ल्होसारबारे भ्रम र वास्तविकता

- मोहन गोले

Published Date: January 8, 2018

विषय प्रवेश

सोनाम ल्होसार पर्व नजिकिएसँगै तामाङ समुदाय

भित्र बहस सुरु हुने गरेको छ । ग्याल्बो र सोनाम ल्होसारको पुरानै बहस त छँदै छ, त्यसमाथि यसवर्ष ल्हो फिर्ने दिन नेपालको पञ्चांग पात्रोको सौर्यमास ४ माघ हो कि सोनाम ल्होसार निर्धारण गर्ने सोनाम लोथो (कृषि पात्रो) को चन्द्रमास ख्रे–ला छेपागी (४ फागुन) हो भन्ने नयाँ विषय पनि थपिएको छ । ल्होसारको तिथि निर्धारण अरूले बनाएको संवत्लाई मुख्य आधार बनाउने कि तामाङ विश्वास र मान्यताबाट चलेको आफ्नै संवत्लाई बनाउने भन्ने बीचको बहस हो । स्वस्थ बहस हुनु, चर्चा गरिनु, छलफल हुनु र चित्त माझामाझ गर्नु नै निष्कर्षमा पुग्नु हो । तर, यहाँ तीनखाले मान्छेको बुझाइले समुदायको सामाजिक एकतामा बाधा पु¥याउने काम भइरहेको छ । एउटा निकै ठूलो समूह छ, जो ज्योतिष विज्ञानको नियम केही बुझ्दैनन् । उसले विक्रम संवत्को पात्रो देखेको छ, उनीहरू ४ माघको पक्षमा छन् । अर्को पक्ष छ, ज्योतिषपरम्परा बुझ्ने विज्ञको विगतमा खडेरी परेको कारण
‘अड्को पड्को तेलको धुप’ भन्याजस्तो उसैलाई विज्ञ ठानेर काम चलाइयो । तर आज सोनाम लोथोसहित ज्योतिषविद्हरू प्रस्तुत भइसकेपछि आफू खुम्चिएको चिन्ताले पोलिएर छटपटिएका छन् । तेस्रो निकै सानो पक्ष छ, जो पर्वको नाममा टुँडिखेल मैदानलाई कमाउ धन्दाको रूपमा प्रयोग गर्ने र सामाजिक कामको आवरणमा व्यापार गर्छन् । उनीहरूका लागि व्यापार र फाइदा नै ठूलो कुरा हो ।

