राष्ट्रपतिका लागि अाज मनाेनयन – दोहोरिँदै विद्यादेवी, काँग्रेसले लक्ष्मी राईलाई उम्मेदवार गराउने

Published Date: March 7, 2018

एवान नेपाल नेपाल

काठमाडाैं, २३, फागुन । सत्तारुढ दल नेकपा एमालेले विद्यादेवी भण्डारीलाई नै राष्ट्रपतिमा दोहोर्याउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा हिजो मध्यरातसम्म बसेको एमाले स्थायी समिति बैठकले भण्डारीलाई दोहोर्याउने निर्णय गरेको हो ।
पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेबाट राष्ट्रपतिको उम्मेदवारमा बर्तमान राष्ट्रपति भण्डारीलाई बनाउन गरेको प्रस्ताव स्थायी समिति बैठकले सर्वसम्मत रुपमा अनुमोदान गरेको हो ।
राष्ट्रपतिका लागि पार्टीका वरिष्ठ नेता झलनाथ खनालले पनि आकांक्षा देखाएका थिए ।

यता नेपाली काँग्रेसले राष्ट्रपतिको निर्वाचनमा लक्ष्मी राईलाई पार्टीका तर्फबाट उम्मेदवार बनाउने निर्णय गरेको छ । काँग्रेस केन्द्रीय कार्यालय सानेपामा आज बसेको केन्द्रीय कार्यसमिति बैठकले शहीद देवानसिंह राईकी सुपुत्री लक्ष्मी राईलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको केन्द्रीय सदस्य रामकृष्ण यादवले जानकारी दिए ।

लक्ष्मी राई काँग्रेसका पूर्व केन्द्रीय सदस्य एवं पूर्वसभासद् हुनुहुन्छ । बैठकमा उपराष्ट्रपति, सभामुख र उपसभामुख तथा राष्ट्रियसभाका अध्यक्ष र उपाध्यक्षको निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारी दिने सम्बन्धमा छलफल भए पनि त्यसमा केही निर्णय हुन सकेन ।

राष्ट्रपतिको निर्वाचन यही फागुन २९ गते हुने भएको छ । सो निर्वाचनका लागि आज उम्मेदवारी मनोनयन दर्ता गर्ने कार्यक्रम छ । नेपालको संविधानअनुसार संघीय संसद्को गठनपछि राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुख तथा राष्ट्रियसभाका अध्यक्ष र उपाध्यक्षको निर्वाचन हुन लागेको हो ।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...