पहिलेको अस्कल र अहिलेको अस्कल!

Published Date: February 10, 2018

काठमाडौँ — पहिले अस्कल उज्यालो थियो, अहिले अस्कल मलीन भएको छ । किनकि, पहिले अस्कलको ज्ञानचक्षु खुलेको थियो, अहिले अस्कलको चर्मचक्षु मात्र चम्केको छ । यसअघि अस्कलको रङ खैरो–खैरो थियो, अहिले राताम्मे भएको छ ।

अस्कल अर्थात् अमृत साइन्स कलेज । राजधानीको लैनचौरस्थित अस्कलमा त्यसबखत जो कोहीले आईएस्सी पढ्ने हिम्मतै गर्दैनथे । हिम्मत र चाहना भएकाहरूले पनि त्यहाँ प्रवेश पाउन महाभारतै पथ्र्यो । किनकि, एसएलसीमा बोर्ड फस्टदेखि फस्ट डिभिजन ल्याउने मेधावी छात्रछात्राले मात्र ‘मेरिट बेस्ड’मा भर्ना पाउँथे ।
एसएलसीपछि डाक्टर, इन्जिनियर बन्न चाहनेहरूले आईएस्सी (इन्टरमिडियट अफ् साइन्स) पढ्न अस्कल, त्रिचन्द्र र पाटन संयुक्त क्याम्पसमा फर्म बुझाउने परम्पराजस्तै थियो । पाएसम्म अस्कल, नपाए त्रिचन्द्र, त्यो पनि नपाए पाटनमा भर्ना भएर विज्ञान पढ्थे करिब ३ दशकअघिसम्म विद्यार्थीहरू । तर, अहिले त्यो अस्कल कहाँ छ नयाँ पुस्ताका धेरैलाई पत्तै छैन ।

आईएस्सी र आकर्षण
त्यसबेला अस्कलमा आईएस्सी पढ्नेका लागि खुबै आकर्षण थियो । तर २०६५ सालयता आईएस्सी ‘फेज आउट’ भएकाले त्यो ‘क्रेज’ अब रहेन ।
आईएस्सीको त्यो ‘क्रेज’ अहिले बीएस्सी/एमएस्सीको किन भएन त ? विद्यार्थी संख्यामा कमी भयो कि ? प्राध्यापकको ध्यान पुगेन कि ? अत्यधिक राजनीतिले असर गर्‍यो कि ? के भएर आकर्षण भएन त ? क्याम्पस प्रमुख राजेश महाजु भन्छन्, ‘एमएस्सी फिजिक्समा राम्रो छ । टप पनि गरेको छ । तर, सेमेस्टर प्रणालीले गर्दा गणित पढ्ने एक जना पनि विद्यार्थी छैनन् ।’
करिब १ हजार ५ सय विद्यार्थी अध्ययनरत अस्कलमा कम्प्युटर साइन्स एन्ड इन्फर्मेसन टेक्नोलोजी र एमएस्सी फिजिक्सबाहेक जीव विज्ञान, वनस्पति विज्ञान, सूक्ष्म जीवविज्ञान र वातावरण विज्ञानले विद्यार्थीलाई आकर्षण गर्न सकेको छैन । बीएस्सी पहिलो वर्षमा भर्ना भएका ३ सय विद्यार्थीमध्ये चौथो वर्षमा पुग्दा घटेर १८० जनामा झर्छ । ‘ड्रप आउट’ दर एकदमै बढी छ । विद्यार्थीले विज्ञानको भविष्य नदेखेपछि आकर्षण घट्दो छ । २०७२ पछि अस्कल प्रशासनले शिक्षक र कर्मचारीलाई अनिवार्य हाजिरको व्यवस्था कडाइसाथ गरेकाले पढाइको गुणस्तर केही सुध्रिएको बताउँछन् सहायक क्याम्पस प्रमुख रवीन्द्रसिंह महत ।

