हरिबंशको रमाइलो मन छुने कुरा…

Published Date: January 28, 2018

ए1नेपाल अमेरिका-रोहित भण्डारी

अहिले पनि एसएलसीलाई फलामे ढोका भनिन्छ । त्यतिखेर म जस्ता मध्यम वर्गका मान्छेको उद्देश्य एसएलसी पास गर्ने, नाइट अथवा मर्निङ कलेज पढ्ने अनि एउटा खरिदारको जागिर खाने हुन्थ्यो ।
त्यस बेलाका नेविसङ्घका अध्यक्ष बलबहादुर केसी नक्सालमा बस्थे । हामी उनलाई ‘दाइ’ भन्दै उनको डेरामा जानेआउने गर्थ्यौं। बेलाबेला पञ्चायत विरोधी काम गर्दा ढाडमा पुलिसले हानेको लट्ठीको सुम्लो देखाउँथे ।
हामीलाई एसएलसी पास गराउन उनले धेरै कोसिस गरे । मेरो एसएलसीको सेन्टर दरबार हाइस्कुलमा परेको थियो । उनी अङ्ग्रेजी,गणित, विज्ञानको जाँचमा पुलिसको आँखा

छल्दै हामीलाई चिट दिन हलमै आउँथे । मलाई
चिट दिन आउँदा उनलाई पुलिसले समातेर लट्ठी
हान्दै लगेको थियो । उनको प्रयास खेर गयो ।
एसएलसीको रिजल्ट भयो । विज्ञान र गणितले
माया मारेछ । चौथो डिभिजन आयो ।
एसएलसी अनुत्तीर्ण भएपछि उत्साह पनि जाँदो
रहेछ । सबै साथीहरु कलेज जान थाले, आफूचाहिँ
कहाँ जाने दिनभरि ?
एक दिन घरमै बसिरहेको थिएँ, साथी सुरेन्द्र
पौडेलले भन्यो— “ब्याङ्कक जाने ?” म अचम्ममा
परें । ब्याङ्कक जान पाउने कुरा सुनेर मलाई
राम्रो नराम्रो केही मतलव थिएन । मैले कुरा
खस्न नपाउँदै भनिहालें— “जाने… जाने…!”
त्यस बखत सरकारले झिटीगुन्टा नियम भनेर
विदेश जाने नेपालीलाई तीन तोला सुन, तीन
जोर लुगा, छाता, क्यामेरा, घडी आदि लिएर
आउने छुट दिएको थियो । त्यस्तो व्यापार
प्रायः मनाङबाट राजधानी आएर बसेकाहरुले
गर्थे । उनीहरुलाई मनाङे भन्ने चलन थियो ।
परराष्ट्र मन्त्रालय गएर पासपोर्ट बनाएँ र सुरेन्द्र
पौडेललाई दिएँ । उसको झोलामा बीस–
तीसओटा पासपोर्ट थिए । उनीहरु थुप्रै मान्छे
ब्याङ्कक लैजाने अनि तिनकै नाममा सामान
ल्याएर बेच्ने गर्थे । साहुले नाफा पाउँथ्यो,
जानेले ब्याङ्कक घुम्न पाउँथे ।
शाही नेपाल वायु सेवा निगमको जेट प्लेन
हामी जस्तै केटाहरुले भरिएको थियो । तीमध्ये
एउटा त मै थिएँ । जेटमा बसेका केटाहरुले प्लेनले
हवाईमैदान छोडेर उड्नासाथै ताली बजाए
गडगडी । मैले ‘किन ताली पिटेको’ भनेर सोधें ।
एउटाले भन्यो, ‘जिन्दगीमा जेट चढ्न पाइयो
भनेर ।’ त्यसपछि मैले पनि मनमनै ताली पिटें— मैले
पनि जेट चढ्ने पाएको थिएँ ।
उडिरहेको प्लेनको झ्यालबाट हेर्न थाल्यौं ।
कोही तल देखाएर ‘इन्डिया इन्डिया’ भन्थे,
कसैले ‘चीन चीन’ भन्थे । कोहीकोही त तल
देखाएर ‘यो त अमेरिका हो’ पनि भन्थे । म
अलिअलि मात्र बुझ्दै थिएँ— हामी भारत,
