छुट्टै ‘इन्टेलिजेन्स युनिट’ राख्ने गृह मन्त्रालयको तयारी

Published Date: March 12, 2018

गृह मन्त्रालयले सूचना संकलन तथा विश्लेषणका लागि छुट्टै ‘इन्टेलिजेन्स युनिट’ गठन गर्ने तयारी गरेको छ ।

गृहअन्तर्गतको राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालय मातहत राखिएपछि उसले यस्तो तयारी थालेको हो ।

गृहले गठन गर्न लागेको नयाँ ‘इन्टेलिजेन्स युनिट’ को नाम ‘सूचना संकलन तथा विश्लेषण इकाइ’ रहनेछ ।

गृहले साबिक रहेको सुरक्षा समन्वय तथा सुरक्षा अभिलेख व्यवस्थापन शाखा विघटन गरी यो इकाइ गठन गर्न लागेको हो ।

मन्त्रालयका प्रवक्ता नारायणप्रसाद दुवाडीले ‘सूचना संकलन तथा विश्लेषण इकाइ’ गठन तयारी छलफलमा रहेको बताए । ‘गृहमा पहिले पनि सूचना विश्लेषण हुन्थ्यो ।

त्यसका लागि छुट्टै शाखा थियो । अहिले त्यसैलाई नयाँ ढंगले विकास गर्न लागिएको हो । यसले पूर्णता पाएको छैन, प्रारम्भिक छलफलकै चरणमा छ,’ उनले भने ।

के गर्छ सूचना संकलन तथा विश्लेषण इकाइले ?
दुवाडीका अनुसार ‘सूचना संकलन तथा विश्लेषण इकाइ’ गृह मन्त्रालयप्रति पूर्णरूपमा उत्तरदायी हुनेछ । यसले सूचना संकलन र विश्लेषण गर्नेछ ।

सूचनाको विश्लेषणपछि निचोड गृहमन्त्रीलाई ब्रिफिङ गर्नेछ । गृहमन्त्री नभएमा गृहसचिवलाई ब्रिफिङ गर्नेछ ।

गृह मन्त्रालयका अनुसार ‘सूचना संकलन तथा विश्लेषण इकाइ’ को नेतृत्व राष्ट्रिय अनुसन्धान विभागको एसएसपीले गर्नेछन् ।

इकाइमा नेपाल प्रहरीको तर्फबाट एसपी र सशस्त्र प्रहरीबाट पनि एसपी नै वरिष्ठ अधिकृतका रूपमा रहनेछन् । त्यसबाहेक गृह मन्त्रालयबाट उपसचिव वरिष्ठ अधिकृतका रूपमा रहनेछन् ।

‘अहिले इकाइको नेतृत्व अनुसन्धानका एसएसपीले गर्ने तय भएको छ । यसअघि डिआइजी नै ल्याउने तयारी थियो ।

त्यस विषयमा सहमति जुट्न नसकेपछि नेपाल प्रहरी र सशस्त्रका एसपी रहने भएका छन्,’ गृह स्रोतले भन्यो ।

इकाइमा नेपाल प्रहरी, सशस्त्र र गृहका अन्य अधिकृत पनि रहनेछन् । गृहका अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट डिएसपी र प्रहरी निरीक्षकलगायतको टोली रहनेछ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीका अधिकृत आ–आफ्नै संगठनका एसपीको कमान्डमा रहनेछन् । गृहका अनुसार इकाइमा खटिने सबै कर्मचारी काजमा सरुवा गरी ल्याइने आजको नयाँ पत्रिका दैनिकले जनाएको छ ।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...