पस्कल अनि अस्कल
२०१३ असोज १ गते विश्वकर्मा पूजाका दिन पब्लिक साइन्स कलेज/पस्कल आधारभूत रूपमा विज्ञान मात्र पढाउने कलेजका रूपमा स्थापना भएको थियो । मुलुककै पहिलो त्रिभुवन विश्वविद्यालयभन्दा ३ वर्षअघि स्थापित यो कलेजको आफ्नो भवन नभएकाले सुरुमा त्रिचन्द्र कलेज हाताभित्र बिहानी सत्रमा आईएस्सी कक्षा सञ्चालन गरिएको थियो ।
त्यसबेला निजी क्षेत्रबाट साइन्स कलेज सञ्चालन गर्नु चानचुने कुरा थिएन । ‘जहाँ इच्छा त्यहाँ उपाय’ भनेझैँ अमृतप्रसाद प्रधानले कलेज सञ्चालन गर्ने इरादा लिए र साकार गरी छाडे । प्रधानले आफूसितै त्रिचन्द्रमा पढाउने साथी र केही बाहिरका पनि मन मिल्नेहरूसित सल्लाह गरी कलेज सञ्चालक समिति/बोर्ड अफ गभर्नर गठन गरे । तिनमा पहिलो प्रिन्सिपल तोकिए— प्रा. फणीन्द्रप्रसाद लोहनी । प्रा. यदुनाथ खनाल, इ. कुलरत्न तुलाधर, अनङ्गमान शेरचन, परासरनारायण सुवाल, ब्रह्मदत्त पाण्डे, शिवशंकर सिंह, शंकरप्रसाद प्रधान, प्रा. प्रसन्नमानसिंह प्रधान, सरदार भीमबहादुर पाँडे, डा. रघुवर वैद्य र सचिवमा प्रा. अमृतप्रसाद प्रधान थिए । यही टोलीले निजी क्षेत्रबाट सञ्चालित पस्कलको नेतृत्व गरेको थियो ।
पस्कलका पहिलो प्रिन्सिपल लोहनी त्रिचन्द्र कलेजका पनि प्रिन्सिपल भएकाले एकै व्यक्तिले दुई ठाउँमा प्रिन्सिपल हुन नपाउने हुँदा पस्कल सञ्चालक समितिले २०१८ सालमा अमृतप्रसाद प्रधानलाई प्रिन्सिपल नियुक्त गर्‍यो ।
अमृतप्रसाद प्रधानले कलेज सुरु भएकै दिनदेखि नयाँ भवन निम्ति जग्गा खोजी गर्न थाले । र, अन्तमा ठमेल भगवानबहालस्थित आफ्नै परिवारको अर्थात् प्रधानहरूको गुठीको साढे ७ रोपनी जग्गामा भवन निर्माण गर्ने निधो गरे । अनि आफ्नै अगुवाइमा नयाँ भवन निर्माण गरी २०१९ सालमा पस्कललाई त्रिचन्द्र कलेजबाट ठमेल/लैनचौर सारे । त्यसबेलासम्म प्रिन्सिपल प्रधानले छात्रावासका लागि उत्तरपट्टिको साढे १५ रोपनी जग्गा पस्कलको नाममा दर्ता गराइसकेका थिए । तर प्रधान गुठीको जग्गा भने अहिले पनि गुठीकै नाममा छ ।
अमृतप्रसादको नेतृत्वमा पस्कल चम्किँदै थियो । तर नियतिको खेल । प्रिन्सिपल प्रधान अमेरिका जाने क्रममा भारतको नयाँदिल्लीबाट उडेको हवाइजहाज २०२२ माघ ११ गते स्विट्जरल्यान्डको माउन्ट ब्ल्याङ्कमा दुर्घटनाग्रस्त भयो । र, त्यसमा परी उनको निधन भयो । उक्त दुर्घटनामा भारतका प्रसिद्ध अणु वैज्ञानिक होमी जहाँगीर भाभा पनि परेका थिए ।
उनको निधनको अर्को वर्ष अर्थात् २०२३ वैशाखमा पस्कलको नाम अस्कल राख्ने सरकारले निर्णय गर्‍यो । पस्कल अनि अस्कल भयो ।