बङ्गलादेश, बर्मा हुँदै थाइल्यान्डको आकाशमा
छिर्दै छौं । धेरैले जेटको ट्वाइलेटमा चुकुल लगाउन
पनि जानेका थिएनन् । एउटा कमडमा बसेको
हुन्थ्यो, अर्कोले ढोका खोल्थ्यो अनि ‘सरी’
भन्थ्यो ।
आरएनएसीको जहाजमा धूमपान गर्न पनि छुट
थियो त्यस बखत । मद्यपान त झन् एयर होस्टेस
आपैmले खुवाउँथिन् नै । कसैले ह्विस्की खाए,
कसैले बियर, कसैले वाइन । मैले पनि बियर खाएँ ।
हाम्रो साहु सोनाम मनाङे लवजमा भन्थ्यो—
“ए, धेरै राक्सी नाखाऊ, भ्याङ्ककको
एयरपोटमा गारो पार्छा ।
जेट थाइल्यान्डको राजधानी ब्याङ्ककमा
ल्यान्ड गर्न तलतल ओर्लियो । हामीलाई रोटे
पिङ खेल्दा तल खसेको जस्तो सिरिङ्ग भइरहेको
थियो । साथीहरु तर्सेर मुख अँध्यारो
पारिरहेका थिए । जेटको पाङ्ग्राले
थाइल्यान्डको भुइँ छुँदा ढ्याङ्ग्य्राङ्ग गर्यो ।
सबैको सातो गयो । एक–दुई जनाले त मुखै छोडेर
म्या….. भने । मचाहिँ त्यति धेरै तर्सिनँ किनभने
त्यसभन्दा पहिले काठमाडौंबाट विराटनगर
जाँदा एभ्रो चढिसकेको थिएँ ।
जेट ब्याङ्ककको एयरपोर्टमा गुड्न थालेपछि
पहिले एउटाले ताली पिट्यो, अनि सबैले पिटे ।
मैले फेरि सोधें, ‘किन ताली पिटेको ?’ उही
अगि जेट उड्दा ‘जेट चढ्न पाइयो’ भनेर ताली
पिट्नेले भन्यो, ‘ज्यान बाँच्यो भनेर ।’
हाम्रो मनाङे साहुले सबैलाई पासपोर्ट दिँदै
भन्यो— “साबै एकै लाइनमा लाम बास्ने,
बाहिर निस्केपाछि सबै एकै ठाउँमा उभिऊ,
आफूखुसी नाहिँड ।” अनि सुरेन्द्र पौडेलतिर
फर्केर भन्यो— “ए पोडेल, तिमीले भन सबैलाई ।”
सुरेन्द्रले मलगायत सबै साथीहरुलाई ‘लाइन बस्ने,
कतै नजाने’ अनुशासनका कुराहरु सिकायो ।
सात दिन थाइल्यान्ड बस्यौं । ब्याङ्ककको
सडकमा मोटरसाइकल त झिँगाभन्दा धेरै ।
साइलेन्सर पाइप झिकेको मोटरसाइकल
कोलाहल मच्चाउँदै गुड्थे सडकमा । कति व्यस्त
जीवन त्यहाँको ! सानो सय सीसीको
मोटरसाइकलमा मारेको बङ्गुर पछाडिपट्टि
सिटमा बाँदेर बेतोडले कुदाउँथे ।
लोग्ने मान्छेभन्दा स्वास्नी मान्छे बेफुर्सदिला
थिए । कोही खाना बेच्ने, कोही सामान बेच्ने,
कोही शरीर बेच्ने । हामी बसेको होटलमा पनि
केटीहरु स्याउँस्याउँती थिए । कतिलाई त
लोग्नेले नै मोटरसाइकलमा ल्याएर त्यहाँ छोडेर
जान्थे पैसा कमाउन । मैले पनि निर्वस्त्र आईमाई
पहिलोपल्ट त्यहीँ देखें ।
सात दिनमा मनाङे साहुले धेरै ठाउँमा घुमाउन
पनि लग्यो । एकएक जोर लुगा पनि
किनिदियो हामी सबैलाई । मलाई मनाङे
साहु खुब मन पराउँथ्यो । मैले बोलायो कि
साहु खुब हाँस्थ्यो अनि साँझतिर खुसुक्क खाऊ
भनेर बियर दिन्थ्यो ।
काठमाडौं आउने दिन साहुले चारओटा कमिज,
दुई जोर पाइन्ट लगाऊ भन्यो । ज्याकेट
