१९५० को सन्धि पुनरावलोकन गर्न भारत तयार छ : संयोजक भगतसिंह

Published Date: February 25, 2018

काठमाडौँ १३ फागुन । नेपाल भारत सम्वन्धको सबैभन्दा जटिल विषय बन्दै आएको सन् १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धि लगायत सबै खाले सम्झौता पुनरावलोकनमा भारत तयार भएको छ ।
आइतबार काठमाडौंमा सम्पन्न नेपाल भारत प्रबुद्ध ब्यक्ति समूह (ईपीजी) को सातौं बैठक पछि भएको पत्रकार सम्मेलनमा समूहका भारतीय पक्षका संयोजक भगतसिंह कोसियारीले सन्धि पुनरावलोकनका लागि भारत सकरात्मक भएको बताए ।

‘म भारत सरकारका तर्फबाट विश्वास दिलाउन चाहन्छु कि हामी कसैलाई पनि निराश हुन दिँदैनौँ,’ भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका नेता समेत रहेका कोसियारीले दृढतापूर्वक बताए ।

काठमाडौंमा सम्पन्न बैठकमा दुवै पक्षले तयार गरेका मस्यौदामाथि छलफल भएको थियो।
बैठकमा सन् १९५० को सन्धि, खुला सीमा व्यवस्थापन, सीमा अतिक्रमण, सुरक्षालगायतका जटिल विषयमा छलफल भएको र छलफल सकरात्मक भएको नेपालतर्फका प्रमुख पूर्वमन्त्री भेषबहादुर थापाले बताए । इपिजीको कार्यअवधि अब जम्मा ४ महिनामात्र बांकी रहेको छ ।
‘हामी सोचाईका साथ अन्तिम लक्ष्यमा प्रवेश गर्ने क्रममा रहेका छौँ,’ डा.थापाले बताए । थापाले भने, ‘सबै कुरा निष्कर्षमा नपुगी भन्नु भएन, तर दुई देशबीच भएका सन्धिको पुनरावलोकन, खुला सीमा व्यवस्थापन, जलस्रोत लगायतका विषयमा हामी सकारात्मक दिशामा छौँ।’

जटिल भनिएका खुला सीमा व्यवस्थापन, राष्ट्रिय सुरक्षाका विषयमा दुबै पक्षले समान धारणा बनाएर समाधान खोज्न तर्फ लक्षित भएको बताउदै उनले प्रतिवेदन तयारी सुरु भ्एको जानकारी दिए।

ईपीजीलाई दिइएको समयसीमा भित्र हामीले सरकारलाई सुझावसहितको प्रतिवेदन पेश गर्नेछौ थापाले भने ।

ईपीजीको आठौँ बैठक अर्को महिना दिल्लीमा बस्ने छ। आइतबार सम्पन्न बैठकमा भारतीय पक्षका सदस्य जयन्तप्रसाद अस्वस्थ भएका कारण उपस्थित हुन नसेको बताइएको छ ।

हालसम्म ईपीजीको ८ वटा बैठक भएका छन् ।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...