किन घट्यो अस्कलको साख ?
कुनै बेला मुलुककै प्रतिष्ठित साइन्स कलेजको साख किन घट्यो भनी खोजी नहुनु दु:खको कुरा हो । अमृतप्रसाद प्रधानपछिका प्रिन्सिपल नारायणहरि जोशी भन्छन्, ‘नयाँ शिक्षा नीतिसँगै स्तर खस्किन थालेको हो । नयाँ शिक्षा लागू हुनुअघिसम्म क्याम्पस स्वायत्त थियो । क्याम्पस व्यवस्थापन समितिसँगको सहमतिमा प्रिन्सिपलको नेतृत्वमा प्रशासन चल्थ्यो । शिक्षक, कर्मचारी राख्नेदेखि समूह कक्षा (ग्रुप क्लास) सम्म सबैको नेतृत्व प्रिन्सिपलले नै गर्नुपथ्र्यो ।’ २०२३–०३३ सालसम्मका क्याम्पस प्रमुख जोशीका अनुसार नयाँ शिक्षासँगै क्याम्पस त्रिभुवन विश्वविद्यालय (त्रिवि) मातहत गयो । त्रिविले तालिमबिनाका शिक्षक पठाउन थाल्यो । जथाभाबी कर्मचारी आए । समूह कक्षा बन्द भयो । अति राजनीतीकरणले पढाइको स्तर चौपट हुँदै गयो ।
यदि अस्कलको साख फर्काउने हो भने प्राध्यापकहरूकै सञ्चालक समिति गठन गरी स्वायत्तता कायम पहिलो सर्त हुनुपर्छ । कलेजलाई स्वायत्त बनाएर समर्पित शिक्षक राखेपछि मात्र पढाइको स्तर पढ्छ । विगतको आईएस्सीको जस्तै अहिले बीएस्सीको साख कायम गर्न कलेजको स्वायत्तता र समर्पित शिक्षकबिना असम्भव देख्नछन् नारायणहरि जोशी ।
पस्कल स्थापनाको समयमा त्रिचन्द्र कलेजमा बीएस्सीसम्म नि:शुल्क पढाइ हुन्थ्यो । नि:शुल्क पढ्न पाउँदा–पाउँदै कसले पैसा तिरेर पढोस् ? यसर्थ सुरुका केही वर्ष त पस्कलमा विद्यार्थी नै भएनन् । तर, स्वायत्त रूपमा समर्पित शिक्षकहरूले सञ्चालन गरेको कलेजलाई विद्यार्थी संख्या बढाउन र आर्थिक अभाव हटाउन धेरै समय नै लागेन । स्थापनाको एक दशक पनि नबित्दै मुलुककै स्तरीय विज्ञान पठनपाठनको केन्द्र बन्यो पस्कल । अनि २०३० सालसम्म त्यो गुणस्तरमा कुनै कमी आएन ।
तर, अहिले त्यस्तो स्तरीय इतिहास बोकेको अस्कल आफूले प्रयोग गरेको बिजुली र पानीको पैसा पनि तिर्न नसक्ने गरी ‘टाट पल्टने’ अवस्थामा पुगिसकेको छ । सहायक क्याम्पस प्रमुख रवीन्द्रसिंह महत भन्छन्, ‘बैंकिङ समस्या भएको भए यो टाट उल्टिसक्थ्यो ।’ उनका अनुसार क्याम्पसले होस्टलमा प्रयोग गरेको ५० लाख रुपैयाँ बिजुलीको बिल अझै तिर्न बाँकी छ । पानीको ३८ लाख रुपैयाँ तिर्न बाँकी छ । धेरै वर्षदेखि यो वक्यौता थेग्रिँदै आएको क्याम्पस प्रशासनले जानकारी दियो ।
अहिले मुलुकभरि त्रिविका सम्बन्धन प्राप्त र आंगिक क्याम्पसहरूको हालत अस्कलकै जस्तो छ । भौतिक पूर्वाधार हुँदाहुँदै पनि तिनीहरूले स्तरीय पठनपाठन गर्न/गराउन सकिरहेका छैनन् । कारण उही र उस्तै छन्— क्याम्पसहरू स्वायत्त छैनन् । त्रिविले जे गर् भन्यो त्यही गर्न बाध्य हुनुपर्छ । समर्पित र तालिम प्राप्त शिक्षकको अभाव छ । नि:शुल्क शिक्षाको नाउँमा उच्च शिक्षालाई बिनाकामको बनाइएको छ । क्याम्पसहरूलाई यस्तो दलदलबाट जोगाउन अब त्रिविले एउटा दह्रो निर्णय लिन आवश्यक छ । उसले आफू मातहतका सबै क्याम्पसलाई स्वायत्त भएको घोषणा गर्न जति ढिलाइ गर्छ उति नै यो समस्या विकराल बन्दै जान्छ ।
६ दशकअघि निजी क्षेत्रमा खुलेको ‘अस्कल’ कलेज सञ्चालनको जुन मोडल थियो अब त्यही मोडल ब्युँताउनुपर्छ । र, मुलुकभरि त्रिविअन्तर्गत रहेका कलेजहरूलाई संकटबाट बचाउनुपर्छ ।
नि:शुल्कको नाउँमा राज्यले उच्च शिक्षालाई थला पार्ने अहिलेको परिपाटी बन्द गर्नुपर्छ । राज्यले आफ्ना नागरिकलाई आधारभूत शिक्षा नि:शुल्क गर्ने हो । सबै तहको शिक्षामा होइन । नसक्ने तर मेधावी छात्रछात्राका लागि निश्चित कोटा छात्रवृत्ति दिनु उचित हुन्छ । यसका लागि पस्कल/अस्कल मोडलमै फर्कनुपर्छ । त्रिविलाई ‘सेन्टर अफ एक्सिलेन्स’ बनाउने सन्दर्भमा पूर्वउपकुलपति केदारभक्त माथेमाको कथन छ, ‘अब हामीले उच्च शिक्षा सञ्चालनमा अस्कल मोडल अपनाउन ढिलाइ गर्नु हुँदैन ।’
अस्कल मोडल भनेको कलेज आफ्नो प्रशासन चलाउन स्वायत्त हुन्छ । उसलाई शिक्षक, कर्मचारी राख्ने र हटाउने सबै अधिकार हुन्छ । मेरिट बेस्डमा विद्यार्थी भर्ना लिने र कलेज क्यालेन्डर बनाउने सबै उसैले गर्छ । शिक्षक, कर्मचारीलाई कति तिर्ने, विद्यार्थीसित कति लिने कलेज प्रशासन र व्यवस्थापन समितिले तय गर्छ । यसको अर्थ अस्कल मोडेल अहिलेका निजी कलेजहरूजस्ता नाफामुखी होइन । यस मोडलमा गएपछि कलेजलाई आवश्यक पर्ने रकम मात्र उठाउने गरिन्छ । यदि यस्तो मोडलमा नजाने हो भने उच्च शिक्षाको नाउँमा सञ्चालित ‘सेतो हात्ती’ का रूपमा रहेका सम्बन्धन प्राप्त क्याम्पसहरूको बोझ त्रिविले अब धान्न सक्दैन । यो मोडलमा गएपछि क्याम्पसहरूमा अहिले देखापरेका आर्थिक, राजनीतिक र शैक्षिक समस्या तथा अराजकताको अन्त्य हुने दाबी गर्छन् शिक्षाविद्हरू । अहिले अस्कलमा ७ वटा विद्यार्थी समूह सक्रिय छन् । तिनीहरूलाई पनि अस्कलको साख फर्काउनभन्दा आआफ्नै समूहको राजनीति गर्न भ्याइनभ्याइ छ । क्याम्पस प्रमुख महाजु भन्छन्, ‘शुल्क वृद्धि गर्न खोज्यो विद्यार्थी संगठनहरूले दिँदैनन् ।’ शुल्क वृद्धि नगरी अस्कलले गुणस्तर फर्काउन सक्ने कुनै गुञ्जायस छैन ।