एकएकओटा लाउन दियो, लगायौं । अर्को
एकएकओटा ज्याकेट पनि हातमा लिऊ भन्यो,
सबैले हातमा एकएकओटा ज्याकेट बोक्यौं ।
ब्याङ्ककको गर्मीमा चारओटा कमिज,
ज्याकेट, डबल पाइन्ट लगाएर फेरि अर्को एउटा
ज्याकेट हातमा लिँदा हामी उसिनिएको आलु
जस्तै भएका थियौं ।
ब्याङ्कक एयरपोर्टमा आएपछि सबैको जिउमा
तीन तोला सुनका सिक्री र औंठी
लगाइदियो । मैले जिन्दगीमा सुनको सिक्री,
बेरूवा औंठी पहिलोचोटि लगाएँ । गज्जबको
‘सिको फाइभ’ घडी पनि लगाइदियो । दुई–
चारवटी केटी पनि थिए ब्याङ्कक जानेमा ।
उनीहरुले पनि एकै जनाले पाँचओटा जापानी
सारी लगाउन पाए । साहुले हामीलाई
काठमाडौंमै भनेको थियो— “तिमारु घाडी,
सुन केई पनि नालागाई आऊ !” हामीले बल्ल
थाहा पायौं— उसका घडी, सुन लगाएर
आउनलाई त्यसो भनेको रहेछ । हाम्रो
टाउकोमा एकएकओटा ‘रे बन्ड गग’ पनि
राखिदियो । एयरपोर्टमा अरु देशका मान्छेहरु
हाम्रो लवाइ देखेर छक्क परेर हेर्थे ।
नेपाल आउने आरएनएसीको जहाजभित्र
छिर्नासाथै हामीलाई लागाइदिएको चस्मा,
घडी, सुन साहुले झोलामा हाल्यो । अनि
काठमाडौंमा जहाज ल्यान्ड गर्ने बेलामा फेरि
सबैलाई घडी, चस्मा, सुन लगाइदियो । तीन
घण्टा जहाजमा बस्दा उसका सामान
हराउलान्, फुट्लान् भनेर उसैले लिएको रहेछ ।
हामी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा
ओर्लंदा मसँगै ब्याङ्कक जाने साथीहरुको लवाइ
हेर्दा खेतमा साँढे धपाउन राखेको बुँख्याचा
जस्तै देखिन्थ्यो । म पनि त्यस्तै थिएँ अरुले हेर्दा

त्रिभुवन विमानस्थलमा एकएकओटा
प्लास्टिकको झोला पनि दियो हामी
सबैलाई । त्यसमा एकएक कार्टुन ५५५ चुरोट र
एकएकओटा रेड लेबल ह्विस्की थिए । हामी र
हाम्रो नाममा ल्याइएका सामान
विमानस्थलबाट मिनी बसमा राखेर सिधै
ठमेलको एउटा घरमा लिएर गयो । हामीले
लगाएका चारओटा कमिजमा तीनओटा र दुइटा
पाइन्टमा एउटा फुकाल्न लगायो, ज्याकेट भने
दुइटै लियो । सुन, चस्मा, घडी त मिनी बसभित्र
पस्नासाथै लिएर झोलामा हालिसकेको
थियो । त्यस बखत भारतमा सुन र विदेशी लुगा
आयात गर्न प्रतिबन्ध थियो । भारतीयहरु
विदेशी सामान र सुन किन्न नेपाल आउँथे ।
त्यसबाट हङकङ, ब्याङ्ककका व्यापारीहरुलाई
राम्रै फाइदा हुन्थ्यो ।
काठमाडौं आएपछि मनाङे साहुले
किनिदिएको नयाँ जिन्सको पाइन्ट र सर्ट
लगाएर टोलमा हिँड्दा ‘ए, यो भरिया भएर
ब्याङ्कक गएर आएको’ भनेर औंलाले देखाउँथे
साथीहरु । एसएलसी फेल भएर ब्याङ्कक जाने
सात दिनको स्कलरसिप नै थियो त्यो मेरो
थाइल्यान्ड यात्रा ।
त्यसपछि सोनाम मलाई देख्यो कि बेस्कन
हाँस्थ्यो र भन्थ्यो— ‘जोकर छ यो
