म रेल ल्याउँछु, तपार्इंहरू उत्पादन बढाउनुस् : प्रधानमन्त्री ओली

Published Date: April 11, 2018

प्रधानमन्त्री केपी शर्मा ओलीले रक्सौलदेखि काठमाडौंसम्म रेलवे सेवा छिटै सञ्चालन हुने भन्दै त्यसको उपयोगका लागि तयार रहन उद्योगी व्यवसायीलाई आग्रह गरेका छन् । काठमाडौंमा बुधबार आयोजित नेपाल उद्योग वाणिज्य महासंघको ५२औँ वार्षिक साधारणसभा तथा उद्योग वाणिज्य दिवसलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘काठमाडौंमा रेल ल्याउने जिम्मा मेरो, जसरी पनि ल्याउँछु ल्याउँछु,’ व्यवसायीलाई उनले भने, ‘तर, रक्सौलबाट भरी आएको रेल काठमाडौंबाट रित्तै नफर्कियोस् ।’ रेलबाट निर्यात गर्न स्वदेशी उत्पादन बढाउन उनले निजी क्षेत्रलाई आग्रह गरेका हुन् ।

नेपालको व्यापार घाटा डरलाग्दो रहेको भन्दै उनले त्यसको न्यूनीकरणका लागि सरकारले विशेष प्रयास गरिरहेको बताए । ‘उता (भारतबाट) भरी आउने अनि यता (नेपालबाट) खाली जाने अवस्था नहोस्,’ उनले भने, ‘उत्पादन र निर्यात बढाउने निजी क्षेत्रको काम हो ।’ उत्पादन र निर्यात वृद्धिका लागि निजी क्षेत्रलाई जस्तोसुकै सहयोग गर्नसमेत सरकार तयार रहेको उनले बताए ।
उत्पादनमा मूल्य अभिवृद्धि गर्नुहोस्
स्थानीय स्रोतसाधनलाई मूल्य अभिवृद्धि (भ्यालु एड) गरेर उच्च मूल्यमा निर्यात गर्न सुझाबसमेत उनले उद्योगी व्यवसायीलाई दिएका छन् । ‘हामीसँग प्रविधि छैन होला, तर हाम्रो वातावरण र मौसम राम्रो छ,’ उनले भने, ‘यही स्वच्छ हावापानीको भ्यालु एड गरेर उच्चस्तरको सामग्री उत्पादन गर्नुहोस् र निर्यात बढाउनुहोस् ।’ उनले आगामी दुई वर्षभित्र रासायनिक मल कारखाना सञ्चालनमा ल्याउने गरी स्थापनाको तयारी थाल्न उद्योगीलाई आग्रह गरे । यसका लागि आवश्यक विद्युत् सरकारले आगामी दिनमा उत्पादन गर्ने प्रतिबद्धतासमेत उनले व्यक्त गरे ।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...