ल्होसारसँगै विवाद पनि टाँसिएर आएको छ । यस्तो विवादलाई लामो समय पाल्नु हुँदैन । विवाद पालिरह्यो भने त्यसले एकदिन हामीलाई खान्छ । यस्तो समस्यालाई हामीले बेलैमा समाधान गरेर आउने पुस्तालाई विवादरहित संस्कृति हस्द्धरण गर्न सक्नुपर्छ । यो गर्न सकेनौं भने हाम्रो पुस्ता असफल पुस्ताका रूपमा इतिहासमा दर्ज हुनेछ । सयका सय मान्छेको समर्थन हुनुपर्छ र सर्वस्वीकृत हुनुपर्छ भन्ने धारणा पनि गलत हो किनकि यो कहिल्यै सम्भव हुँदैन । सबैलाई चित्त बुझाउँछु भनेर अग्रजहरू लागेको भए सम्भवतः अहिले हामी तामाङ सोनाम ल्होसारलाई लिएर यहाँसम्म आइपुग्ने थिएनौं । हिम्मतका साथ काम गर्दा आज हामीसँग जन्मदेखि मृत्युसम्मको तामाङ संस्कार संस्कृति निर्देशिका छ । मौलिक परम्परा सोनाम ल्होसार संस्कृति छ ।
तसर्थ, घेदुङले संस्थागत रूपमा स्थापित गरेको मूल्य÷मान्यतामाथि एक÷दुई जना मान्छेले बुझेर या नबुझेर कसैले प्रश्न उठायो भन्दैमा गलत सम्झौता गर्न सकिँदैन । अहिले ज–जसले यो बहसमा बुझेर या नबुझेर थप अतिरञ्जित बनाउने प्रयास गरिरहेका छन्, उनीहरूको कुन स्वार्थ छ ? भन्न सकिन्न । तर, जसको यो प्रक्रियामा विगतमा दुई कौडीको लगानी छैन, उसले ठूलो स्वर गरेर समाज विभाजित गर्न खोज्दाको नाङ्गो प्रहसन देख्दा भने अत्यन्तै दुःख लाग्छ । अब्राहम लिंकनले भनेका थिए– सबैलाई केही समय, केहीलाई सधैंका लागि मूर्ख बनाउन सकिएला तर सबैलाई सधैंका लागि मूर्ख बनाउन सम्भव छैन । अहिले हामी प्रक्रियालाई संस्थागत गर्ने क्रममा रहेको हुँदा लिंकनको भनाइअनुसार केहीले अहिले सबैलाई केही समयका लागि मूर्ख बनाउने कोसिसमा छन् तर भ्रमको भविष्य हँुदैन । धागो चुँडिएर उडेको बेलुन हेर्दा हामीलाई लाग्छ, यसले आकाश नै छेड्छ होला तर त्यो केही समयमा नै फुट्छ । विगतमा यस्ता बेलुन धेरै उडे, उडाइए र धेरै फुटेका पनि देखिए ।
नेपालको आदिवासी समुदायहरूमध्ये तेस्रो ठूलो समुदाय तामाङ जाति आफ्नो भिन्न विशिष्ट संस्कृतिले अति धनी र सम्पन्न छन् । उनीहरू भिन्न भाषा, लिपि, संस्कृति, वेशभूषा, परम्परा र सभ्यता भएको कारण नै सम्पन्न भएका हुन् । उनीहरूसँग समयलाई बुझ्ने हाम्रो आफ्नै विश्वास र तथ्यसँग सबभन्दा नजिक रहेको मन्जुश्री संवत् छ । अरूभन्दा भिन्न हुनुको प्रमाण नै यही हो । यो तामाङ पुर्खाले बचाएर हस्तान्तरण गरेको सांस्कृतिक सम्पत्ति हो ।

मञ्जुश्री सम्वत्

तामाङको सभ्यता र संस्कृतिमा महामञ्जुश्री (जसलाई ज्याम्पाल याङ पनि भनिन्छ) को ज्यादै ठूलो महŒव छ । यो ल्हो परम्परा र सोअनुसारको ज्योतिष ज्ञानको योगदान उनै महामानव मञ्जुश्रीको देन हो । जसलाई तामाङ समाजले इष्ट देवताको रूपमा मान्दै शुभ, अशुभ विभिन्न कार्यमा समेत मञ्जुश्रीको पूजा गर्छन् । तामाङ समुदायले मञ्जुश्रीलाई ज्ञानका देवताका रूपमा मात्र नभएर आफनो पूर्खाको रूपमा पनि मान्छन् किनकि महामञ्जुश्रीलाई जलमग्न काठमाडौं उपत्यकालाई मानव बस्तीयोग्य बनाउने महान् बोधिसत्व बुद्धका रूपमा पनि चिनिन्छ । जसले काठमाडांै खाल्डोको पानी चोभारको गल्छीबाट बाहिर पठाइ मानव बस्ती योग्य बनाएपछि उत्तरी क्षेत्रबाट मञ्जुश्रीसँगै आएका व्यक्तिलाई राजा बनाएर छाडेको र ती राजा बनाइएका छ्योचेन (धर्माकर) नाम गरेका व्यक्ति तामाङ भएको केही इतिहासकारको दाबी सत्यको नजिक छ ।