हरिबङ्सा !’ तीन महिनापछि फेरि म
सोनामसँग ब्याङ्कक जान पाउने भएँ । उसले
मलाई ‘तिमी पनि पाँच हजारको सामान
ल्याऊ, म तिमीलाई छुट दिन्छु’ भन्यो ।
म फेरि ब्याङ्कक जान लागेको कुरा मेरा
नक्साले साथीहरुले थाहा पाए । कसैले ‘पाइन्ट
ल्याइदे’ भनेर पैसा दिए, कसैले ज्याकेट, कसैले घडी,
कसैले चस्मा । मैले कसैको पनि ‘नाइँ’ भनिनँ । मसँग
नौ हजार रूपैयाँ जम्मा भयो । दोस्रो पटक
ब्याङ्कक गएर त्यो सबै पैसाले सोनामको
सल्लाहअनुसार कपडा किनेर काठमाडौं ल्याएँ
। सोनामले नै बेचिदियो, मलाई सात हजार
नाफा भयो ।
काठमाडौं आएर सबै साथीहरुलाई ‘सामान
ल्याउन सकिनँ’ भनेर एकएकओटा चकलेट र पैसा
फिर्ता दिएँ, साथीहरुले ‘साले बाहुन’ भने ।
पढ्न अलि लद्दुलद्दुहरुले तराईमा गएर मजाले चोरेर,
अझ आफ्नो जाँचै अरुलाई लेख्न लगाएर पास भएर
आएको थाहा थियो । त्यसैले हामीले पनि
अर्को वर्ष सेन्टर परिवर्तन गरेर लहानमा राख्यौं
। मेरो साथी राजु मानन्धर अहिले इन्जिनियर
छ । ऊ एकदम राम्रो पढ्ने विद्यार्थी हो तर
कसरी फेल भयो, थाहा छैन । उसको सङ्गतले म
पनि पास हुनुपर्ने हो । ‘मेरो सङ्गतले ऊ फेल भयो’
भनौं भने पढ्ने विद्यार्थी त फेल हुनु नपर्ने हो ।
जाँच दिन लहान त गयौं तर त्यहाँ न आफ्नो घर
थियो न मामा घर, कसले मद्दत गर्ने ? त्यस बेला
पुलिसलाई मामा भनिन्थ्यो, तिनै मामाहरु
मात्र थिए । खासै चोर्न पाइएन जाँचमा । बरू
हामी काठमाडौंबाट सँगै गएका राजु मानन्धर,
पेकिङ केसी, श्याम श्रेष्ठ, कमल पाण्डे र मेरो
झन्डै श्राद्ध गर्नुपरेको ।
शनिबारको दिन । माघेझरी परेर थामिएको
थियो । जाडोले गर्दा मधेस भए पनि लुगा धेरै
लगाउनुपर्थ्यो । दिनभरि बस्दा दिक्क लागेर
यसो बस्तीपुर गाउँतिर घुम्न जाने सल्लाह भयो
। एक घण्टा हिँडेपछि हामी बस्तीपुर पुग्यौं ।
सिमसिम पानी पर्न थाल्यो । हामी
लहानतिरै फर्कन खेतैखेत आउँदै थियौं । एउटी
तरूनी दाउराको भारी टाउकोमा राखेर
हामीतिरै आउँदै थिइन् । सँगै गएको एक जना
साथीले उनको वक्षस्थल समातिदिएछ । उनले
आफ्नै भाषामा औंला ठड्याउँदै गाली गरिन् ।
राजु र म भाग्यौं । साथीहरुले ‘एउटा बाहुन,
अर्को नेवार डराएर भागे’ भनेर गिज्याए ।
हामी रोकियौं ।
खेतमा रहरका बोटहरु बाक्लै थिए । पर रहरको
बोटबाट लुक्तैलुक्तै हातमा लट्ठी लिएर सयौं
मान्छेहरु हामीतिरै आइरहेका देखें मैले । ‘ए
हामीलाई त गाउँलेले घेर्न लागे, हेर त टाउका र
लट्ठी देखिस्’ भनें । बाहुन र नेवार मात्र होइन,
हामी सबै भाग्यौं ।
हामी भागेपछि गाउँलेहरुले ‘चोरचोर’ भन्दै
कराउँदै लखेट्न थाले । ‘चोर’ भनेर कराएपछि
