूपान्तरणको आग्रहका साथ उन्नत समाजनिर्माणको अपेक्षा गरेको बताउनुभयो ।
दुई दशक विराटनगरमा रहेर साहित्यका कविता, गजल, निबन्ध, कथा जस्ता विधामा साधनारत जङ्गल साहित्यका माध्यमबाट सामाजिक रूपान्तरण अभियानमा सक्रिय हुनुहुुन्छ । उहाँलाई कविता वाचनमा कवि लक्ष्मी रुम्बाले सहयोग गर्नुभएको थियो ।

राष्ट्रिय जनसांस्कृतिक महासङ्घ नेपालका अध्यक्ष खगेन्द्र राईले सो शृङ्खला सानै भए पनि महत्त्वपूर्ण मञ्च बन्नसकेको बताउँदै यसलाई अझ बृहत् बनाइने बताउनुभयो । जनसाहित्यिक मञ्चका उपाध्यक्ष रमेश पोखरेलले जङ्गलका कवितामा विशेषगरी पूर्वेली जनबोली र विम्बको प्रयोग सुन्दरताका साथ आएको बताउनुभयो ।
मञ्चका अध्यक्ष राम विनयले हरेक महिनाको दोस्रो शुक्रवार काठमाडौँ उपत्यका र बाहिर रहेर नेपाली प्रगतिवादी साहित्यमा योगदान गर्ने एक प्रगतिवादी साहित्यकारको एकल कविता वाचन हुने गरेकामा अर्काे शृङ्खलामा कवि प्रदीप नेपाललाई प्रस्तुत गरिने जानकारी दिनुभयो ।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...