जेरुशलेम विवाद : प्यालेस्टाइनी क्षेत्रमा सहयोग रोक्ने अमेरिकी राष्ट्रपती ट्रम्पको धम्की

Published Date: January 4, 2018

एजेन्सी-  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्यालेस्टाइनी नेतालाई इजरायलसँग शान्तिवार्ता अघि नबढाएमा अमेरिकाले दिँदै आएको आर्थिक सहयोग रोक्ने चेतावनी दिएका छन् । राष्ट्रपति ट्रम्पले एउटा ट्विट गर्दै भनेका छन्, ‘मेरो सहयोगको बदलामा कुनै तारिफ या सम्मानको शब्दसमेत आएन ।’

पाकिस्तानलाई दिँदै आएको सहयोग रोकेको विषयमा ट्वीट गरेलगत्तै उनी प्यालेस्टाइनविरुद्ध खनिएका हुन् । उनले ट्वीटमा प्यालेस्टाइनविरुद्ध लेखेका छन्, ‘पाकिस्तान यस्तो एक्लो देश होइन, जसलाई हामी अर्बौं डलरको सहयोग दिन्छौं, अरू पनि धेरै यस्ता देश छन् । प्यालेस्टाइनलाई हरेक वर्ष केही सय अर्ब डलर पठाउँछौं तर यसको बदलामा सम्मान र प्रशंसासमेत प्राप्त हुँदैन । ऊ इजरायलसँग लामो समयदेखि रोकिएको शान्तिवार्ता अघि बढाउनसमेत चाहँदैन ।’

यो सहयोग एजेन्सीले शिक्षा, स्वास्थ्य र अन्य सामाजिक कार्यक्रममा खर्च गर्ने गर्छ । सन् २०१६ मा अमेरिकाले यो एजेन्सीमा ३७ करोड डलर सहयोग गरेको थियो । यो एजेन्सीलाई कुनै पनि देशबाट प्राप्त सबैभन्दा बढी सहयोग हो । हेलीले ट्रम्पले प्यालेस्टाइनलाई दिँदै आएको सहयोग रोक्न लागेको नभई इजरायलसँग शान्तिवार्ता नगरेसम्म नदिन चाहेको उल्लेख गरिन् । उनले राष्ट्रसंघमा अमेरिकी निर्णयविरुद्ध भएको मतदानले परिस्थितिमा सुधार नआउने धम्की पनि दिइन् ।

ट्रम्पको ट्वीटलगत्तै राष्ट्रसंघका लागि अमेरिकी राजदूत निकी हेलीले समेत यस विषयमा आफ्नो अभिव्यक्ति सार्वजनिक गरेकी छन् । उनले अमेरिकाले प्यालेस्टाइनी शरणार्थीका लागि चलाइरहेको संयुक्त राष्ट्रसंघको सहयोग एजेन्सीमा अब थप योगदान गर्न नसक्ने बताएकी छिन् ।

सन् २०१६ मा युरोपेली संघले अमेरिकापछि सबैभन्दा बढी सहयोग गरेको थियो ।

राष्ट्रपति ट्रम्पले जेरुसेलमलाई इजरायलको राजधानी मान्ने आफ्नो निर्णय सधैं विवाद आउने विषयलाई समाधान गर्नका लागि आएको भन्दै यसबाट शान्ति कायम गर्न सहयोग मिल्ने दाबी गरे ।

जेरुसेलमलाई इजरायलको राजधानीको मान्यता दिने ट्रम्पको निर्णयपछि प्यालेस्टाइनी नेताहरूले भने इजरायल र प्यालेस्टाइनबीच विवाद समाधानका लागि हुने वार्तामा अमेरिकाले गर्ने मध्यस्थता स्वीकार नगर्ने बताएका छन् ।

गत वर्ष भएको राष्ट्रपति निर्वाचनमा ट्रम्पले इजरायल समर्थक मतदातालाई जेरुसेलमलाई इजरायलको राजधानीको मान्यता दिने प्रतिबद्धता जनाएका थिए । २० जनवरी २०१७ मा पदभार ग्रहण गरेका उनले सोही वर्षको डिसेम्बर पहिलो साता जेरुसेलमबारे निर्णय गरे । तर ट्रम्पको यो निर्णयको राष्ट्रसंघसहित संसारभरबाट विरोध भयो । यसै समवन्धी संयुक्त राष्ट्रसँघमा भएको मतदानमा कुल १ सय २८ देशले ट्रम्पको जेरुसेलमसम्बन्धी निर्णयको विपक्षमा भोट हाले भने नौवटा देश मात्रै अमेरिकाको पक्षमा देखिए ।

प्यालेस्टाइन र इजरायलबीचको विवादको केन्द्रमा जेरुसेलम रहेको छ । यो सहरलाई मुस्लिम, यहुदी र इसाई तीनवटै धर्मावलम्बीहरूले पवित्र स्थलका रूपमा मान्छन् । इजरायलीहरु यस शहरलाई गहनाको संज्ञा दिने गर्दछन् ।

जेरुशलेमलाई अहिलेसम्म अन्तर्राष्ट्रिय समुदायले इजरायलको राजधानीको मान्यता दिएका छैनन् भने प्यालेस्टाइनले आफ्नो देशको भविष्यको राजधानी भएको बताउँदै आएको छ ।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...