अर्को गाउँबाट पनि लट्ठी बोक्तै हामीतिर
आएको देख्यौं । हामी भाग्दैभाग्दै अगि एक
घण्टा हिँडेर गएको गाउँबाट बीस–पच्चीस
मिनेटमै लहाननजिक आइपुग्यौं ।
खोला तर्नुपर्ने थियो, हामी खोलामा
हामफाल्यौं । जाडो भएर लगाएको बाक्लो
लुगाले पानीमुनि तान्यो । पद्मोदय स्कुलको
कक्षा छोडीछोडी भृकुटीमण्डपको पोखरीमा
पौडी खेलेको अलिकति काम लाग्यो त्यहाँ ।
लुगा भिजेर भित्रभित्रै ताने पनि जबरजस्ती
पौडी खेल्यौं । गाउँलेले हानेको माटोको
डल्लाले ढाडमा ड्वाङड्वाङ लाग्दै थियो ।
हामी खोला तरेर लहान बजार पुग्यौं ।
पानीले निथ्रुक्क भिजेका हामी स्थानीय एक
जना दीपक भन्ने मान्छेको घरभित्र पस्यौं ।
त्यहाँ बस्तै जाँदा उनीसँग राम्रो मित्रता
भयो । गाउँलेहरु लट्ठी बोकेरै लहान बजारतिर
हामीलाई खोज्न आएछन् तर दीपकले
लुकाइदिएकाले भेट्न सकेनन् । दीपकले गाली गर्दै
भने— “त्यस्तो गर्नु हुन्छ ? तिमीहरुलाई गाउँलेले
भेटेका भए लट्ठीले हानेरै मार्थे । गाउँ नै उल्टिएर
मारेपछि पुलिस केस पनि लाग्दैन ।”
हामी चिसो लुगा र डरले काम्दै साँझसम्म
त्यहीँ लुकेर बस्यौं र राति मात्र डेरामा गयौं ।
भोलिपल्ट प्रश्नपत्र हेर्नुभन्दा पनि ‘हिजोका
गाउँलेहरु विद्यालयमै हामीलाई खोज्दै आए
कि’ भनेर ढोकामा हेर्दै थियौं । त्यस्तरी
ज्यान हत्केलामा राखेर दिएको जाँचमा पनि
चौथो डिभिजन नै आयो । हिसाबमा मेरो दुई
नम्बर पुगेन । राजु मानन्धर एक जना मात्र पास
भयो ।
अर्को साल फेरि जाँच दिने राजु भुजू भेट्टाएँ ।
राजु पनि मेरो मिल्ने साथी हो— म जस्तै
एसएलसी फेल भएर बसेको । तौलिहवामा जाँच
दिन जानलाई साथी खोज्दै रहेछ । धेरै वर्षअगि
राजुका बुबा पूर्ण भुजू तौलिहवा जिल्ला
शिक्षा कार्यालयको हाकिम भएर बसेका
रहेछन् । उनको सिफारिसमा हामी तौलिहवा
गयौं र राजु भुजूसँगै स्थानीय विष्णु कार्की र
शम्भु कार्कीको घरमा बस्न थाल्यौं । त्यो
घरका बुबाआमाले हामीलाई धेरै माया गरे ।
राजारानी जिल्ला भ्रमणको सिलसिलामा
तौलिहवामै आउनेवाला रहेछन् । जिल्लामा
भएजति पुलिस प्रशासनका हाकिमहरु
तौलिहवामै थुप्रेका रहेछन् । जाँचमा चोर्न त के,
फर्कन पनि पाइएन । त्यस्तो कडा गरेको थियो

जाँच सकिएपछि हामी (राजु, म र अरु दुई–तीन
जना) तौलिहवाबाट भारतको सोरतगढ हुँदै
गोरखपुर पुग्ने र भैरहवा छिरेर काठमाडौं फर्कन
हिँड्यौं । हामीसँग भारत भ्रमणको त्यस्तो
ठूलो अनुभव थिएन ।
सोरतगढको रेल स्टेसनबाहिर एक जना नेपालीले
‘तपाईंहरु गोरखपुर जाने हो’ भनी सोध्यो ।
हामीले ‘हो’ भन्यौं । ‘आउनुस् आउनुस्’ भनेर रेल
स्टेसनभित्र लगेर त्यो मान्छे गायब भयो ।
