इजरायलमा एक नेपालीले नेपालीकै गरगहना र पैसा चोरेर फरार

Published Date: December 31, 2017

तेलअभिव – रोजगारीको शिलशिलामा इजरायलमा रहेकी एक नेपाली महिला आफ्नै नेपाली महिलाबाट लुटिएकी छन् ।

गुरुङ समुदायको महान पर्व  तमु ल्होसारको पुनित अवसरमा विदा मिलाई  २९ डिसेम्वर शुक्रवार तमु समाज इजरायलद्वारा आयोजना गरिएको तमु ल्होसार साँझमा   जाने तयारीमा रहेकी  गोरखा जिल्ला स्यीथा घर भई  करिव १० बर्ष देखि इजरायलको तेलअभिव नजिकै रहेको रमतखेनमा कार्यरत गुरुङ थरकी एक महिलाले आफू विदामा निस्किदा  करिव १ बर्षदेखि सट्टामा राख्ने गरेकी चितवन घर बताउने कमला नाम गरेकी अन्दाजी ३०- ३२ बर्षकी नेपाली  महिलाले विदामा निस्कने तयारी गरी रोजगारदाताको जन्मदिनको पार्टीमा गएको मौका पारी सदा भन्दाचाँडै नै काममा पुगी कार्यक्रममा जाने तयार अवस्थामा राखिएको ६ तोला सुन, १२, १३ तोला बरावरको चाँदीको पायल र सिक्री , २५ सय सेकेल नगद, १ सय ७० अमेरिकन डलर, ब्याग र रोजगारदाताको हिराको सिक्री,  ह्वाइट गोल्डको  औठी, दुई वटा घडी र  २८ सय सेकेल नगद गरी  करिव ६-७ हजार डलर वरावरको नगद तथा धनमाल चोरी गरी फरार भएकी छिन् ।

“म र मेरो इम्प्लोयर   शुक्रवार दिउसो मेरो इम्प्लोयरको जन्मदिनको पार्टी मनाउन हेर्चेलियास्थित एउटा पार्टी प्यालेसमा गएका थियौं, कमलाले करिव ४ बजेतिर म आइपुगे तपाई कहाँ हो भनेर फोन गरिन् । मैले पार्टी नसकिएको बताउदै अझै एक, डेढ घण्टा लाग्न सक्ने बताएँ । कमलाले वहिर एकदमै जाडो छ, त्यत्रो समय वाहिर कुर्न सक्दिन त्यसो भए म फर्किन्छु भन्दै फोन काटिन । त्यत्रो ल्होसारको पार्टीमा तयारी गरेर निस्किएको म कमला फर्किइन भने त कार्यक्रममा जान पाउदिन भन्ने चिन्तामा परें, के गरुँ कसो गरुँ भन्ने भयो ।  त्यसै समय मैले एउटा एक्स्ट्रा चाबी घर वाहिर रहेको स्टोर रुममा लुकाएर राखेको सम्झे र त्यस्को आधा घण्टा जतीमा उनलाई फोन गरें उनी फर्किसकेकी रैनछिन् र उनलाई त्यो चाँबी निकालेर घरभित्र गएर हिटर लगाएर वस्न भने । उनले ढोका खोलिन र ढोका खोलेपछि चाँबी सोही स्थानमा राख्न लगाएँ ।  त्यसको करिव एक घण्टापछि म, मेरो इम्प्लोयरको छोरा वुहारी र मेरो इम्प्लोयर गरी ४ जना घरमा आइपुग्यौं  । घरमा आएर घण्टी वजाउदा ढोका खोलिएन । ढोका नखोलेपछि कमला सुतिन होला भन्ने लागेर मैले आफूसँग भएको चाँवीले ढोका खोलें र  इम्प्लोयरलाई चियरमा राखेर बत्ती वलिरहेको मेरो कोठामा गएँ  । त्यहाँ जाँदा कमला थिइनन्  र उनलाई फोन गर्दा फोन स्विच अफ थियो  उनी  भागिसकेकी रैछन् ।   कोठामा सबै सामान छरपस्ट अवस्थामा छरिएका थिए । विदा निस्किने तयारीमा राखिएका नगद तथा गरगहना र  रोजगारदाताको पैसा र केही गरगहना समेत  चोरी भएका थिए ।” – पिडित महिलाले एवान नेपाल डट कमलाई घटनाको  बेलिविस्तार यसरी सुनाइन ।

तत्पश्चात पिडित महिलाले तत्काल इजरायल प्रहरीलाई खवर गरेकी थिइन । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको पिडितले बताएकी छिन् । फरार महिला कमलाले प्रयोग गर्ने  ०५४-७८६१ -०९७  नम्वरको मोवाइल त्यसैवेलादेखि स्विच अफ छ ।

इजरायलमा कियरगिभर काम गर्ने जो कसैले पनि काम बिशेषले छुट्टी निस्कनु परेमा आफ्नो सट्टामा अर्को राख्नु पर्ने हुन्छ ।  सोही वमोजिम पिडित महिलाले कमलालाई आफ्नो सट्टामा राख्नकोलागि बोलाएकी थिइन ।  फरार कमला नाम गरेकी नेपाली महिला चितवन निवासी हुन भन्ने पिडित महिलाले बताएकी छिन । उनले कमललाई जहाँ भएपनि सम्पर्कमा आएर लगिएका नगद तथा जिन्सी इमान्दारिताका साथ फर्काउन अनुरोध गर्दै इमान्दारिताका साथ फर्काएर नेपालीमाथि लागेको  कालो दाग मेटाउन अनुरोध गर्दै इमाव्दारिताका साथ फिर्ता गरे  उनीमाथि कुनै कानूनी कारवाही हुन नदिने आश्वासन यसै समाचार मार्फत प्रसित गरेकी छिन् । कमलाको व्यक्तिगत तथा पारिवारिक प्रेस्टिजलाई मध्यनजर गर्दै तत्काल उनको फोटो र उनको विस्तृत जानकारी वाहिर नल्याइदिन अनुरोध गरेकी पिडित महिलाले अन्यथा  फोटो सहित अर्को समाचार निकाल्न आफू वाध्य हुने  बताएकी छिन । उनको फोन नम्वर र उनलाई चिन्नुहुने जो कोही नेपालीलाई उनको बारेमा केही थाहा भए एवान नेपाल डट कममा  सम्पर्क गर्न  हामी अनुरोध गर्दछौं  ।

 



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...