अमेरिकाद्वारा प्यालेस्टिनीहरूलाई गर्दै आएको सहयोग कटौती

Published Date: January 17, 2018

अमेरिकाले प्यालेस्टिनीहरूलाई गर्दै आएको सहयोगको आधा रकम कटोती गरेको छ । संयुक्त राष्ट्रसंघको एउटा निकायलाई अमेरिकाले उपलब्ध गराउँदै आएको भनिएको सो रकम अमेरिकाले आफ्नो तर्फबाटै एकतर्फी रोकेको हो ।

अमेरिकाले प्यालेस्टिनलाई सहयोग गरी आएको करिब १२ करोड ५० लाख डलरमध्ये पहिलो किस्तास्वरुप दिनुपर्ने ६ करोड ५० लाख अमेरिकी डलर रोक्ने निर्णय गरिएको जनाएको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि नै उनीहरुलाई दिँइदै आएको सहायता रकम रोक्न सकिने खुलासा गरेका थिए ।

उनले प्यालेस्टिनीहरूले इजरायलसँगको शान्ति प्रयासलाई स्वीकार नगरेमा प्यालेस्टिनीलाई दिइँदै आएको अमेरिकी सहायता कटौती गर्न सकिने बताएका थिए । उनको सोही प्रस्तावअनुसार अहिले यो रकम कटौतीको निर्णय आएको हो ।

संयुक्त राष्ट्रसंघका एक अधिकारीले अमेरिकाको यस्तो कदमले सङ्कटमा रहेका भनिएका लाखौँ मानिसलाई असर गर्ने बताएका छन् । प्यालेस्टिनी राष्ट्रपति महम्मुद अब्बासले पनि  राष्ट्रपति ट्रम्पको चर्को आलोचना गरेका  छन् ।

गत डिसेम्बर ६ मा अमेरिकी राष्ट्रपति ट्रम्पले जेरुसेलमलाई इजरायलको राजधानीका रुपमा प्रस्ताव गरेपछि प्यालेस्टिनीहरु सो निर्णयको विरुद्धमा आएका थिए । राष्ट्रपति अब्बासले गत वर्षको अमेरिकाको सो निर्णयपछि नै अमेरिकाको कुनै पनि शान्ति योजनालाई आफूहरुले स्वीकार नगर्ने घोषणा गर्दै आएका  छन् ।

संयुक्त राष्ट्रसंघको मानवीय सहायतासम्बन्धी संस्थाहरुले प्यालेस्टाइनी शरणार्थीहरूलाई सहायतागर्दै आएका छन् । ती संस्था तथा राष्ट्रसंघीय निकायहरुले पनि प्यालेस्टाइनी नागरिकहरुलाई स्वास्थ्य, शिक्षा र समाजिक सेवाका विभिन्न क्षेत्रमा सहयोग गर्ने गरेका छन् ।

अब यो सहायता अमेरिकाले एकतर्फी रुपमा रोकेपछि ती कार्यक्रमहरुमा असर पर्ने बताइएको छ । यस विषयमा संयुक्त राष्ट्रसंघको तर्फबाट कुनै आधिकारिक धारणा भने आएको छैन ।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...