एकछिनपछि एक जना रेलको पुलिस आएर ‘तुम
लोगका टिकट दिखाओ’ भन्यो ।
हामीलाई ‘रेल स्टेसनभित्र टिकट लिएर मात्रै
पस्नुपर्छ’ भन्ने थाहा थिएन । त्यो नेपाली
दलाल रहेछ । उसले हामी सोझा नेपालीहरुलाई
मात्र नेपाली बोलेर सहयोग गरेको जस्तो गरी
टिकट नकिनी रेलको स्टेसनभित्र छिराउँदो
रहेछ र भारतीय पुलिसहरुले तर्साएर असुलेको
पैसाको भाग पाउँदो रहेछ ।
हामीले त्यो रेल पुलिसलाई भन्यौं— “रेल
स्टेसनभित्र पस्दा टिकट काटेर मात्र पस्नुपर्छ
भन्ने हामीलाई थाहा थिएन । एउटा नेपालीले
हामीलाई भित्र ल्याइदियो । हाम्रो केही
दोष छैन ।”
हाम्रो कुराले दिनहुँ नेपालीहरुलाई ठग्न पल्केको
रेल पुलिसको मन के पग्लन्थ्यो ? लाइन लगाएर
राख्यो भने त्यसले ठगेका नेपालीहरुको सङ्ख्या
त्यहाँ चल्ने रेलभन्दा तीन गुना लामो हुन्थ्यो
होला । हामीलाई ‘पाँच सय रूपैयाँका दरले
पैसा ले, नत्र तिमीहरुले बिनाटिकट यात्रा
गर्दाको सजायँ पाउँछौ’ भनेर त्यो पुलिसले
भारतीय रेलको कानुन सुनायो ।
हामीसँग पाँच सय दिने हैसियत थिएन । भएको
भए पनि हामी पैसा बुझाउने पक्षमा थिएनौं ।
त्यसले छिनछिनमा आएर ‘क्या निर्णय करलिया
तुम लोगो ने ?’ भनी सोध्थ्यो । हामीले ‘जेल
जाने निर्णय लियौं’ भन्यौ । त्यसले भन्यो—
“सोच लो, सोच लो ।”
हामीसँग पैसा माग्ने रेल पुलिसले कपडाको खैरो
जुत्ता लगाएको थियो । अर्को छालाको
खैरो जुत्ता लगाएको पुलिस आयो । पुस
महिनाको शीत लहर चलिरहेको हुनाले त्यो
पुलिसले ओभरकोट पनि लगाएको थियो ।
कुममा कुन दर्जाको फुली लगाएको थियो,
देखेनौं तर हामीले जुत्ता हेरर ‘योचाहिँ अफिसर
लेबलको पुलिस होला, यसले त पैसा नखाला’
भन्ने अन्दाज गरेर सबै कुरो बिन्ती गर्यौं ।
त्यसले त झन् डर देखाएर भन्यो— “देखो भाइ !
पाँच बरस जेल बस्नुभन्दा त पाँच–पाँच सय रूपैयाँ
दिनु राम्रो हो ।”
पिचासको कुरो भूतलाई लगाएर सम्झाएको
जस्तो भयो । समस्या के समाधान हुन्थ्यो ? झन्
बल्झियो ।
केही बेरपछि फेरि छालाकै खैरो जुत्ता
लगाएको अर्को पुलिस आयो । उसको पनि
दर्जा बोक्ने कुम ओभरकोटले छोपेको थियो ।
टाउकोमा पगरी लगाएको हुनाले सर्दारजी
हो भन्नेचाहिँ थाहा पायौं । हामीले
सर्दारजीहरु इमानदार हुन्छन्, बहादुर हुन्छन् भन्ने
सुनेका थियौं ।
जे परे पर्ला भनेर उसलाई पनि सबै कुरो
बेलीबिस्तार लगायौं । त्यो सर्दार पुलिसले
हामीसँग पैसा माग्ने पुलिसलाई हप्कायो—
“तिमीहरु यस्ता सोझालाई दुःख दिएर पैसा
असुल्छौ ? लाज, सरम केही छैन तिमीहरुलाई ?”
रेल पुलिसले सर्दार पुलिसलाई कराएर भन्यो—
“यो तिम्रो मामिला होइन, हाम्रो
मामिलामा तिमी चुप लाग !”
