जेलबाट भागेका ‘टिके डाँका’ माथी प्रहरीद्वारा गोली प्रहार

Published Date: January 27, 2018

काठमाडौं, २७ जनवरी । डिल्लीबजार कारागारबाट गतसाता भागेका ‘टीके’ भनिने टीकाबहादुर थापा प्रहरीको गोली लागेर घाइते भएका छन् । टिके र प्रहरी टोलीबीच चितवनको रामनगरस्थित पेट्रोल पम्प अगाडि गोली हानाहान भएको हो ।प्रहरीले जवाफी फायरिङ गर्दा उनको तिघ्रा र हातमा गोली लागेको छ ।

प्रहरीका अनुसार  पक्राउ गर्न गएको महानगरीय अपराध महाशाखाको टोली र जिल्ला प्रहरी कार्यालय चितवनको प्रहरीले चेकजाँच गरेको समयमा टिकेले प्रहरीमाथि नै आक्रमणको प्रयास गरेपछि गोली चलाइएको महानगरीय अपराध महाशाखाका प्रमुख दिवेश लोहनीले जानकारी दिए ।

टिके ना ४७ प ५०५२ नं को मोटरसाइकल चलाएर नारायणगढ जाँदै थिए । चितवनको भरतपुर महानगरपालिका–१ रामनगरस्थित ओम साइ पेट्रोल पम्प अगाडि शनिबार साँझ ५ः१० मा चेकजाँच गर्ने क्रममा टिकेले सुरुमा प्रहरीमाथि गोली चलाएका थिए ।

काठमाडौंबाट गएको अपराध महाशाखाको टोली र चितवन प्रहरीको संयुक्त टोलीले जवाफी कारबाहीमा गोली चलाउँदा टिके घाइते भएका हुन् । घाइते टिकेलाई तत्कालै चितवनको सरकारी अस्पतालमा उपचारको लागि लगिएको थियो ।

प्रहरीको गोली लागेर घाइते भएका कुख्यात टिके डाँकालाई थप उपचारको लागि चितवनबाट काठमाडौंस्थित वीर अस्पतालको ट्रमा सेन्टर रिफर गरिएको प्रहरीले जनाएको छ ।

टिके माघ ४ गते राति काठमाडौंबाट भागेका थिए । उनीसँगै भागेका अर्का कैदीलाई भने प्रहरीले राति नै पक्राउ गरेको थियो ।

२०७३ पुसमा कौशलटारस्थित बैंकबाट पैसा निकालेर गठ्ठाघर तर्फ जाँदै गरेकी मन्दिरा अधिकारीको ६ लाख नगद लुटेपछि महानगरीय अपराध महाशाखाले उनलाई नियन्त्रणमा लिएर मुद्दा चलाएको थियो ।

रामेछापको दोरम्बार स्थायी घर भएका टीकालाई पुस २६ गते अपराध महाशाखाले पक्राउ गरेको थियो ।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...