बुद्ध र बौद्ध धर्मबारे बुझाइमै समस्या

- वसन्त महर्जन

Published Date: March 10, 2018

बुद्धलाई मानवताको पाठमा सीमित गर्नु संकुचित दृष्टिकोणबाट हेर्नु र बुझ्नु हो ।

हालै सिरियामा भएको नरसंहारको घटनामा प्रतिक्रिया दिने क्रममा अभियन्ता उत्तम निरौलाले सामाजिक संजाल फेसबूकमा ‘सिरियामा मानवताको पाठ सिकाउन नयाँ गौतम बुद्धको जरुरत छ’ भनेर लेखे ।

२०७२ वैशाखको महाभूकम्प र त्यसपछिका परकम्पहरूले त्राहिमाम् पारिराख्दा पनि सामाजिक संजालमा विभिन्न देवदेवीप्रति गुनासो पोख्ने क्रममा केहीले गौतम बुद्धको नाम पनि उल्लेख गरे ।

नेपाली समाजमा बुद्ध र बौद्ध धर्मका सम्बन्धमा जिज्ञासा बढेसँगै सही जानकारीको अभाव र पूर्वाग्रहका कारण पृष्ठभूमिअनुसार बेग्लै बुझाइ बनिरहेको देखिन्छ ।

गीत–संगीत, कविता, आख्यान र चित्रकलामा समेत अभिव्यक्त हुने गरेका बुद्ध र बौद्ध धर्म सम्बन्धी कतिपय बुझाइमा सर्जकहरू नै भ्रमित हुन पुग्छन् । जसबाट भ्रम चिर्ने भन्दा बढाउने काम भइरहेको छ ।

‘बुद्ध’ शब्दलाई व्यक्तिवाचक नामका रूपमा बुझ्नु र बुझाउनु नै भूल हो । जसले बोधि (ज्ञान) प्राप्त गर्छ ऊ बुद्ध हो । बौद्ध साहित्यमा तण्हंकर, मेधंकर, शरणंकर, दिपंकरलगायत २८ मानव बुद्धको नाम ज्ञात छ ।

तिनैमध्ये एक हुन्– गौतम बुद्ध (ई.पू. ५६३–४८३) । यिनीहरू सम्यक्सम्बुद्ध हुन् । यिनै सम्यक्सम्बुद्धका धर्मोपदेश सुनेर तथा ध्यानाभ्यास गरेर जन्म–मृत्युको चक्र नष्ट गरेका अर्हन्तहरू ‘श्रावक बुद्ध’ हुन् । पूर्वजन्मको पुण्यको प्रभावले बुद्धत्व प्राप्त गर्नेहरू बुद्ध कहलाउँछन् । यस्तो लाभ जो–कोही साधकले गर्न सक्छन् । विष्णुको नवौं अवतार वा ‘बुद्ध’ भनेर ‘गौतम बुद्ध’ लाई चिन्नु वा चिनाउनुको अर्थ छैन ।

समाजमा पहिल्यैदेखि दुई धार कायम छ– अलौकिक संसारको कल्पना र अलौकिकतालाई पूर्णतः अस्वीकार गर्ने भौतिकवादी दृष्टिकोण । पूर्वजन्म र पुनर्जन्म तथा असंख्य जन्महरू नै दुःख हुन् भन्ने मानेर त्यसबाट मुक्त हुनु बौद्ध धर्म–दर्शनको एकमात्र अभीष्ट हो ।

मृत्युपछि कर्मफलको सिद्धान्तअनुसार अन्य योनीमा जन्मन जाने र पुनः मनुष्य योनीमा आउने तथ्यप्रति बौद्ध धर्मका कुनै पनि सम्प्रदायमा विमति छैन । यसअनुसार तिर्यक्, प्रेत, देव आदि गतिहरूको अस्तित्व र विभिन्न लोकहरूको विश्वास गरिन्छ । यी कुरालाई भौतिकवादीहरू विज्ञानसम्मत नभएको भन्दै अस्वीकार गर्छन् ।

गौतम बुद्ध पनि भौतिकवादी रहेको तर अनुयायीहरूले स्वर्ग–नर्क, पूर्वजन्म र पुनर्जन्मको कल्पना गरेर बुद्धको शिक्षामा विकृति ल्याएको आक्षेप लगाउँछन् ।

आत्मा, परमात्मा, ईश्वर, अपौरुषेय वेद जस्ता कुरालाई अस्वीकार गरेकै आधारमा गौतम बुद्धलाई भौतिकवादी मान्नेहरूसँग सोध्नुपर्ने भएको छ– स्वयं गौतम बुद्धले भौतिकवादलाई मिथ्यादृष्टि भनेको र जीवन प्रवाहलाई यही जीवनमा सीमित राखेर नहेर्नु भनेर दिएको उपदेशलाई के भन्ने ?

