पारिवारिक व्यवस्थापनको महत्वपूर्ण पाटो सफल पार्न नसकेको भन्दै माफी मागे गजुरेलले

गजुरेलले भने– हामी दुबै गलत होइनौं तर फरक रहेछौं

Published Date: January 22, 2018

ए1न्यूज काठमाण्डौ,

चर्चित हाँस्यव्यंग्य कलाकार मनोज गजुरेलले श्रीमती सँगको भएको सम्वन्ध विच्छेद बारे औपचारिक  रुपमा पुष्टि गरेका छन् ।

सञ्चारमाध्यम र सामाजिक सञ्जालहरुमा मनोजको श्रीमतीसँग डिभोर्स भएका थुुप्रै खवरहरु आए पनि गजुरेलले अहिलेसम्म कुनै प्रतिक्रिया दिएका थिएनन् ।

आज पहिलो पटक फेसबुकमा स्टाटस लेख्दै गजुरेलले श्रीमती मिनासँग कानुनी रुपमै छुट्टिने निधोमा पुगेको जानकारी दिएका हुन् । उनले सोमबार राति लेखेको स्टाटसमा भनेका छन्– जीवनका धेरै पाटाहरु मध्ये पारिवारिक व्यवस्थापनको महत्वपूर्ण पाटो सफल पार्न नसकेकोमा तपाईंहरुसमक्ष क्षमाप्रार्थी छु । हामी दुबै गलत होइनौं तर फरक रहेछौं । त्यसै कारणले होला, दुई दशकभन्दा लामो सम्वन्ध जोगिएन ।

गजुरेलले फेसबुकमा लेखेको स्टाटसको पूर्ण  पाठ यसप्रकार छ :

श्रध्देय शुभेच्छुक महानुभावहरू,
सबैमा हृदयदेखि नमन !
मेरो पारिवारिक सम्वन्धका बारेमा सामाजिक सञ्जालहरूमा आएका समाचार, टिका टिप्पणी, जिज्ञासा र समाचारप्रति मेरो ध्यान आकृष्ट भएको छ । हामी (मीना ढकाल र मनोज गजुरेल) बिगत दुई दशकभन्दा बढि समयदेखी बैवाहिक बन्धनमा बाँधिएका हौं ।

हामीबाट एक छोरा र एक छोरी (मिरोज र मेमोरी) को जायजन्म भएको छ । हामी अलग परिवेश र फरक जीवनशैलीबाट आएको हुनाले होला, हाम्रो वैवाहिक जीवनको करिब प्रारम्भिक चरणदेखि नै सामान्य मतभेद हुँदै आएको थियो । हामीले हाम्रा सन्ततीको भविष्यका लागि पनि सकेसम्म मिलेर अगाडि बढ्न प्रयत्न गरेका थियौं तर यसलाई जिवन्त बनाउन सकेनौं । त्यसैले पारिवारिक सहमतिका आधारमा हामीले कानुनी रुपमै छुट्टिने निर्णय गऱ्यौं । यस क्रममा छोरी आमाको र छोरो बाबुको अविभावकत्वमा रहनेगरी सम्पतिलाई दुवै पक्षका परिवारको रोहबरमा चार भाग लगाई बांडफांड गरेका छौं ।

एउटा सामाजिक ब्यक्तिबाट यस्तो दुखद घटना जानकारी गराउनु आफैंमा सकारात्मक बिषय होईन । जीवनका धेरै पाटाहरु मध्ये पारिवारिक व्यवस्थापनको महत्वपूर्ण पाटो सफल पार्न नसकेकोमा तपाईंहरुसमक्ष क्षमाप्रार्थी छु । हामी दुबै गलत होइनौं तर फरक रहेछौं । त्यसै कारणले होला, दुई दशकभन्दा लामो सम्वन्ध जोगिएन ।

यो संवदनशिल घडीमा हाम्रा दर्शक, श्रोता, पाठक, आफन्त, परिवारजन एवं सम्पूर्ण शुभ चिन्तकहरुमा आग्रह गर्न चाहान्छु कि म, मिनाजी, हामी दुबैका परिवारजन र हाम्रा सन्ततीको जीवनमा तपाईंहरुबाट सकारात्मक सहयोगको अपेक्षा गरेको छु ।

अन्त्यमा, विवाहपूर्वको प्रेम, वैवाहिक जीवनको अनुभव र सन्तानसुखको मिठो अनुभूतिकालागि मिनाजीलाइ म अन्तर हृदयबाट धन्यवाद सहित सफलताको कामना ब्यक्त गर्दछु । सबैको मंगल होस् ।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...