ल्हो (संवत्) फिर्ने जनविश्वास

तामाङ समाजमा माघमा ल्हो फिर्ने जनविश्वास छ । माघ महिनालाई तामाङले ख्रे–ला भन्छन् र पहिलो महिना ताक् (बाघ) र अन्तिम महिना लाङ (गाई) वर्गको रूपमा चिनिन्छ । ख्रे (माघ) बाघ महिना हो । तर यो तामाङको ख्रे–ला (महिना) ठ्याक्कै विक्रम संवत्को माघ १ गतेबाट सुरु हुँदैन । ग्रिगोरियन पात्रोअनुसार फेब्रुअरी ४, ५ लाई मध्यबिन्दु पारेर जनवरी २१ तारेखदेखि फेब्रुअरी २० तारेखभित्र चन्द्रमास माघ (ख्रेला छेपागी) को प्रतिपदा पर्छ । यो नै तामाङले मान्ने तŒव ज्योतिषमा आधारित सोनाम लोथो (कृषि पात्रो) को सैद्धान्तिक परम्परा हो । यसवर्ष ४ फागुनबाट नयाँ ल्हो (वर्ष) सुरु हुँदैछ ।
माघ शुक्ल प्रतिपदा (छेपा गी) तिथिलाई ल्हो फिर्ने दिनको रूपमा निर्धारण नगर्दासम्म १ माघबाटै गणना पनि गरिन्थ्यो । विस्तारै यो प्रभावले यतिसम्म हाम्रो समाजमा घर ग¥यो । आफ्नो चाडपर्व, ल्होजस्ता सांस्कृतिक कुरा पनि राज्यले बनाएको पात्रोमा खोज्ने क्रम सुरु भयो । घेदुङले प्रकाशन गरेको पात्रो कतिपय ठाउँमा पुग्न सकेन, पु¥याउन सकिएन । त्यसमा संगठनको पनि कमीकमजोरी रहेको हुनसक्छ । तामाङ पात्रोमा प्रस्टसँग २८५३ ल्हो (वर्ष) को अन्तिम महिना तापा–ला (महिना) को अन्तिम दिन विक्रम संवत्को ३ फागुन उल्लेख छ । यसबाट २८५४ ख्रे–ला छेपागी अर्थात् ल्हो फिर्ने दिन ४ फागुन भन्ने प्रस्ट छ तर कतिपयले आफ्नो पात्रो नहेरेर विक्रम संवत्को पात्रोमा ल्होसार खोज्ने काम गर्दा समस्या देखिएको छ ।

तामाङ समुदायको आस्था र विश्वासमा चल्ने पुरानो चाडपर्व, ल्हो गणनाको पद्दति पञ्चाङ्ग निर्णायक समितिले तोकिदिन सक्दैन । किनकि, विक्रम सम्वतभन्दा मञ्जुश्री तŒव ज्योतिष परम्परामा आधारित सम्वत् ७८० वर्ष पुरानो हो । पञ्चांग समितिले छापेको पात्रोमा जिवा, लाङ, ताक, योयी, डुक, डुल, ता, ल्हुक, टे, ज्या, खि, फाग्जस्ता १२ जीवजन्तुको नाम लेखिएको हुँदैन । जुन पात्रोलाई ल्होखोरको सामान्य नियमले छुँदैन भने त्यस्तो पात्रोमा हाम्रो तिथि खोज्नु नै बेकार छ । त्यसैले अरू सरकारी बिदा, राज्यका पर्वहरू र कार्यक्रम हेर्नको लागि विक्रम संवत्को पात्रो उपयुक्त हुन्छ तर तामाङ समुदायको नितान्त मौलिक संस्कृतिमा आधारित पर्व, ल्हो परम्परा, घर बनाउने, परदेश जाने जस्ता साइत निकाल्ने कुराहरू, विवाह, छेवार, पास्नीजस्ता संस्कारको उपयुक्त दिन निकाल्ने आदि कार्यहरू भने आफ्नै पात्रोमा हेर्नुपर्छ । तामाङको ग्रहदशा हेर्ने विज्ञान चन्द्र पात्रो हो, सौर्य पात्रो होइन । यही नै हाम्रो विज्ञान हो र ल्हो परम्परामाथिको विश्वास हो ।

ल्हो फिर्ने दिन माघ शुक्ल प्रतिपदा माघमा मात्रै पर्छ, फागुनमा कहिल्यै पर्दैन भन्ने एकाथरीको जुन धारणा आइरहेको छ, त्यो गलत छ। चन्द्रपात्रोअनुसार यसपालि मात्रै सोनाम ल्होसार फागुनमा परेको होइन, यसअघि २०५२, २०५५ मा पनि फागुनमा ल्हो फिरेको थियो

