सैन्य शक्तिमा अमेरिका पहिलो, चिन र भारत क्रमश तेस्रो र चौथो, इजरायल १५औं र नेपाल ९७औं स्थानमा

Published Date: March 12, 2018

एजेन्सी– सैन्य शक्तिमा अमेरिका पुनः विश्वको पहिलो नम्बरमा कायम रहन सफल भएको छ । युद्ध हतियार र सशस्त्र बलको आधारमा अमेरिका विश्वको पहिलो सैन्य शक्तिका रूपमा रहेको छ भने रुस दोस्रो, चीन तेस्रो र भारत चौथो नम्बरमा रहेको देखिएको छ ।

नेटोका सदस्यसमेत रहेका युरोपेली राष्ट्रहरू फ्रान्स र बेलायत भारतभन्दा पनि पछि रहेका छन् ।  विश्वका आधुनिक सैन्य बल र फौजी शक्तिको विश्लेषण गर्ने शोध संस्था ‘ग्लोबल फायर पावर’ ले सन् २०१७ को सैन्य शक्तिको हिसाबबाट जारी गरेको १३३ देशको सूचीमा अमेरिका पहिलो नम्बरमा रहेको छ । फौजका लागि पारम्पारिक युद्ध हतियार तथा उपकरणको मात्रै विश्लेषण गरिएको र यस्ता हतियारमा परमाणु हतियारलाई सामेल नगरिएको सो संस्थाले जनाएको छ ।

सो सूचीअनुसार दक्षिण एसियाको अर्को शक्ति राष्ट्र पाकिस्तान १३औं सैन्य शक्तिका रूपमा उभिएको छ । रक्षा बलमा पाकिस्तानले पछिल्ला केही वर्षको तुलानामा सन् २०१७ मा व्यापक सुधार गर्दै शीर्ष १५ सैन्य शक्ति राष्ट्रभित्र आफूलाई अटाउन सफल भएको हो ।

यो सूचीअनुसार करिब ८१ लाख जनसंख्या रहेको इजरायल पन्धौं नम्बरमा परेको छ । मध्यपूर्वको सर्वशक्ति राष्ट्र इजरायल युद्दपोत हातहतियारको मामलामा सदैव चर्चामा आउने राष्ट्र हो । त्यस्तै नेपाल ९७औं स्थानमा पर्न सफल भएको छ ।

अमेरिकाको रक्षा बजेट

५८७ अर्ब डलर रहेको थियो भने चीनको १६१ अर्ब डलर रहेको थियो । चीनमा सक्रिय सैनिकको संख्या २२ लाख र रिजर्भ सैनिकको संख्या १४ लाख रहेको छ । यस्तै चीनसँग ३ हजार लडाकु विमान र साढे ६ हजार ट्यांक रहेको सो संस्थाले उल्लेख गरेको छ । यस वर्ष मात्रै रक्षा बजेटमा ८ प्रतिशत वृद्धि गरेको चीन सैन्य शक्तिमा अमेरिका र रुसभन्दा पछि तेस्रो स्थानमा रहेको छ । यद्यपि चीन सैन्य शक्तिका क्षेत्रमा समेत तीव्र रूपमा माथि गइरहेको छ । भारतको भन्दा चीनको सैन्य बजेट तीन गुणाभन्दा बढी रहेको छ । भारतको रक्षा बजेट ५१ अर्ब डलर रहेको छ भने चीनको १७५ अर्ब डलर रहेको छ ।

ग्लोबल फायर पावरका अनुसार अमेरिकासँग १३ हजारभन्दा बढी जहाज रहेका छन् । जसमा लडाकु, परिवहन र हेलिकोप्टरसमेत सामेल छन् । चीनसँग करिब ३ हजार लडाकु जहाज रहेका छन् ।

भारतसँग लडाकु जहाजको संख्या २ हजारभन्दा बढी रहेको छ । सक्रिय सैनिकको संख्या १३ लाखभन्दा बढी रहेको छ । यसका अलावा २८ लाख रिजर्भ फोर्स रहेको छ । भारतसँग करिब ४ हजार ४ सय ट्यांक, तीन युद्धपोत रहेको बताइएको छ । यो सूचीअनुसार पाकिस्तान १३औं सैन्य शक्ति राष्ट्र हो ।

देशको रक्षा बजेट ७ अर्ब डलर रहेको छ भने सक्रिय सैनिकको संख्या ६ लाख ३७ हजार र ३ लाख रिजर्भ सैनिक शक्ति रहेको छ । पाकिस्तानसँग १ हजार लडाकु विमान र ३ हजारको हाराहारीमा ट्यांक रहेका छन् । पाकिस्तानसँग युद्धपोत नरहे पनि समुद्री जहाज २ सयवटा रहेका छन् । १५औं स्थानमा पर्न सफल इजरायलसँग ६५० लडाकु विमान र २ हजार ५ सयभन्दा बढी ट्यांक रहेका छन् ।

 



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...