पशुपतिनाथमा हिन्दूलाई मात्र प्रवेश किन ?

- दीर्घराज प्रसाईं

Published Date: February 12, 2018

१ फागुन २०७४ महाशिवरात्रि परेको दिन हो । महाशिवरात्रि हिन्दूहरूको एक महत्वपूर्ण दिन हो । शिवरात्रिमा पशुपतिनाथ क्षेत्रमा असंख्य साधु, सन्त, तपस्वीलगायत हजारौं तीर्थयात्रीको उपस्थिति रहन्छ । यसपाली अधिकांश साधुहरूको आगमन भइसकेको छ । नेपालमा पशुपतिनाथ र शिपाडोलमा अवस्थित डोलेश्वर महादेवलगायत गोकर्ण, पिण्डेश्वर आदि शिव मन्दिरहरूमा भक्तजनको ठूलो संख्यामा उपस्थिति देखिँदो छ । पशुपतिनाथ र डोलेश्वर महादेवको अपरम्पार महिमा छ । डोलेश्वर महादेवलाई केदारनाथको शिरका रूपमा मानिएको छ । पशुपतिनाथमा हिन्दूलाई मात्र प्रवेश छ
पशुपतिनाथको मूल ढोकामा लेखिएको छ– ‘मन्दिरभित्र हिन्दूहरूलाई मात्र प्रवेश ।’ यसरी पशुपतिनाथजस्तो पवित्र धाममा हिन्दूलाई मात्र प्रवेश किन भन्ने प्रश्न उठ्ने गरेका छन् । यसको कारण छ कि १४०० सालतिर बंगालका नबाब सुल्तान समसुद्दिनले ३१ हजार मुसलमान पल्टन लिएर आक्रमक बनेर नेपालका मन्दिर तथा बिहारहरू ध्वस्त गर्दै जनकपुर, पनौती हुँदै पशुपतिनाथको मन्दिरसमेतमा आक्रमण गरे । त्यो संकटको समयमा अन्तिम लिच्छवी राजा जयर्जुनदेवको शासन कमजोर थियो । मुसलमानको आक्रमणले सारा हिन्दू तथा बौद्धहरूमा कोलाहल मच्चियो । त्यो अवस्थामा यस क्षेत्रलाई बचाउन पाल्पा, कास्की, गोरखा, लमजुङका राजाहरूको सहयोग लिएर खस राजा जयस्थिति मल्लले मुसलमान फौजमाथि आक्रमण गरे । ठूलो साहसका साथ जयस्थिति मल्लको नेतृत्वमा ३० हजार ४ सय मुसलमान फौज मारिए र ६ सयजति बाँचेर भागेका थिए भन्ने कुरा भक्तपुर तजेलु स्तम्भमा उल्लेख छ ।

मुसलमान आक्रमण असफल बनाएपछि जयस्थिति मल्ल काठमाडौं उपत्यकाको राजसिंहासनमा बसेर पशुपति क्षेत्रमा जीर्णोद्घार र पुनरुत्थान गरी बाग्मतीपारी राम मन्दिरको निर्माण गरे । त्यसका साथै ललितपुरमा कुम्भेश्वर महादेवको स्थापना गरी कोटीहोम गर्दै शुद्धशान्ति गरेर पशुपतिनाथको मन्दिरभित्र हिन्दू तथा बौद्धबाहेक अरूहरूको प्रवेश निषेध गर्ने नियम चलाए । राजा जयस्थिति मल्लले प्रतिपादन गरेको नियम हालसम्म कायमै छ ।
यद्यपि, पशुपतिनाथमा हिन्दूलाई मात्र प्रवेश भनिएको भएता पनि बौद्ध र हिन्दूबीचमा तादात्म्यता भएकाले बौद्ध उल्लेख गरिरहनु नपरेको हो । मन्दिरभित्र यसरी हिन्दूलाई मात्र प्रवेश गरेर पशुपतिनाथलाई संकीर्ण बनाइएको छ, धर्म भनेको सबैका लागि साझा मानिनुपर्छ भन्नेहरूले बुझ्नुपर्छ कि परम्परागत मान्यतालाई विचलित बनाएर मान्यतालाई तोड्न सकिँदैन । विश्वका सबै धर्मका परम्परालाई संविधान र कानुनभन्दा माथि मानिन्छ । कैयौं मस्जिद र चर्चहरूमा यसभन्दा कडा नियम लगाएका छन् । साउदी अरबमा शिवजीको फोटोसमेत बोक्न पाइँदैन । पाकिस्तानमा नै घोडाका टापको औंठी लगाएर हिड्ने हिन्दूहरू सुरक्षित हुन्नन् ।
धार्मिक परम्परालाई तोड्न सजिलो हुन्न । यो संविधानभन्दा माथि हुन्छ । संविधान फेरिरहन सकिन्छ तर परम्परागत नियमहरू बदल्न गाह्रो हुन्छ । पशुपतिनाथमा जेजस्ता नियम लागू छन्, तर्कसंगत ऐतिहासिक आधार नभई नियमहरू लागू भएका होइनन् । यस विषयले पछिका दिनमा नेपालमा ठूलो राजनीतिक परिवर्तन पनि हुन गयो, जसको चर्चा गरिनुपर्ने अत्यावश्यक छ । भारतीय प्रधानमन्त्री राजीव गान्धी नेपाल भ्रमणमा आएको बेला श्रीमती सोनिया गान्धी पनि सधैं भ्रमणमा आएकी थिइन् ।

