एकताको प्रक्रियाबाट फर्किने पुल भत्किसक्यो : दाहाल

Published Date: December 31, 2017

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले एकताको प्रक्रियाबाट फर्किने पुल भत्किसकिएको हुनाले कुनै हालतमा एमाले र माओवादी केन्द्रबीच एकता भएरै छाड्ने दाबी गरेका छन् ।

एमाले सिन्धुली–काठमाडौं सम्पर्क मञ्च र माओवादी केन्द्र सिन्धुली–उपत्यका जनसम्पर्क मञ्चको संयुक्त गठबन्धनले शनिबार प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा सिन्धुलीबाट विजयी हुने सांसदहरूलाई बधाई तथा शुभकामना दिन राजधानीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टी एकीकरण भएरै छाड्ने दाबी गरेका हुन् ।

परिआएको खण्डमा राष्ट्र र जनताको पक्षमा जोखिम उठाउनुपर्ने महसुस गरेर नै पार्टी एकता थालिएको उल्लेख गर्दै माओवादी केन्द्र अध्यक्ष दाहालले नेपाली जनता, कम्युनिस्ट कार्यकर्ता र राष्ट्रको आवश्यकताबमोजिम नफर्किने गरी पार्टी एकीकरण थालेको र अब फर्किए खाडलमा जाकिने बताए ।

‘राजनीतिक स्थायित्व तथा राष्ट्र र जनताको समृद्धिका निम्ति ऐतिहासिक अवसर प्राप्त भएकाले यसलाई गुम्न दिनुहुँदैन,’ दाहालले भने, ‘एकता भाँडिए देशले ठूलो दुर्घटना भोग्नुपर्ने र नेपाली जनताले फेरि दुःख पाउनेछन् ।’ युगले एकचोटि पाउने अवसर गुम्यो भने आउने पिँढीले धिक्कार्ने दाहालको भनाइ थियो । पार्टी एकताले विश्वभरि नै शक्तिशाली वैचारिक सन्देश दिने र नेपालको कम्युनिस्ट आन्दोलन विश्वभरिका निम्ति अध्ययन अनुसन्धानको विषय बन्ने उनले दाबी गरे । एकता प्रक्रियालाई सफल पार्न नसके त्यसबाट नेपाली कम्युनिस्ट आन्दोलन सबैभन्दा दुर्भाग्यपूर्ण बन्ने दाहालको कथन थियो ।

‘विगतमा एकअर्काप्रति निकै कडा रूपमा प्रस्तुत हुने पार्टीहरू कसरी एकजुट होलान् भन्ने सबैलाई लागेको होला,’ उनले भने, ‘निर्वाचनमार्फत जनअनुमोदन प्राप्त भएको छ, यसले हामीलाई गौरवको अनुभूति गराएको छ ।’ २५ वर्षदेखि पार्टी अध्यक्ष रहेकाले र दुईपटक प्रधानमन्त्री भइसकेकाले आफूलाई पदप्रति कनै ललसा नरहेको पनि उनले प्रस्ट पारे । कार्यक्रममा नेकपा एमालेका सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले पार्टी एकताको विकल्प नभएकाले एमाले अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालले साहसिक निर्णय गर्नुपर्ने बेला आएको बताए । नेपालको कम्युनिस्ट आन्दोलनले अक्टोबर क्रान्ति, चिनियाँ क्रान्तिभन्दा कम नभएको आँकलन गर्दैभट्टराईले राजतन्त्रलाई सजिलै बिदा गरेको इतिहास नेपालमा बाहेक अन्त कतै नभएको उनको तर्क थियो । नेपालको कम्युनिस्ट इतिहास विदेशका विश्वविद्यालयले पढाउन लायक रहेको उनको तर्क थियो ।

दुई पार्टी अध्यक्षले साहसिक निर्णयका साथ पार्टी एकता गरेर नेल्सन मन्डेला बन्नुपर्ने बताउँदै भट्टराईले पार्टी एकताको घोषणा गरेर डिस्टिङसन ल्याइसकेको र पार्टी एकता गरेर शतप्रतिशत अंक ल्याउनपर्नेमा जोड दिए । ‘फेरि पनि उहाँहरूलाई परीक्षा दिने मौका मिल्छ तर शतप्रतिशतभन्दा तल अंक ल्याउने छुट छैन, त्योभन्दा माथिकै अंक ल्याउनुपर्छ,’ उनले भने । विश्वचर्चित फुटबल खेलाडी मेसीले खेल जीवनबाट सन्न्यास लिन लागेको उदाहरण दिँदै उनले भने, ‘हाम्रा शीर्ष नेताहरू हामीलाई खुसी पारेरै बिदा हुनुहुनेछ ।’ उनले दुई पार्टी मिल्दा निर्माण हुने शक्तिको अगुवाइ गर्न एमाले र माओवादी केन्द्रका दोस्रो तेस्रो पुस्ताका नेता तयार भइसकेको उल्लेख गरे । गणतन्त्र भन्दामाथि अरू कुनै व्यवस्था छैन भन्ने माक्र्सको भनाइ उद्धृत गर्दै उनले भने, ‘नेपालमा राजनीतिक क्रान्ति गर्ने बेला समाप्त भइसकेको छ, अब आर्थिक क्रान्तिको बेला आएको छ ।’ अब माओवादी केन्द्र र एमालेको जाने बाटो एउटै रहेकाले एकताबद्ध भएर राष्ट्रको समृद्धिमा जुट्नुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा सिन्धुलीबाट निर्वाचित  हरिबोल गजुरेल (सिन्धुली–२), गणेशकुमार पहाडी (सिन्धुली–१), सिन्धुली–१ (क) र (ख) का क्रमशः लेखनाथ दाहाल (राजन) र प्रदीप कटुवाल तथा सिन्धुली–२ (क) र (ख) का क्रमशः विनोद खड्का र  बुद्धिमान माझी (वसन्त) लाई सम्मानपत्र प्रदान गरिएको थियो



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...