‘वैदेशिक रोजगारीमा गएका महिला श्रम र यौन शोषणमा’

Published Date: January 26, 2018

अधिकारकर्मीले वैदेशिक रोजगारीमा गएका महिला श्रम तथा यौन शोषणमा पर्ने गरेको दाबी गरेका छन् ।  महिला अधिकार संरक्षणमा सम्बन्धित निकाय सचेत हुुनुपर्नेमा जोड दिंदै उनीहरूले यस्तो दाबी गरेका हुन् ।

महिला विकास तथा कानुन मञ्च, जोन्ता इन्टरनेसनल र युएन ओमेनलगायतका संस्थाद्वारा बिहीबार राजधानीमा आयोजित कार्यक्रममा सरकारी अधिकारीले समेत वैदेशिक रोजगारमा गएका महिला श्रम र यौनशोषणमा पर्ने गरेकोप्रति चिन्ता व्यक्त गरे । उनीहरूले ‘सबै बुझेर वैधानिक बाटोबाट जाँदा बढी सुरक्षित हुने’ सुझाव पनि दिए ।

‘दलालले एउटा काम भनेर अर्काेमा पठाउने, घरेलु हिंसा तथा यौनशोषणमा पर्ने गरेको’ पछिल्लो तथ्यांक उनीहरूले औंल्याएका छन् ।महिला विकास तथा कानुन मञ्चका कार्यकारी निर्देशक सविन श्रेष्ठले मानव बेचबिखन र वैदेशिक रोजगारीबीच अन्तरसम्बन्धबारे प्रकाश पार्दै पछिल्लो समय वैदेशिक रोजगारीका नाममा धेरै महिला बेचबिखनमा पर्ने गरेको बताए ।

उनले वैदेशिक रोजगार ऐन, कानुन कार्यान्वयनमा कडाइ,गर्ने र सरोकार राख्ने पक्ष सचेत हुनुका साथै वैधानिक बाटोबाट मात्र जाने र पठाउनेले झुक्याए कडा कारबाही हुने कानुन ल्याउनुपर्नेमा उनले जोड दिए ।

श्रम तथा रोजगार मन्त्रालयका कानुन उपसचिव अर्जुनप्रसाद खनालले वैदेशिक रोजगारसम्बन्धी कानुन संशोधन प्रक्रियामा रहेको उल्लेख गरे । मानव बेचबिखनविरुद्ध काम गर्दै आएका संघसंस्थाको सुझाव कानुन संशोधन प्रक्रियाका लागि प्रभावकारी हुने उनकोविश्वास छ ।

नेपाल प्रहरीे महिला बालबालिका सेवा निर्देशनालयका प्रहरी उपरीक्षक दिलिपसिंह देउवाले वैदेशिक रोजगार विभागमा सम्बन्धित विज्ञटोली सहभागी कमिटी गठन गर्नुपर्नेमा जोड दिए ।

‘त्यति भए रोजगारीमा जाँदा ठगिएका पीडितको उद्धार र क्षतिपूर्ति दिलाउने कार्यमा समन्वय गर्न प्रहरीलाई सजिलो हुने थियो,’ उनले भने, ‘वैदेशिक रोजगारीमा हरेक दिन नयाँ समस्या थपि“दै गएका छन््, यसबारे कानुनमा अस्पष्टता रहेकाले प्रहरीलाई काम गर्न गाह्रो भइरहेको छ ।’

महान्यायधिवक्ता कार्यालयका सहन्यायधिवक्ता कृष्णजीवी घिमिरेले वैदेशिक रोजगारीमा जाँदा वैधानिक बाटो अपनाउनुपर्ने बताए । ‘सम्बन्धित सीप सिकेर मात्र जानसके बेचबिखनमा पर्ने सम्भावना कम हुने भए पनि जोखिम मोलेरै त्यसतर्फ जानेको संख्या बढिरहेको छ,’ उनले भने, ‘महिलाका लागि वैदेशिक रोजगार असुरक्षित छ ।’

जोन्ता इन्टरनेसनल प्रमुख सोन्जा ह्वाङसङ्घले जोन्ताले संयुक्त राष्ट्र संघीय निकाय यूएन ओमेनसँग सहकार्य गरी नेपालमा काम गरिरहेको जानकारी दिए । ‘काम गर्ने क्रममा महिला–पुरुषको असमान अधिकारको नकारात्मक प्रभावले महिला हक अधिकारलगायत थुप्रै क्षेत्र प्रभावित भएका छन््,’ उनले भनिन् ।

यूएन ओमेनका रणनीतिक साझेदार विज्ञ सरु जोशीले महिला आत्मनिर्भर बन्ने, केही कमाएर छोराछोरी राम्ररी पढाउनेलगायतका इच्छाले वैदेशिक रोजगारमा जाँदा धेरै जोखिममा परिरहेको उल्लेख गरे । ‘स्वेदेशमै उद्यमी बन्न यूएन ओमेनले प्रदान गरेको सीपमूलक तालिमले धेरै महिला बेचबिखनमा पर्ने जोखिमबाट मुक्त पार्न सहयोग पुगेको छ,’ उनले भनिन् ।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...