केही मान्छेहरू जानेर या नजानेर अहिले सौर्य पात्रोमा लेखिएको विक्रम संवत्को माघ शुक्ल प्रतिपदालाई सोनाम ल्होसार मान्नुपर्ने काँचो कुरा गरिरहेका छन् । विक्रम सम्वतको माघ शुक्ल प्रतिपदा त चन्द्र पात्रोअनुसार पौष शुक्ल प्रतिपदा मात्र हो, जुन चन्द्र पात्रोअनुसार एक महिनाअघि लेखिदियो । चन्द्रपात्रो संवत्अनुसार ४ फागुनमा ४ नै ख्रे–ला छेपागी (माघ शुक्ल प्रतिपदा) पर्छ ।
ल्हो फिर्ने दिन माघ शुक्ल प्रतिपदा माघमा मात्रै पर्छ, फागुनमा कहिल्यै पर्दैन भन्ने एकाथरीको जुन धारणा आइरहेको छ, त्यो गलत छ । चन्द्रपात्रोअनुसार यसपालि मात्रै सोनाम ल्होसार फागुनमा परेको होइन, यसअघि २०५२, २०५५ मा पनि फागुनमा ल्हो फिरेको थियो । त्यस्तै २०६३ को फागुन ६ गते, २०६६ को फागुन २ गते र २०७१ को फागुन ७ गते सोनाम ल्होसार परेको थियो । यसअघि मात्रै होइन, पछि पनि जस्तो ः वि. सं. २०८२, २०८५, २०९० र २०९३ मा पनि फागुन महिनामा नै सोनाम ल्होसारको तिथि पर्दै छ । यसवर्ष यो गल्तीलाई नसच्याउने हो भने सधैभरि भ्रम रहिरहने भो र केहीले धमिलो पानीमा माछा मारिरहने स्पष्ट छ । त्यसैले यसलाई प्रस्ट पार्नैपर्छ भनेर लाग्दा विभिन्न तर्कवितर्क आए । चुप लागेर ४ माघमै ल्होसार मानेको भए हुन्थ्यो होला तर समस्या ज्यूँ का त्यूँ रहन्थ्यो ।

यसरी तिथिअनुसार कहिले सोनाम ल्होसार फागुनमा पुगेर ग्याल्बोसँग मिसिन पुग्छ भने कहिले ग्याल्बो पनि सोनाम ल्होसारको मितिमा आइपुग्छ । यसअघिको मितिमा हेर्ने हो भने २०५३, २०५६, २०५८, २०६१, २०६४, २०६९ मा ग्याल्बो ल्होसार सोनाम ल्होसारकै तिथिमा परेको थियो । २०६९ को ग्याल्बो ल्होसार माघमा सोनामसँगै शेर्पा समुदायले मनाइसकेका थिए तर विक्रम संवत्को क्यालेन्डमा फागुनमा बिदा लेखिएको कारण राष्ट्रपति, प्रधानमन्त्री कार्यालयबाट शुभकामना सन्देश आउँदा त्यतिबेला शेर्पा समुदाय अचम्मित भए । यसपछि २०७७, २०८०, २०८३ मा पनि ग्याल्बो सोनामको मितिमा आएर मिसिन्छ । यसलाई हेर्ने हो भने शेर्पा समुदायले धेरै पटक ग्याल्बो ल्होसार सोनाम ल्होसारको मितिमा आएर मानेका छन् तर उनीहरूले सोनाम ल्होसार मानेको कहिल्यै भनेनन् । माघ महिनामा परे पनि ग्याल्बो नै भने । यसैले ल्होसार परम्परा, इतिहास, यसको मौलिकता र हाम्रो अभ्यासको आधारमा टेकेर यो विशिष्ट संस्कृतिलाई अवलम्बन गर्ने दिशामा अघि बढ्न सक्नुपर्छ । यही नै हाम्रो दायित्व हो ।

(गोले नेपाल तामाङ घेदुङका केन्द्रीय अध्यक्ष हुन्)



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...