बुद्ध मार्गदर्शक मात्रै हुन् । मैत्री र करुणाले ओतप्रोत बुद्ध अरूको हितका लागि अनेक उपाय र कौशलले धर्मबोध गराउने तथा हितमा काम गर्ने गर्छन् ।

मार्गदर्शकको कुरा नमान्नेलाई भने बुद्धले पनि केही गर्न नसक्ने कुराको दृष्टान्त भिक्षु देवदत्त (नाताले गौतम बुद्धको मामाको छोरा एवं साला तर काकाका छोरा भनिएको पाइन्छ) र देवदहका सुप्पबुद्ध (नाताले मामा एवं ससुरा) को पतनलाई लिन सकिन्छ ।

मृत व्यक्तिलाई ब्यूँताइदिने काम बुद्धबाट हुँदैन, बरु मान्छे एक दिन मर्नै पर्ने सत्य बोध गराउने गर्थे भन्ने कुरा कृषागौतमीको प्रसङ्गबाट बुझ्न सकिन्छ । यज्ञमा बलि दिन तयार पारिएका हजारौं पशुको ज्यान जोगाउन बुद्धले कुनै अलौकिक चमत्कार नगरी कोशलका राजा प्रसेनजितलाई हिंसाकर्महरू अकुशल भएको कुरा बुझाए ।

कसैले अकुशल कर्म गर्छ भने त्यो पापबाट मुक्ति दिने कार्य बुद्धबाट हुँदैन । गौतम बुद्ध न कसैलाई श्राप दिन्छन् न ‘तथास्तु’ भनेर वरदान । बरु, कर्मअनुसार स्वतः फल प्राप्त हुने उपदेश दिन्छन् ।

भुईंचालो जानु प्राकृतिक कुरा हो, जसलाई रोक्ने, छेक्ने कुरा बुद्ध र बौद्ध धर्ममा हुँदैन । बुद्धलाई मानवताको पाठमा सीमित गर्नु संकुचित दृष्टिकोणबाट हेर्नु र बुझ्नु हो । बुद्ध समस्त प्राणीप्रति करुणा राखेर उपदेश दिन्थे । त्यतिबेला पनि युद्धहरू हुन्थे । बुद्ध भए युद्ध हुँदैन भन्ने मान्यता आजभोलिको कल्पना मात्र हो ।

कतिपय साहित्यकारहरू बुद्धको खाँचो महसूस गर्दै ‘फेरि आऊ’ भनी आह्वान गर्छन् । अवतारवादको प्रभावमा गरिने यस्ता आह्वानसँग बुद्ध र बौद्ध धर्मको कुनै सम्बन्ध छैन ।

लुम्बिनी वनमा जन्मेका गौतम बुद्ध ८० वर्षको उमेरमा कुशीनगरमा महापरिनिर्वाण हुनुको अर्थ हो, फेरि जन्मनै नपर्ने गरी जन्म–मरणको चक्र नै समाप्त भइसक्नु । फेरि आऊ भनेर आह्वान गर्नुको एउटै अर्थ हुन्छ– बुद्धत्व प्राप्तिमा अविश्वास ।

केही आइपर्दा ‘नयाँ गौतम बुद्ध’ को जरुरत देख्नु तथ्यसँग नमिल्दो छ । बरु ‘अर्को बुद्ध’ भन्दा हुन्छ, तर बुद्धको उपदेशबारे मान्छेहरू जानकार हुन्जेल ‘अर्को बुद्ध’ आउँदैनन् भन्ने मान्यता छ ।

हिमाल खवर पत्रिकामा प्रकाशित



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...