मासिक ३ लाखको गाैं मुत्र बिक्री !

Published Date: May 6, 2018

रुकुम(पश्चिम)को मुसीकोटमा रहेको एक गाई फर्मले मासिक तीन लाखको गौ अर्ग बिक्रि गरिरहेको छ । मुसीकोट नगरपालिका ६ पोखरामा रहेको वैश्नवि गाई फर्मबाट मासिक तीन लाख बराबरको गाईको गहुँत प्रशोधन गरेर बनाइने गौं अर्ग बिक्रि भइरहेको हो ।

मुसीकोट नगरपालिका पाँचका सुर्दशन मल्ल र धनवहादुर मल्लले २०६९ साल देखि गाई फर्म संचालनमा ल्याई गौ अर्ग उत्पादन गरिरहेका छन् । १२ गाईबाट सुरु भएको फर्ममा अहिले ३२ गाई रहेको संचालक सुदर्शन मल्लले बताए ।

सुरु सुरुमा मासिक डेढ लाखको हाराहारीमा गौ अर्ग बिक्रि हुने गरेकामा हाल मासिक तीन लाखको गौ अर्ग बिक्रि हुने गरेको उनको भनाई । मल्लका अनुसार गाई फर्ममा १० लाख लगानि गरिएको छ । जिल्लामा उत्पादन भएको गौ अर्ग रुकुम(पश्चिम), (पूर्व) सहित छिमिकि जिल्लाहरु सल्यान, जाजरकोट, रोल्पा, दाङ, सुर्खेत र काठमाडौं, भक्तपुर, ललितपुर लगाएतका जिल्लामा पुग्ने गरेको छ ।

एक लिटरको मुल्य एक हजार

हप्ता हप्तामा गौ अर्ग जिल्ला बाहिर पठाउँने गरिएको छ । हप्तामा एक सय लिटर गौ अर्ग जिल्ला बाहिर जाने गरेको छ । त्यस्तै जिल्लामै दिनमा सरदर २० लिटर गौ अर्ग बिक्रि हुने गरेको छ । गौ अर्ग प्रतिलिटर एक हजारका दरले बिक्रि हुने गरेको छ । विभिन्न जडिबुटिको प्रयोग गर्नुपर्ने भएको, उत्पादन झनझटिलो भएको र स्वास्थ्यका लागि निकै फाईदाजनक भएकाले यसको मुल्य महँगो भएको मल्लले बताए ।

नाम एक काम अनेक

गौ अर्ग विभिन्न स्वास्थ्य समस्या हल गर्न फाईदा जनक रहेको संचालक मध्येका धनबहादुर मल्लले बताए । गौ अर्गको सेवनबाट क्यान्सर, ब्रेन ट्युमर, युरिक एसिड, ग्याष्ट्रिक लगाएतका ६८ प्रकारका रोग निको पार्न मद्त पुग्ने स्वास्थ्य बिज्ञानले पुष्टि गरेको उनले दावी गरे । गौ अर्ग बनाउँन गाईको गहुँत सहित पाँचऔले, जटामसि, मजरी लगाएतका जडिबुटिको प्रयोग हुन्छ ।

माग धान्न समस्या

गौ अर्गको बजारमा कुनै समस्या नरहेको गाई फर्म संचालकहरुको भनाई छ । बजारमा माग भए अनुसार उत्पादन गर्न नसकिएको सुदर्शनले बताए । ‘यसको माग दैनिक बढ्दो छ, उनले भने–बजारको माग अनुसार गौ अर्ग उत्पादन गर्न सकिएको छैन् ।’

धेरै रोगका लागि फाईदाजनक हुने भएकाले यसको माग अत्यधिक रहेको उनले बताए । आवश्यक जडिबुटि र जनशक्ति नहुँदा माग अनुसारको गौ अर्ग उत्पादन गर्न नसकिएको उनको भनाई छ ।

अमेरिकासम्म पुग्थ्यो गौं अर्ग

जिल्लामा उत्पादन भएको गौ अर्ग अमेरिकामा समेत निर्यात गरिन्थ्यो । तर माग अनुसार पु¥याउँन नसकिएपछि त्यहाँ हाल निर्यात बन्द भएको बताईएको छ । ‘अमेरिकामा प्रतिलिटर २ हजार डलरका दरले २० लिटर गौ अर्ग पठायौं, सुदर्शनले भने–त्यहाँको माग धान्न सकेनौं र हाल अमेरिका निर्यात रोकिएको छ ।’ त्यहाँ पठाउँने प्रक्रिया झन्झटिलो समेत भएको उनले बताए ।

तीन हजार मिटरको उचाई आवश्यक

करिब पाँच वर्ष चितवनको देवघाटमा गौ अर्ग उत्पादनको काम गरेका सुदर्शनले सुरुमा जिल्लाको बाँफिकोट गाउँपालिकाको झारमारे लेकबाट गौ अर्ग उत्पादनको काम सुरु गरेका थिए ।

गौं अर्ग उत्पादनका लागि समुन्द्र सहतहबाट तीन हजार मिटर उचाईको ठाउँ आवश्यक पर्ने भएकाले यो ठाउँलाई छनौट गरिएको उनको भनाई छ । यहाँ उत्पादन भएको गौ अर्ग गुणस्तरीय रहेको समेत उनले दाबी गरे । ल्याब टेष्ट गरेर गुणस्तर मापन गरेर मात्र गौ अर्ग बजारमा पठाउँने गरिएको छ ।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...