गगनजी, यो कांग्रेसको लोकतान्त्रिक अभ्यास कि कपटपूर्ण बकबास ?

- नवराज खड्का,दोलखा

Published Date: February 18, 2018

माननिय गगनजी,

तपाईले सेतो पाटी अनलाईन पत्रिकामा “वृद्धभत्ता कांग्रेसले एमालेलाई देखाउने विषय हैन”भन्ने शिर्षकमा लेखिएको विचार पढेर केही प्रश्न र जिज्ञासाहरु लेख्न मन लाग्यो । तपाई पूर्व स्वास्थ्य मन्त्री अनि हालै निर्वाचित प्रतिनिधि सभाको सदस्य पनि हुनुहुन्छ । युवा अवस्थामा नै तपाईसंग लामो राजनीतिक अनुभव पनि छ । म राजनीतिककर्मी होईन नेपाललाई मायाँ गर्ने यौटा साधारण नागरिक मात्र हुँ । तपाईसंग राजनैतिक बहस गर्ने मेरो मनाशय होइन तर बिगतदेखि हालसम्म तपाईका आदर्श र व्यवहारको तादम्यतामा तेर्सिएका प्रश्नहरुमा केही कुराहरु नलेखी रहन सकिन ।

नेपाली कांग्रेसका कार्यकर्ता र समर्थक बाहेकका जनताले पनि आसा र केही भरोसा राखेको तपाई यौटा युवा नेता पनि हुनुहुन्थ्यो । राष्ट्र र जनताको हीतमा निर्णय लिनु पर्दा राजनैतिक पार्टीको घेरालाई तोड्न सक्नु हुन्छ भन्ने अपेक्षा तपाई र नेपाली कांग्रेसमा भएका अन्य केही युवा नेताहरुसंग मैले पनि राखेको थिएँ । तर जब तपाइको यौटा भाषण युट्युवमा देखा पर्यो उक्त भाषण भारतमा चार्टर्ड एकाउन्टेट पढ्न गएका नेपाली विद्यार्थीहरुको कुनै एक कार्यक्रमलाई सम्बोधन गर्दै गर्दाको थियो । उक्त भाषणमा तपाइले पार्टीको घेरा भन्दा माथि उठेर नेताहरुले देशको लागि सोच्नु र निर्णय लिन सक्नु पर्छ भन्ने मानिसहरुकोलागि तिखो व्यंग्य गर्नु भएको थियो । पार्टीको घेरा भन्दा माथी उठ्ने भनेको के हो भनेर प्रश्न मात्र गर्नु भएको थिएन पार्टीको हीत बिपरित त्यस्तो कुरा सोच्न पनि नसकिने आशय सो भिडियोमा प्रकट गर्नु भएको थियो । त्यसपछि तपाईसंग मैले र मजस्ताले राखेको अपेक्षा बेतुकको रहेछ भन्ने लाग्यो । बिगतमा कुनै बेला प्रहरी इन्काउन्टरमा गुण्डा नाईके “चरी “लाई मार्दा एमालेका राजेन्द्र पाण्डेले प्रहरीलाई तथानाम गाली मात्र गरेनन् संसद बैठकमा घट्नाको तत्काल छानविन हुनु पर्ने जोडदार माग पनि राखे । राजेन्द्र पाण्डे जनताको नेता जस्तो नलागेर गुण्डाको नाईके नै रहेछन् भन्ने लाग्यो मलाई । केही समय पछि फेरी “कुमार घइंटे “भन्ने अर्को गुण्डा नाईकेलाइ प्रहरीले इन्काउन्टरमा नै मार्यो। त्यति बेला फेरी तपाइले राजेन्द्र पाण्डेलाई नै माथ मार्ने गरी कुमार घइंटेको हत्या किन गरियो भनेर संसद बैठकमा नै हंगामा मच्चाउनु भयो र शान्ति सुरक्षाको लागि खट्ने प्रहरीहरु माथि औंला उठाउनु भयो । तपाईले संसद भवनमा देखाउनु भएको त्यो गुण्डामोहको चरित्रपछि नाईके मात्र हैन तपाईपनि गुण्डाहरुको महानाईके नै पो हो कि भन्ने शंका लाग्यो मलाई।