राजीव गान्धीले पशुपतिनाथको दर्शन गरे तर सोनिया गान्धी क्याथोलिक–क्रिस्चियन भएकाले पशुपतिनाथको मन्दिरभित्र प्रवेश पाइनन् । त्यसबाट उनी आक्रोशित भएर त्यसबेलादेखि उनी नेपालमा हिन्दू अधिराज्य र राजसंस्थाप्रति नकारात्मक थिइन् । त्यसपछि राजीव गान्धीको हत्यापछि उनकी विधवा सोनिया गान्धी कंग्रेस (आई) की अध्यक्ष बनेपछि कंग्रेस (आई) को सरकारले अनेकौं उपाय रचेर नेपालकै पार्टीका केही नेतालाई आफ्नो प्रभावमा लिएर ७ मंसिर २०६२ मा १२ बुँदे सहमतिमा नेपालका नेताहरूलाई हस्ताक्षर गराएर नेपाललाई सताउन जनआन्दोलनमा सरिक गराई त्यसैको आधारमा धर्मनिरपेक्ष, गणतन्त्र लाद्न भारत सरकारका परिचरहरू सक्रिय भएका थिए ।
विदेशी आक्रमण र राजनीतिक षड्यन्त्रमा नेपाल पटक–पटक फसेको छ । तर प्राचीनकालदेखि सार्वभौम भूमिका रूपमा सुरक्षित हुँदैआएको नेपालको विश्वमा ठूलो प्रतिष्ठा छ । भारतमा चार धाम प्रसिद्ध छन् भने नेपालमा पशुपतिनाथ, स्वयम्भूनाथ, मुक्तिनाथ, गोसाइँकुण्ड, बराहक्षेत्र, जनकपुरधाम, लुम्बिनी, बौद्धनाथ धामजस्ता प्रसिद्ध धामहरू छन् ।