को थिए अमृतप्रसाद प्रधान ?
नेपालमा विज्ञान शिक्षाका अगुवा थिए प्रधान । रसायनशास्त्रका प्राध्यापक अमृतप्रसाद प्रधान सुरुका २ वर्ष वीरगन्जस्थित त्रिजुद्ध पब्लिक हाइस्कुलका प्रधानाध्यापक भए । त्यसपछि उनले त्रिचन्द्र कलेजमा रसायनशास्त्रका उपप्रध्यापका रूपमा पढाउन थाले ।
१९७५ सालमा काठमाडौँको ठमेलमा जन्मेका प्रधानले विज्ञान र प्रविधिको माध्यमबाट मुलुकको विकास गर्ने अभिप्रायले निजी क्षेत्रबाट पहिलो साइन्स कलेज स्थापना गरेका थिए । उनले १९९८ सालमा कोलकाता विश्वविद्यालयबाट रसायनशास्त्रमा एमएस्सी गरेका थिए । र, २ वर्ष त्रिजुद्ध हाइस्कुल वीरगन्जमा प्रधानाध्यापक भई २००० सालबाट त्रिचन्द्र कलेजमा रसायनशास्त्र प्राध्यापन गर्न थालेका उनैको अग्रसरतामा अस्कल स्थापना भएको हो ।

उच्च ओहोदामा पुग्नेहरू
महावीर पुन (राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष तथा म्यागसेसे पुरस्कार विजेता), गणितज्ञ प्रा. भानुचन्द्र बज्राचार्य, गणितज्ञ प्रा. मनराजा जोशी, प्रा. दयानन्द बज्राचार्य (वनस्पतिविद्, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति), प्रा. तथा चिकित्सक उपेन्द्र देवकोटा, रसायनशास्त्री माधवप्रसाद बराल, इ. कुलमान घिसिङ (नेपाल विद्युत् प्राधिकरणका कार्यकारी अधिकृत), इ. डम्बर नेपाली (चिलिमे हाइड्रोपावरका अभियन्ता) लगायत विज्ञान र प्रविधिको क्षेत्रमा ख्यातिप्राप्त अन्य धेरै वैज्ञानिकहरू अस्कलले जन्माइसकेको छ । गणतन्त्र नेपालका पहिलो राष्ट्रपति डा. रामवरण यादव, पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल र डा. बाबुराम भट्टराई, पूर्वउपप्रधानमन्त्री तथा नेपाली कांग्रेस नेता प्रकाशमान सिंह, नेपाली सेनाका पूर्वप्रधानसेनापति रुक्मांगद कटवाल, पूर्व प्रहरी प्रमुख कुवेरसिंह राना, नेपाली कांग्रेसका नेता होमराज दाहाल, विवेकशील साझाका नेता किशोर थापालगायत थुप्रै नेता पनि अस्कलले जन्माएको छ ।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...