त्यो सर्दार पुलिस पनि त्यहाँ ड्युटी गर्ने नभएर
रेलबाट यात्रा गर्ने रहेछ भन्ने थाहा पायौं ।
उसले फेरि हामीलाई सम्झाउँदै भन्यो—
“नडराईकन यहीँ बसिराख्नू । म एकछिनपछि
आउँछु ।”
उसले बाहिर गएर हाम्रा लागि रेलको टिकट
किनेछ । टिकट ल्याएर हाम्रो हातमा
राखिदिँदै भन्यो— “अब तिमीहरुलाई कसैले
केही गर्न सक्तैन ।”
हामी कृतज्ञ मात्र भएनौं, हामीले उसलाई
सर्दारका देवता ‘गुरू नानक’ नै ठान्यौं ।
टिकटको पैसा दिँदा पनि उसले लिन मानेन ।
भन्यो— “यो मेरो तर्फबाट तिमीहरुलाई
उपहार !”
सर्दार पुलिसले हामीलाई स्टेसनमै खानेकुरा
किनेर खुवायो । केही बेरमै रेल पनि आयो ।
हामी बिदा हुन खोज्यौं । सर्दार पुलिसले ‘म
पनि जाने हो, सँगै जाऔं’ भन्यो । हामी सँगै
रेलभित्र छिर्यौं । पैसा माग्ने रेल पुलिसले आँखा
तरेर हेरिरह्यो ।
रेल गुडेपछि ढोकामा आएर रेल पुलिसलाई हातले
लोप्पा खुवाउँदै आफ्नो कम्मरमुनि ‘इस्’ भनेर
देखायौं । रेलको गति बढिसकेको थियो ।
सर्दार पुलिसले हामीलाई स्टेसनैपिच्छे केके
किनेर खुवाउँदै थियो— कहिले फलपूmल, कहिले
जेरी, कहिले समोसा । हामीलाई कताकता
शङ्का पनि लाग्न थाल्यो— यो सर्दार
पुलिसले हामीलाई फसाउन लागेको होइन ?
टिकटको पैसा पनि लिएन । फेरि कहिले के
खुवाउँछ कहिले के । यत्रो पैसा खर्च गरिसक्यो

हाम्रो मनमा पाप पनि पलायो— कोही
सर्दारजीहरुले त लोग्ने मान्छेको मलद्वारमा
पनि सम्भोग गर्छन् रे । कतै यसले हामीलाई
फकाएर मलद्वारमा सम्भोग गर्ने सुर गरेको त
होइन ?
नेपाली भाषाबाट बोल्यो भने सर्दार पुलिसले
बुझ्ला कि भन्ने शङ्का गरेर राजु भुजू र मैले
नेवारीमा कुरा गर्यौं— ‘यसले हामीलाई
फसाउन त खोजेको होइन ? हामीलाई पछाडि
केही गर्न खोजेको त होइन ?’
हामीले नेवारीमा कुरा गरेको सुनेर सर्दार
पुलिसले ‘के भाषामा कुरा गरेको’ भनी सोध्यो
। हामीलाई झन् शङ्का लाग्यो । अनि हामी
पनि ‘यो सर्दारले हामीलाई केही गर्ला, सतर्क
हुनुपर्छ है’ भन्न थाल्यौं । त्यसपछि उसले खान
दिएको कुरा पनि पेट भरिएको छ भनेर खान
मानेनौं ।
गोरखपुरमा रेल आइपुग्यो । त्यहाँबाट
नौतनवासम्म जिपमा जानुपर्ने रहेछ । त्यो
सर्दार पुलिस पनि जिपभित्र पस्यो । फेरि
पनि भाडा उसैले तिरिदियो । अब त नेपालको
सिमाना नजिकनजिक आउँदै थियो । केही
पर्यो भने हामी पनि जाइलागौंला भन्ने
हिम्मत आयो ।
जिपबाट ओर्लेर भैरहवा जान तीनवटा रिक्सा
सर्दार पुलिसले नै रोक्यो । हामी एउटा
रिक्सामा दुई जनाको दरले बस्नुपर्यो । राजु
भुजू फुत्त अर्को साथीसँग बस्न गयो । म सर्दार
पुलिससँग परें । अब म केही पर्यो कि
रिक्साबाट हामफालेर भाग्छु भनेर सतर्क भएर
बसें । सर्दार पुलिसले मलाई ‘राम्रोसँग बस,
रिक्सा चढ्दा यस्तो डराउनु पर्दैन’ भन्यो ।