नेपालमा रहेका धाम र पवित्र मन्दिर अनि सयौं तीर्थस्थलहरूका साथै यहाँको सभ्यता र सांस्कृतिक वैभवहरूको विश्वव्यापी मान्यता छ । हिमवत् खण्डका स–साना टुक्रामा विभाजित ५४ भन्दा बढी हिन्दू राज्यलाई गोर्खाका राजा पृथ्वीनारायण शाह र त्यसपछि उनका कान्छा छोरा बहादुर शाहको नेतृत्वमा एकीकृत गरी त्यो बेलादेखि नेपाल विश्वको नैं एक मात्र हिन्दू अधिराज्य स्थापित हुन सकेको हो ।
वशिष्ठ ऋषिले हिमवत्खण्डका बारेमा उल्लेख गरेका थिए– ‘भारतखण्डे उत्तरायणे हिमवत्खण्डे पूण्यभूमि–स्वर्णभूमि’–(वशिष्ट उपनिषद्) । कैलाश मानसरोवर शिवजीको क्रीडा तथा तपस्थान हो । यो क्षेत्र पनि हिमवत्खण्डको भूभाग हो । मानवकल्याणका लागि विषलाई आफ्नो कण्ठमा राखी त्यसको डाहाबाट मुक्त हुन त्रिशूलबाट जल निकाली कुण्ड बनाई त्यही कुण्डमा विराजमान भएकाले गोसाइँकुण्डको पनि ठूलो महिमा छ । अठार पुराण सबैमा शिवको महिमा छ र शिव पुराण शिवजीको बयानको वृत्तान्त हो । हिमवत्खण्डको पुस्तकमा मरिची, पुलह, ऋतु, भृगु, अत्री आदि ऋषिले पशुपतिनाथको पूजा गरेर बसेको उल्लेख छ । त्यसो भएकाले नेपाललाई देवभूमि भनिन्छ ।
पशुपतिनाथका पुजारीका सम्बन्धमा प्रताप मल्लले कर्नाटकको राजासँग सम्पर्कमा जाँदा कर्नाटक राजाले सहयोगीका रूपमा तान्त्रिकहरू ज्ञानानन्द र लुम्मकर्ण भट्ट नेपालमा आएका र पछि तिनै तान्त्रिक भट्टहरूको मागअनुसार भट्टहरू पशुपतिनाथका पुजारी बनाइएको हो । अहिलेसम्म पशुपतिनाथको मन्दिरमा मूल भट्टसहित दक्षिण भारतका चार जना भट्ट पुजारी र १०६ जना नेवार भण्डारीहरू छन् । पशुपति क्षेत्र देवपतनमा जन्मिएका भण्डारीहरूलाई मात्र पशुपतिनाथको पूजामा चलाइन्छ ।

भण्डारीहरू गृहस्त हुन्छन् । पशुपतिनाथको क्षेत्रफल २६४ हेक्टर भूभाग छ र यस क्षेत्रभित्र ५१८ वटा मन्दिर र धार्मिक स्मारक छन् । दक्षिणका तैलिंग ब्राम्हण पशुपतिनाथको पुजारी हुनुपर्ने परम्परा छ । ऋग्वेद वा साम्वेदी हुन सक्छन् । ३ सय वर्षअघिदेखि प्रचलनमा आएको परम्परामा आधारित पशुपतिका पुजारी भारतीय हुन् भनेर भन्नुभन्दा जबर्जस्त नेपाली नागरिक बनेका भारतीयको संख्यात्मक चासो राख्नु राम्रो हुन्छ ।
भारतका कैयौं मन्दिर तथा धामहरूमा नेपाली पुजारीहरू रहने व्यवस्था रहेको कुरा पनि ख्याल गर्नुपर्छ । यथार्थतालाई कुल्चिएर निकास निस्कन सक्तैन । महाभारतकालमा युद्धको समाप्तिपछि हिमाल जाँदा पाण्डवहरूले प्रायश्चितस्वरूप पशुपतिनाथको पूजा गरेका र लिच्छवी वंशका पहिला राजा ‘विक्रमादित्य’को उपाधि धारण गरेर ‘वैशालाधिपति’को रूपमा पशुपतिनाथ र बज्रयोगिनीको तपस्या गरी शक्ति प्राप्त गरेर बत्तीसपुतलीमा आफ्नो सिंहासन कायम गरेका र विक्रम संवत् चलाएका थिए ।

भारतीय प्रधानमन्त्री राजीव गान्धी नेपाल भ्रमणमा आएको बेला श्रीमती सोनिया गान्धी पनि सधैं भ्रमणमा आएकी थिइन्। राजीव गान्धीले पशुपतिनाथको दर्शन गरे तर सोनिया गान्धी क्याथोलिक–क्रिस्चियन भएकाले पशुपतिनाथको  मन्दिरभित्र प्रवेश पाइनन्

