के हो रक्तसंचार सेवा र कुन समुहको बिरामीलाई कुन समुहको रगत चढाउन सकिन्छ ?

- रोहित भण्डारी

Published Date: January 2, 2018

आधुनिक चिकित्सा विज्ञानमा जीवन रक्षा र स्वास्थ्य उपचारका लागि सुरक्षित रक्तसंचार सेवा एउटा महत्वपुर्ण विधा हो। हाम्रो जस्तो विकाशील देशमा मात्र होइन अमेरिका जस्तो देशमा पनि रक्तसंचार सेवाको विषयमा आहिले सम्म पनि यहाँका आम मानिसहरुमा यसको बिषयमा निकै कम ज्ञान भएको मैले पाएको छु ।

हामीले समाचारमा दिनहुँ जस्तो सुन्ने गरेका छौं कि, आज फलानो ठाउँमा अत्यधिक रक्तस्राबले सुत्केरी वा गर्भवती महिलाको ज्यान गयो । राष्ट्रिय ट्रमा केन्द्र, अमेरिकाको तथ्यांक अनुसार सडक दुर्घटना लगायत अन्य दुर्घटना र विपत्तिका कारण अमेरिकामा करिब ४० प्रतिशत मानिसको मृत्यु अत्यधिक रक्तास्राबका कारणले हुन्छ । हाम्रो देश सामाजिक-आर्थिक रुपमा पछी परेकोले यो समस्या अझ जटिल छ भनेर अनुमान गर्न केहि गार्हो छैन । यसको अर्थ रक्तास्राब भैरहेको मानिसलाई जतिसक्दो चाडो अस्पतालमा पुर्याउने र सुरक्षित रगत चढाउने हो भने मृत्यु दर घटाउन सकिन्छ भन्ने हो। तर रगत उपलब्ध नभइरहदा कुन रक्त समुहको रक्तदाता खोज्ने भन्ने बिषयमा मानिसहरुमा र कतिपय समयमा चिकित्सकहरुमा समेत विभिन्न किसिमका भ्रमहरु भएको पाइन्छ। यी र यस्ता किसिमका कुराहरुलाई आम-मानिसहरुमा पुर्याउन यो जानकारी मुलक लेख लेख्न मन लाग्यो।

रक्तसंचार सेवा स्वास्थ्य सेवाको अभिन्न अंगको रुपमा निति निर्माणको तहमा छलफल भइ अन्तरास्ट्रिय मापदण्ड अनुरुपको सिद्दान्त र कार्यविधि बनाई कम्तिमा जिल्ला अस्पतालहरुमा संचालन हुनुपर्दछ। त्यो  भनेको रक्तसंचार सेवामा काम गर्न सक्ने प्रबिधी र प्राबिधिकहरुको बिकाश गरि त्यसको प्रभावकारी सेवा उपलब्ध गराउनु हो।

यो लेख खास गरि आम मानिसहरुमा जानकारी को लागी केहि सूचना होस् भन्ने हेतुले लेखन लागिएको हो।त्यसकारण रक्तसंचारको आधारभूत कुरा हरुको बारेमा छलफल गरौँ।

के हो त रक्तसंचार सेवा ?

रक्तसंचार सेवा भनेको रक्तदाताहरुले दिएको रगतलाइ प्रयोगशालामा आबश्यक प्रक्रिया पछी  बिरामीको उपचारका लागी सुरक्षित तबरले शरीरमा चढाउनु हो। रक्तसंचार सेवा मा रक्तदान, रगतको उपयुक्त भण्डारण, रक्तसमुहको पहिचान, रगतमा रक्तजन्य रोगहरुको जांच गरि  उपयुक्त र बिरामी-बिशेष रक्त पदार्थको तयारी गरि रक्तास्राब भैरहेको वा उपचारको क्रममा हुनसक्ने रक्तास्राबको खतरा बाट  बच्न रगत चढाउने सम्मका सम्पूर्ण कार्यहरु पर्दछन। रक्तास्राब मात्र होइन विभिन्न किसिमका रक्तअल्पता हुने रोगहरु बाट बचाउन र बिरामीको शारीरिक स्वास्थ्यको गुणस्तर को लागी पनि रगत चढाउँन यो सेवा अत्याबश्यक हुन्छ।

कस्तो मान्छेले रक्तदान गर्न सक्छ ?

धेरै मानिसहरुलाई जिज्ञासा हुने कुरा कस्तो मान्छेले रक्तदान गर्न सक्छ त भन्ने हो । धेरैजसो रक्तदाताहरु स्वयंसेवी (Volunteer Donor) हुन्छन जसले आफै रेड्क्रस अथवा अस्पताल र अन्य संस्थाले आयोजना गरेको रक्तदान कार्यक्रममा रक्तदान गर्दछन त कतिपयले आफ्नो शल्यक्रिया हुनुभन्दा एक हप्ता अगाडी आफ्नो रगत संकलन गर्ने पनि गर्दछन जुन रगत शल्यक्रियाको समयमा बढी रक्तास्राब भएमा आफ्नो लागि चढाउन निकै सुरक्षित र झन्झट बिहिन हुन्छ ।आफ्नो रगत आफ्नै लागी संकलन गर्नुलाई अंग्रेजीमा Autologous donation भनिन्छ।

