इजरायली प्रधानमन्त्री वेन्जामिन नतान्याहु र प्रहरीबिच टस्सल

Published Date: February 14, 2018

जेरुशलेम, १४ फेब्रुवरी । इजरायली प्रहरीले प्रधानमन्त्री बेन्जमिन नेतन्याहुमाथि घुस खुवाएको, जालसाजी गरेको र विश्वास तोडेको आरोपमा मुद्दा चलाउन महान्यायाधिवक्तालाई सिफारिश गर्ने जनाएका छन् ।

आफ्ना धनी साथीहरूबाट महँगा उपहार पाएपछि नेतन्याहुले उनीहरूसंग विशेष सम्बन्ध राखेको आफूहरूसंग प्रमाण भएको प्रहरीको भनाइ छ । सञ्चारमाध्यममा आफूसंग जोडिएका समाचार ल्याउन घुस खुवाएको पनि उनीमाथि आरोप लगाइएको छ ।

 

इजरायली टेलिभिजनसँग बोल्दै नेतन्याहुले आफूविरूद्धका आरोपहरूको सशक्त खण्डन गर्दै आफूविरूद्धको मुद्दाबाट केही हासिल नहुने दावी गरे । मंगलवार राति प्रहरीले महान्यायधिवक्ता समक्ष नेतन्याहुमाथि अभियोग दायर गरी मुद्दा चलाउन सिफारिश गरेको थियो ।

इजरायलका महान्यायधिवक्ताले अब प्रहरीको सिफारिश अनुसार देशका बहालवाला प्रधानमन्त्री विरुद्ध मुद्दा चलाउने कि प्रहरीको अनुसन्धानले फेला पारेका निष्कर्षलाई अस्वीकार गर्दै मुद्दा खारेज गरिदिने भन्ने निर्णय लिनुपर्नेछ ।

महान्यायाधिवक्तालाई यस विषयमा निर्णय सुनाउन महिनौंको समय लाग्न सक्ने ठानिएको छ । उनको निर्णयले गहिरो राजनीतिक परिणामहरू निम्त्याउन सक्ने देखिन्छ । इजरायलको विपक्षी दलले प्रधानमन्त्री नेतन्याहुलाई पदबाट राजीनामा दिन भनिसकेको छ ।

तर अहिलेकै चरणमा त्यो गर्नका लागि कुनै कानूनी आधार छैन् । भ्रष्टाचारसम्बन्धी आरोपबारे छानबिनका क्रममा गत जनवरीमा प्रहरीले नेतन्याहुसंग सोधपुछ गरेको थियो ।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...