पार्टीको नेतृत्व गर्दै प्रचन्ड, वाम एकतामा सहमति भइसकेको खुलासा

Published Date: January 5, 2018

काठमाण्डौं- पार्टी एकता बारे थरिथरीका हल्ला वाहिर आइरहेको वेला एमाले र माओवादी केन्द्रबीचको एकता प्रक्रिया भित्रभित्रै निस्कर्ष नजिक पुगेको खुलासा भएको छ ।
एकता संयोजन समितिको बैठक बस्न नसके पनि दुई दलका शीर्ष नेताबीच अनौपचारिक छलफल नियमित रुपमा भइरहेको र एकता टुंगो नजिक पुगिसकेको एमालेका एक नेताले बताएका छन्। स्रोतका अनुसार एमाले अध्यक्ष केपी ओलीले सरकार र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको नेतृत्व गर्ने समझदारी उच्च तहमा भइसकेको छ ।

सार्वजनिक सञ्चार माध्यम र सामाजिक सञ्जालमा दुई दलका दोश्रो र तेश्रो पुस्ताका नेताबीच पद भागबण्डाका विषयमा जुहारी चलिरहेका बेला शीर्ष नेताको तहमा भने कुरा मिलिसकेको उनले बताए । माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेतले दुई नेताबीच कसले कुन पद लिने भन्ने विवादका कारण एकतामा बिलम्ब नभएको दाबी गरे । ‘पदका कारण एकतामा ढिलाइ भएको होइन’, उनले संचारकर्मी भने, ‘कमरेड केपी ओलीले सरकारको र कमरेड प्रचण्डको पार्टीको नेतृत्व गर्ने सहमति भइसकेको छ ।’ यद्यपि औपचारिक रुपमा सहमति सार्वजनिक नहुँदा कतिपय नेता र कार्यकर्तामा भ्रम पर्न गएको हुनसक्ने उनले बताए । बस्नेतले दुई दलबीच ओली र प्रचण्डलाई समान नेताको हैसियत दिने सहमति यसअघि नै भइसकेकाले त्यसमा विवाद नभएको र बाहिर हल्ला भएका विषय अनर्गल भएको दाबी गरे ।

ओलीले नै प्रचण्डलाई पार्टी अध्यक्ष प्रस्ताव गर्ने दाबी पनि बस्नेतले गरे । ‘ओली कमरेडको अस्वस्थताले गर्दा छलफलमा ढिलाइ भएको हो’, उनले भने, ‘हेर्दै जानुस् उहाँले नै प्रचण्डलाई पार्टी अध्यक्षको प्रस्ताव गर्नुहुन्छ ।’ एमाले नेता सुवास नेम्वाङले पनि अब दुई दलबीचको एकतालाई कसैले चाहेर पनि रोक्न नसक्ने दाबी गरे । बाहिर चर्चा भएजस्तो एकता प्रक्रियामा कुनै जटिलता नरहेको उनले बताए । ‘पदको विवाद गौण हो’, उनले भने, ‘चुनावअघि नै एकता गर्ने भनेर हामीले भनिसक्यौं, जनताले एकतालाई अनुमोदन गरिसकेकाले कसैले चाहेर पनि एकता भाँडिन सक्दैन ।’ यद्यपि एकता भाँड्न सक्रिय तत्वले विभिन्न हथ्कण्डा अपनाइरहेको उनले जनाए । निर्वाचनमार्फत जनताले सरकारको नेतृत्व गर्ने म्याण्डेट बाम गठबन्धनलाई दिएको भए पनि सत्ता छाड्न काँग्रेसले गरिहरेको आनाकानीलाई बाम गठबन्धन तोड्न सकिन्छ कि भन्ने अभिप्रायका रुपमा आफूहरुले बुझेको उनले बताए ।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...