नेपालमा स्वास्थ्य विमा, बिमा गरेकाले औषधि नै नपाएको गुनासो

Published Date: February 9, 2018

निःशुल्क औषधि र स्वास्थ्य उपचारमा नागरिकको सहज पहुँच पु-याउन सरकारले ल्याएको स्वास्थ्य बिमा कार्यक्रम जिल्लामा प्रभावकारी बन्दै गएको छ । उपचारका वेला आर्थिक भार कम हुने भएकाले स्वास्थ्य बिमाप्रति नागरिकको आकर्षण बढिरहेको बेला  जिल्लाका अधिकांश स्थानीय तहले मातहतका स्वास्थ्य संस्थामा औषधि किन्ने रकम नदिँदा औषधि अभाव हुन थालेको छ । जसले बिमित नागरिकले निःशुल्क पाउनुपर्ने औषधि प्राप्त गर्न नसकेको नयाँ पत्रिका दैनिकले छापेको छ  ।

सो पत्रिकाका अनुसार दमौली अस्पतालमै  विमा गरेकालाई दिने औषधि अभाव भएको अस्पताल प्रशासनले जनाएको छ ।

तनहुँका स्वास्थ्य विमा गरेका नागरिकले अस्पतालबाट पाउनुपर्ने निःशुल्क औषधि सरकारले सिफारिस गरेको अस्पतालमा अभावका कारण प्राप्त गर्न सकेका छैनन् । दमौली अस्पतालको फार्मेसीमा औषधि अभाव भएको कारण निःशुल्क पाउनुपर्ने औषधि नपाएको बताएका छन् ।

 

उनीहरूले पाउनुपर्ने औषधि फार्मेसीबाट नपाएपछि निजी क्लिनिकबाट खरिद गर्ने गरेका छन् । यो समस्या जिल्ला अस्पतालको मात्रै नभएर जिल्लाका बन्दीपुर अस्पताल, जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र, भिमाद प्राथमिक स्वास्थ्य केन्द्र र पुरनडिही स्वास्थ्य चौकीमा समेत रहेको बिमितको गुनासो छ ।

सबैलाई औषधि दिन सकिएन : अस्पताल 
अस्पतालको फार्मेसीमा औषधिको अभाव भएको कारण सबै बिमितलाई निःशुल्क औषधि उपलब्ध गर्न नसकिएको जिल्ला स्वास्थ्य कार्यालय तथा दमौली अस्पतालका डाक्टर पवनजंग रायमाझीले बताए ।

‘विगतमा जिल्ला स्वास्थ्य कार्यालयले नै औषधिको टेन्डर गरेर औषधि खरिद गर्ने व्यवस्था थियो, यस वर्ष सबै बजेट स्थानीय तहमा गयो,’ उनले भने, ‘त्यसैले नगरपालिकाबाट औषधि खरिदका लागि पर्याप्त बजेट नपाउँदा औषधि उपलब्ध गराउन सकेनौँ ।’

अस्पतालको अनुरोधपछि केही दिनअघि नगरपालिकाले औषधि खरिदका लागि पाँच लाख रुपैयाँ उपलब्ध गराएको थियो । तर, सो औषधि एक सातामै सकिएको डा. रायमाझीले बताए । दमौली अस्पताललगायत जिल्लाका प्रायः सबै स्वास्थ्य चौकीमा अहिले निःशुल्क वितरण गरिने र अत्यावश्यक औषधिको अभाव भएको अस्पतालले जनाएको छ ।

दमौली अस्पताल लगायत बन्दीपुर अस्पताल, जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र, भिमाद प्राथमिक स्वास्थ्य केन्द्र र पुरनडिही स्वास्थ्य चौकीलाई स्वास्थ्य बिमितका लागि औषधि उपलब्ध गराउन सरकारले केन्द्र तोकेको हो ।

स्थानीय तहले पर्याप्त मात्रामा बजेट विनियोजन नगर्दा औषधिको अभाव भएको अस्पतालको भनाइ छ ।

सरकारले नै बजेट कम दियो : स्थानीय तह
व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले सरकारले कम बजेट दिँदा स्थानीय तहले कम बजेट विनियोजन गरेको बताए । स्थानीय तहलाई सरकारले विनियोजन गरेको बजेट कम हुँदा स्थानीय तहले मागअनुसारको औषधि खरिदका लागि बजेट उपलब्ध गराउन नसकेको न्यौपानेले बताए ।

‘नगरपालिकामा औषधि खरिदका लागि जम्मा नौ लाख विनियोजन गरेको र पाँच लाखको औषधि खरिद गरे पनि समस्या अझै पूर्ति भएको छैन,’ उनले भने, ‘अब भएको चार लाखको औषधि खरिदले नपुग्ने हुँदा बजेटका लागि पहल गर्दै छौँ ।’

दमौली अस्पतालमा दैनिक १५ जनाभन्दा बढी स्वास्थ्य बिमा गर्ने सेवाग्राही उपचारका लागि आउने गरेको अस्पतालले जनाएको छ ।

जिल्लाभर २७ हजार दुई सय ३२ जनाले स्वास्थ्य बिमा गरेका छन् । सबैभन्दा धेरै शुक्लागण्डकी नगरपालिकाका सर्वसाधारणले बिमा गरेका छन् भने सबैभन्दा कम देवघाट गाउँपालिकाका नागरिकले स्वास्थ्य बिमा गरेका छन् ।

राज्यले गत आर्थिक वर्ष ०७२/७३ देखि सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत स्वास्थ्य बिमाको कार्यक्रम सुरुवात गरेको थियो । पहिलो वर्ष कैलाली, इलाम र बाग्लुङ जिल्लाबाट सुरु गरिएको कार्यक्रम आर्थिक वर्ष ०७३/७४ मा तनहुँसहित थप २५ जिल्लामा सुरु गरिएको थियो ।

परिवारमा आधारित यो कार्यक्रममा पाँचजनासम्मको एउटा परिवारले वार्षिक दुई हजार पाँच सय रुपैयाँ तिरेर बिमा गर्न सक्नेछन् । बिमितले एक वर्षभित्रमा ५० हजारसम्मको प्रिमियम तिरेमा उपचार र औषधि निःशुल्क उपलब्ध गराउने प्रावधान छ ।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...