नयाँ संबिधान २०७२ को संघिय संरचना अनुसार स्थानिय तथा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन २०७४ को नतिजाले नेपाली कांग्रेसलाई पीडादायी पराजय सहनु पर्ने मात्र बनाएन रक्षात्मक स्थितिमा पनि पुर्यायो । निर्वाचन अघि नेपाली कांग्रेसका नेताहरुको दैनिकी केपी ओली ,एमाले र वाम गठबन्धनलाई बिहानदेखि बेलुकासम्म धारे हात लगाएर गाली गर्न मा नै बित्यो । निर्वाचनको नतिजा पछाडि तपाईले आफ्नो अन्तर्वार्तामा भन्नु भयो नेपाली कांग्रेसको यो अनपेक्षित हार हुनुमा हाम्रो आफ्नै गम्भीर गल्ति छ ।नेपाली कांग्रेसले हिजो के गर्यो भोली के गर्दैछ भनेर जनतामा आफ्ना कुराहरु लान सकेन। प्रधानन्यायाधीश शुसिला कार्कीमाथिको महाभियोग र प्रहरी महानिरीक्षक बढुवामा नेपाली कांग्रेस पार्टीले गरेको अनावाश्यक हस्तक्षेप पनि गल्ति थियो भन्नु भयो तर पार्टी अध्यक्ष तथा प्रधानमन्त्री शेर बहादुर देउवाले जे जे गरे र नेपाली कांग्रेस पार्टीले जे गर्यो त्यसैमा समर्थन र सहयोग गरी रहनु भयो।

केही दिन अघि तपाइको पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले जेष्ठ नागरिकले भत्ता प्राप्त गर्ने उमेर ७० वर्षबाट ६५ बनाउने लगायतका निर्णयहरु गरेको सन्दर्भमा उक्त निर्णयले तत्काल र दीर्घकालिन रुपमा के कस्तो असर पर्छ भन्ने बारेमा तपाइले गहिरो विचार विश्लेषण गर्नु भएको देखियो । “ संवैधानिक बाध्यताले अहिले देउवा सरकार रहिरहेको हो। राज्य संचालनको लागि गर्नैपर्ने निर्णय बाहेकका निर्णय यस्तो सरकारले गर्नु हुँदैन, दीर्घकालसम्म प्रभावित हुने निर्णय त झन गर्नै पाइँदैन। हामी जुन व्यवस्थाका लागि लड्यौं यसमा कांग्रेस सरकारमा रहोस् वा प्रतिपक्षमा यो व्यवस्थाको ‘च्याम्पियन’ कांग्रेस नै हो, यसको मापदण्ड निर्धारण गर्ने कांग्रेसले नै हो। त्यसैले कुनै पनि विषयमा अरुले गर्न पाउने हामीले किन गर्न नपाउने भनेर आवेशमा आएर निर्णय गर्ने सुविधा कांग्रेसलाई छैन “। भनेर पनि लेख्नु भएछ। तपाइको यो लेखाईसंग म सतप्रतिशत सहमत छु तर तपाइको लेखाई अनुसार उक्त निर्णयको खिलाफमा तपाइको व्यवहार शंकास्पद देखिएको कुरा तथ्यगत रुपमा राख्न चाहन्छु ।

तपाइले काम चलाउ सरकारले गर्ने नपाउने दीर्घाकालीन असरका निर्णयहरुको बारेमा नेपाली कांग्रेस पार्टीमा र प्रधानमन्त्री शेरबहादुर समक्ष बिरोधको रुपमा चुँ पनि बोलेको सुन्न पाईएन। बरु अनैतिक चुक्लीबाजीमा रातदिन तल्लिन –“देउवा सरकारको हरेक निर्णयमा सारथी भएको अनुभूत गर्न सकिन्छ तपाइको लेखाईहरुबाट । त्यसको ज्वलन्त उदाहरण तपाइको यो लेखका यी भनाईहरुले पनि पुष्टि गरेका छन् । यसमा तपाइले भन्नु भएको छ – देउवा सरकारले गरेको बृद्ध भत्ता सम्बन्धि निर्णयको विरोध गर्न एमालेसँग नैतिक, व्यवहारिक, वा सैद्धान्तिक धरातल छैन। एमालेसँग यो निर्णयको आलोचना गर्ने नैतिक आधारपनि छैन। यो केबल सस्तो लोकप्रियता कमाउन गरिएको प्रयास मात्र हो “। अनि अर्को आशय पनि देखिन्छ तपाइको लेखमा त्यो आशय हो अब बृद्ध भत्ताको लोकप्रियता एमालेसंग मात्र नरहने भयो उक्त लोकप्रियता नेपाली कांग्रेसको कित्तामा पनि आयो । तपाइको यो भनाईले एमाले माथि खुच्चिङ्ग मच्चाएको आभास मिल्छ भने प्रधानमन्त्री शेरबहादुरको सरकार र नेपाली कांग्रेसको निर्णयमा सरासर सहमति देखिन्छ । त्यति मात्र होईन तपाइले भन्नु भएको छ एमालेले चुनावी घोषणा पत्रमा सामाजिक सुरक्षा भत्ता पांच हजार पुर्याउँछु भन्यो उसले भन्दा हुन्छ भने हामीले किन बृद्ध भत्ताको उमेर नघटाउने भन्ने आशयपनि छ । साझा सवालको यौटा अंकमा तपाइले यस्तो पनि भन्नु भएको मलाई याद छ – “ बृद्ध भत्ताले नै एमाले लोकप्रिय भएको हो भने नेपाली काँग्रेसपनि सरकारमा गएपछि बृद्ध भत्ता पांच हजार पुर्याउंछ” मेरो भनाईको आशय के हो भने तपाइका सबै गतिविधिहरुले प्रधानमन्त्री शेरबहादुर देउवा र देउवा नेतृत्वको सरकारले गरेका घृणित र निर्लज्ज क्रियाकलापहरुमा तपाइले बिरोध र अवरोध गर्न खोज्नु भएन भने तपाइ आफूले व्यबहारमा नदेखाएको उपदेशात्मक बिचारको अनुशरण कसले गर्ला गगनजी ? शुरुदेखि नै सामाजिक सुरक्षा भत्ता र बृद्ध भत्ताको बिरोध गर्दै आएको नेपाली कांग्रेसलाई यस बारेमा अरु के के गर्ने नैतिक व्यबहारिक र सैद्धान्तिक आधार र धरातल छ जस्तो लाग्छ तपाईलाई ?