उनैबाट कासीमा विश्वनाथको मन्दिर स्थापना गरिएको कुरा देवमाला वंशावली र हिमवत्खण्डमा उल्लेख छ । लिच्छवी राजाहरूमध्ये मानदेव प्रथमले ३८९ संवत्मा पशुपतिनाथप्रति भक्ति गरेर आफ्नी आमाको विक्रान्ति मूर्ति स्थापना गरेको लिच्छवीकालीन अभिलेखमा पाइन्छ । सन् १९७९ देखि युनेस्कोले पशुपतिनाथ गुह्येश्वरीलगायत लगभग चार हेक्टर जमिनलाई अत्यन्त संवेदनशील कोर क्षेत्रमा राखेको छ ।
नेपालका हिमाल, पहाड र तराईका हरेक क्षेत्र पवित्र नदीहरू, ताल, धाम, जंगल, भूभागले सिञ्चित छन् । उता भारतखण्डमा हजार वर्षसम्म मुसलमान र अंग्रेजी साम्राज्यले हिन्दू र बौद्धका अस्मिताहरू तोडफोड गरेर बिटुलो बनाएर आफ्नो भाषा, धर्म र संस्कृति लाद्ने काम गरे । तर, हिमवत्खण्ड नेपाललाई कुनै विदेशीले आक्रमण गर्न सकेनन् ।
त्यसैले, यो देवभूमि सुरक्षित रहिरह्यो । नेपाल तथा भारत हिन्दूधर्म दर्शनको उद्गम हो । तर सयौं वर्षदेखि भारतका सांस्कृतिक मूल्य र मान्यतालाई पराई धर्मावलम्बीहरूले नष्ट गर्दै आएता पनि यो पूण्यभूमिलाई परचक्रीहरूले बिटुलो बनाउन सकेनन् । हिन्दू तथा बौद्धहरूले अमरनाथ, विश्वनाथ, कैलाश–मानसरोवरलाई शिवजीको तपोभूमिका रूपमा मान्छन् । पशुपतिनाथलाई शिव, महादेव, किराँतेश्वर, शंकर, शम्भू, ज्योतिर्लिंग आदि विभिन्न नामले पुकार्ने गरिन्छ । हिन्दू र बौद्धको धाम नेपाल हो । निधारमा टीका लगाउनु हिन्दू र बौद्धहरूको पहिचान हो भने ‘ओम् नमः शिवाय’ र ‘ओम् मणि पद्ये हुम्’ हिन्दू र बौद्धको मन्त्र हो । जस्तोसुकै परिवर्तन भएता पनि हाम्रा धाम र मन्दिरहरूको परम्परागत मान्यता तोडेर आफ्ना पहिचान गुमाएर
बस्न सकिँदैन ।
महाशिवरात्रिको अवसरमा नेपाल, भारत र संसारका विभिन्न मुलुकबाट लाखौं तीर्थयात्रीहरू, साधु–सन्त र भक्तजनहरूको हरेक साल उपस्थिति रहन्छ । संसारका विभिन्न देशका हिन्दूहरू शिवरात्रिको उपलक्ष्यमा संसारमा रहेका शिव मन्दिरमा पूजाअर्चना आराधना गर्दै जाग्रम बस्छन् । पूर्वमा ब्रह्मपुत्र, पश्चिममा हिन्दूकुश, उत्तरमा कैलाश–मानसरोवर–हिमालय र दक्षिणमा गंगासम्मको भूभाग हिमवत्खण्ड हो भने गंगादेखि हिन्द महासागरसम्मको क्षेत्र भरतखण्ड हो ।

यी दुवै महाभूभागमा शिवरात्रि पर्वलाई हरेक हिन्दूले आत्मसात गर्छन् । पशुपतिनाथका अनेकौं जात्रामध्ये शिवरात्रि, बालाचतुर्दशी, साउने सोमबारहरू अति नै प्रिय मानिन्छन् । शिवरात्रिमा विश्वभर छरिएर रहेका हिन्दू तथा खास गरेर नेपाल र भारतका लाखौं साधु–सन्तलगायत हिन्दू धर्मावलम्बीहरू पूजाअर्चना र दर्शनका लागि आउँछन् । आराध्यदेव पशुपतिनाथको पूजाअर्चना गर्नु आस्तिकहरू आत्मगौरव मान्छन् भने नास्तिकहरू यसलाई परम्परागत अस्तित्व ठान्छन् ।

– राजधानी दैनिकमा प्रकाशित लेख



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...