रिक्सा भैरहवाको गेट पार गरेर नेपालभित्र
छिर्यो । मैले “नेपाल आमाकी” भनें । पछाडि
रिक्सामा बस्ने साथीहरुले “जय…” भनेर कराए ।
सर्दार पुलिससँग अब त ठ्याक्कै डर लागेन ।
साल्ट टे«डिङअगाडि रिक्सा रोक्यो ।
सर्दार पुलिसले मायालु भावले सम्झाउने
शैलीमा भन्यो— “ल, मेरो यहाँ साल्ट
ट्रेडिङमा काम छ । तिमीहरु जाओ । इन्डिया
जाँदा फटाहाहरु धेरै फेला पर्छन् । सतर्क हुनुपर्छ
।”
हामीले उसको नाम सोध्यौं— एसके सिंह रहेछ ।
भारतीय भनेका सबै नराम्रा हुँदा रहेनछन् ।
यस्ता देवता जस्ता पनि भारतीय हुँदा रहेछन्
भन्ने थाहा भयो । बरू हामीलाई भारतको
स्टेसनभित्र बिनाटिकट छिराउने नेपाली
दलालको अनुहार झलझली याद आइरह्यो । अनि
हामीले सर्दार पुलिसमाथि गरेको शङ्काप्रति
थकथक लागिरह्यो ।
म पोखरामा रोधीघर सांस्कृतिक कार्यक्रम
देखाउने सिलसिलामा अरूणा लामा दिदी,
गोपाल योञ्जन दाइ, कुमार बस्नेत दाइहरुसँगै
थिएँ । रेडियोले एसएलसीको रिजल्ट भएको
समाचार फुक्यो । त्यतिखेर गोरखापत्रमा
मात्र रिजल्ट प्रकाशित हुन्थ्यो । पोखरामा
गोरखापत्र साँझतिर आइपुग्दो रहेछ । त्यस बखत
फोन सबैको घरमा थिएन । मैले छिमेकीको
घरमा फोन गरेर ‘बिन्दु दिदीलाई बोलाइदिनुस्
न, म एकछिनपछि फोन गर्छु’ भनें । दस–पन्ध्र
मिनेटपछि फोन गरेको त दिदीले भनिन्—
“गधा ! पास भएछस् । थर्ड डिभिजन आएछ तेरो
।”
मलाई त पास हुनु भनेको थर्ड डिभिजन होइन,
बोर्ड फस्ट आए जस्तो भयो । खुसीले वाकवाक
लागेर ट्वाइलेटै जानुपर्यो । कुमार दाइ, गोपाल
योञ्जन दाइ, अरूणा लामा दिदी सबैले बधाई
दिए ।
कहिलेकाहीँ रिजल्ट भएको भोलिपल्ट
‘भुलसुधार’ भनेर गोरखापत्रमा आउँछ । त्यसमा
कोही पास भएका फेल हुन्छन्, कोही फेल भएका
पास पनि हुन्छन् । नक्सालकै एक जना एकदमै
पढैया मान्छे फेल भएछन् र त्यही दिन झुन्डिएर
आत्महत्या पनि गरेछन् । तर भोलिपल्ट
भुलसुधारमा ‘प्रथम श्रेणीमा पास’ भनेर
निकाल्यो । मेरो भने भोलिपल्ट भुलसुधारमा
फेल भनेर निस्कने पो हो कि भनेर खुब डर लागेको
थियो तर निस्केन । म पास भएको भयै भएँ ।
म सरस्वती कलेजमा कमर्स पढ्न भर्ना भएँ ।
हिसाब भन्यो कि सधैं पिसाब आउनेले कसरी
कमर्स पढ्ने ? पढ्नै सकिनँ । रत्नराज्य कलेजमा आईए
पढ्न फेरि भर्ना भएँ । गोपी मैनाली अहिले
राष्ट्रिय योजना आयोगका सहसचिव छन् ।
उमेरमा मभन्दा उनी कान्छा छन् । मलाई पढाउन
उनी धोबीधाराको मेरो डेरामै बसे तर सकेनन् ।
धन्य, उनको भाग्य रहेछ । मेरो डेरामै प्रायः
बस्ने राजु भुजू, राजाराम पौडेलको सङ्गतले
उनीचाहिँ बिग्रेनन् ।

(चर्चित हाँस्यव्यंग्य कलाकार हरिवंश
आचार्यको पुस्तक ‘चिना हराएको मान्छे’ बाट)



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...