कांग्रेस सरकारमा रहोस् वा प्रतिपक्षमा यो व्यवस्थाको ‘च्याम्पियन’ कांग्रेस नै हो भन्ने दावी गर्नु भएको छ तपाइले आफ्नो बिचारमा – देउवा सरकार कुर्सी छोड्ने बेलामा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने बाध्यतामा भए जसरी एकपछि अर्को बिबादित र दीर्घाकालीन असर पर्ने निर्णयहरु गरी रहेकोछ त्यसलाई हामी नेपाली कांग्रेसको च्याम्पियनशीप भनौं कि नेपाली काँग्रेसले प्रदर्शन गरेको लोकतन्त्रको सुन्दर पक्ष रहेछ भनेर बुझौं ?

अझ देउवा सरकारले गरेको अर्को खेदजनक र निन्दनिय निर्णय जसमा तपाई मुकदर्शक बनी रहनु भएको छ चुँ सम्म बोल्ने तपाइको हैसियत छैन भनौं वा हिम्मत छैन वा ईच्छा शक्ति छैन । पूर्व स्वास्थ्य मन्त्री खगराज अधिकारीको पालामा स्वास्थ्य बिमा शुरु गरिएको भएपनि स्वास्थ्य बिमा र स्वास्थ्य सेवालाई सुदृढ र व्यवस्थित गर्न तपाइले आफू स्वास्थ्य मन्त्री हुँदा प्रभावकारी स्वास्थ्य सेवा बिधेयक पास गराउनु भएकै हो । यसमा तपाई धन्यवादको पात्र हुनुहुन्छ । उक्त बिधेयकले तपाइलाई यौटा जनप्रेमी स्वास्थ्य मन्त्रीको रुपमा स्थापित पनि गरायो र लोकप्रियता बढायो । त्यही स्वास्थ्य बिधेयक जसमा राज्यको ढुकुटीबाट राजनैतिक पार्टीका नेताहरु वा हैसियत पुग्नेले स्वास्थ्य उपचारको नाममा मनपरी आर्थिक रकम लिने गरेकोमा आर्थिक अनियमितता नियन्त्रण गर्न केही विधि र प्रकृयाहरु तपाईहरुले नै निर्धारण गराउनु भएको थियो । तर आज त्यही कानुनलाई ठाडो उलंघन गरेर धुजाधुजा पार्दै तपाइको पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य उपचारको नाममा नेपाली कांग्रेसका नेता,कार्यकर्ता र आफ्ना आसेपासेलाई करोडौ आर्थिक सहयोग गरी सकेका छन् भने कुर्सी छोड्ने अन्तिम दिन सम्म बाँड्ने प्रपन्चमा नै देखिन्छन् तर उक्त विधयेक पेश गर्ने र पास गराउने स्वास्थ्य मन्त्री गगन थापा तपाईका आवाज गुमनाम छन् । सरकार पक्षमा हुँदा देउवा दाइलाई मन परी गर्न दिएर प्रतिपक्षमा हुँदा बोलौंला भनेर बस्नु भएको छ भने भोलीका दिनमा के के भन्नु हुन्छ र गर्नु हुन्छ हामी सुन्ने र हेर्ने प्रतिक्षामा रही रहने छौं ।

नवराज खड्का,दोलखा
हाल इजरायल
email: Khadkanr89@gmail.com



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...