सामान्यतया तपाईं हामीले नि:शुल्क दिने रक्तदाताहरुलाई स्वयम् रक्तदाता (Volunteer donor) भनिन्छ । स्वयम् रक्तदाताले रक्तदान गर्नको लागी शारीरिक र स्वास्थ्यका केहि मापदण्ड पुरा गर्नुपर्छ जस्तै उमेर: कम्तिमा १६ वर्ष, स्वास्थ्य: सामान्यतया स्वस्थ, तौल: ५० किलोग्राम र शारीरिक स्वास्थ्य सम्बन्धी जांच पास जस्तै रक्तचाप, मुटुको धड्कन र शरीरको तापक्रम लगायत पुर्बस्वस्थाबस्था सम्बन्धि सोधपुछ ।

रगत बिरामीलाइ चढाउनु पूर्व रक्तदान गरिएका रगतमा रक्तजन्य रोगहरुको जाँच गर्न अनिबार्य हुन्छ। जस्तै रक्त समुहको पहिचान, बिरामीलाई हानी गर्न सक्ने प्रतिक्रियात्मक चिजहरु जस्तै अटोएन्टिबोडीज लगायत रक्तजन्य रोगहरुको जांच जस्तै हेपाटाटाईटिस बि र सी, एच. आई. भी., भिरिंगी आदि र रगतको विकिरणक्रिया, सेता रक्तकोष घटाउन रगत छान्ने क्रिया ।

कुन रक्त समुहको रगत कस्तो व्यक्तिलाई चढाउन सकिन्छ ?

सन् २०१२ को एक अध्ययन अनुसार नेपालीमा ३४% समुह ए, २९% समुह बी, ४% समुह एबी, ३२.५% समुह ओ रहेको छ. त्यसमा ३.३३% नेगेटिभ र ९६.६६% पोजिटिभ समुह छन् ।

तपाइंले दान गरेको रगतबाट बिरामीहरुको लागी आबश्यकता अनुसार राता रक्तकोष, सेता रक्तकोष, बिम्बाणु (Paltelets), प्लाज्मा (रगतमा हुने तरल पदार्थ)  र अन्य रगत जम्न मद्दत पुर्याउने पदार्थ छुट्याउने गरिन्छ । धेरै जसो मान्छेमा कुन समुहको रगत कुन रगत समुहको मान्छेलाइ चढाउनु हुन्छ भन्ने कुराको उत्सुकता भएको देखिन्छ। धेरै मान्छेमा एक अर्का संग ठिक मिल्ने समुहको रगत मात्र चढाउनु पर्छ भन्ने धारणा भएको देखिन्छ जुन कुरा “ओ नेगेटिभ” भएको बिरामी बाहेकमा गलत हो तर त्यहि “ओ नेगेटिभ” रगत जुनसुकै रक्तसमुहको बिरामीलाई चढाउन सकिन्छ । अब कुन  रक्त समुहको बिरामीलाई कुन समुहको रगत चढाउन सकिन्छ त, तल हेरौं।

बिरामी                                     रगत

ए पोजिटिभ                              ए पोजिटिभ, ए नेगेटिभ, ओ पोजिटिभ, ओ नेगेटिभ

ए नेगेटिभ                                 ए नेगेटिभ, ओ नेगेटिभ

बि पोजिटिभ                             बि पोजिटिभ, बि नेगेटिभ, ओ पोजिटिभ, ओ नेगेटिभ

बि नेगेटिभ                               बि  नेगेटिभ, ओ नेगेटिभ

एबि पोजिटिभ                          कुनै पनि किसिम को रगत समुह

एबि नेगेटिभ                             एबि नेगेटिभ, ए नेगेटिभ, बि  नेगेटिभ, ओ नेगेटिभ

ओ पोजिटिभ                            ओ पोजिटिभ, ओ नेगेटिभ

ओ नेगेटिभ                               ओ नेगेटिभ

ओ रक्त समुहको रगतलाई आकस्मिक समयमा दिने(Universal Donor) रगत समुह भनिन्छ किन भने माथि बताइए जस्तो यो रक्तसमुहको रगत जुनसुकै रक्त समुहको बिरामीलाई दिन सकिन्छ। त्यसै गरि एबि रक्तसमुहको बिरामीले जुनसुकै किसिमको रक्तसमुहको रगत लिन मिल्ने भएकाले यसलाई सबै किसिमको रगत लिनसक्ने(Universal Receiver) पनि भनेर भानिन्छ। चार महिना सम्मका हरेक रक्तसमुहका बिरामी बच्चालाई सबै भन्दा सुरक्षित रक्त समूह ओ नेगेटिभ नै हो। १.५ किलोग्राम भन्दा कम तौल भएका बच्चाहरुलाई सियमभी भाईरस र सिकल सेल रोग नेगेटिभ रगत दिनु सबै भन्दा उपयुक्त हुन्छ।

रगत चढाईएका बिरामीलाई कहिले काँही सामान्य एलर्जी देखि लिएर ज्यानै जाने सम्मका खतरनाक प्रतिक्रिया हुने गर्दछ जसलाई अंग्रेजीमा Transfusion Reactions भनिन्छ। त्यसबाहेक रगतमा केहि जाँचहरु मात्र गरिने हुनाले रगतबाट अरु विभिन्न किसिमका रोगहरुको सक्रमण हुने सम्भावना जहिले पनि हुन्छ. अमेरिकामा राज्य अनुसार वेस्टनाइल, जीका, सीयमभी जस्ता भाईरस र लाइम तथा सिकल सेल भन्ने रोगहरुको जांच गर्ने गरिन्छ जुन रोगहरु नेपालमा खास नभएको (सियमभी भाईरस र सिकल सेल रोग बाहेक) भनिएको छ।

( भण्डारी अमेरिकाको ओहायोस्थित हस्पिटलमा मेडिकल ल्याबोरेटोरी साइन्टिस्टका रुपमा कार्यरत्   छन् ।)

***



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...