दीपक मनांगे ज्यान मुद्धामा दोषी ठहर, पाँच वर्ष जेल सजाय

गणेश लामा निर्दाेष ठहर

Published Date: January 16, 2018

काठमाडौं, प्रदेशसभा चुनावमा मनाङ ‘ख’ बाट प्रदेशसभा सदस्य विजयी दीपक मनाङ्गेलाई सर्वोच्च अदालतले ५ वर्ष जेल सजाय सुनाएको छ । मनाङ्गे चुनाव जितेपश्चात सपथ नलिँदै उनी ज्यानमुद्दामा दोषी ठहर भएका हुन् ।

मनाङ्गेको समूहमाथि ०६१ सालमा मिलन चक्रेलाई तरबार होनेको मुद्दा परेको थियो । जिल्ला अदालतले मनाङ्गेलाई २ वर्ष जेल सजाय सुनायो भने गणेश लामा, रेवत कार्की, रमेश सुनुवार र उमेश लामालाई सफाइ दियो ।

जिल्ला अदालतको फैसलाविरुद्ध सरकारी वकिलको कार्यालय पुनरावेदन अदालत गयो । अदालतले यसलाई ज्यानमुद्दा भन्दै दिपकलाई ५ वर्ष जेल सजाय सुनायो भने अरुलाई सफाइ दिने जिल्ला अदालतको फैसलालाई सदर गर्‍यो ।

अरुलाई पनि जेल सजायको माग गर्दै सरकारी वकिलको कार्यालय सर्वोच्च गएको थियो । न्यायाधीश दीपकराज जोशी र पुरुषोतम भण्डारीको संयुक्त इजलासले तत्कालीन पुनरावेदनकै फैसलालाई सदर गरेको छ ।

सहन्यायाधिवक्ता संजीवराज रेग्मीले भने, ‘हामीले अरुको हकमा कैद सजाय माग गरेका थियौं तर, सर्वोच्चले तत्कालीन पुनरावेदनकै फैसला सदर गर्‍यो ।’

उनका अनुसार मनाङ्गेको तर्फबाट कुनै दाबी नै प्रस्तुत भएको थिएन । र, यदि पुनरावेदनको समय सकिसकेको भए अब यो फैसला नै अन्तिम हुनेछ ।

जिल्ला अदालतले सुनाएको सजाय दिपक मनाङ्ग्ले भुक्तान गरेको बताइएको छ । त्यसो भएमा उनले बाँकी समय कैद भुक्तान गर्नु पर्ने हुन्छ ।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...