बालगृहका बालबालिकाको सिरानीमुनि बाइबल !

Published Date: May 24, 2018

बालगृह, हेप्पी होम, महिला तथा बालबालिका पुनस्र्थापना केन्द्र र आवधिक गृहका नाममा धर्म प्रचार हुने गरेको पाइएको छ । बालगृह र महिला तथा बालबालिका पुनस्र्थापना तथा आवधिक गृह सञ्चालनको उद्देश्य राखेर दर्ता भएका संस्थाले भित्री रूपमा धर्म प्रचार गर्दै आएको महिला तथा बालबालिका समन्वय समितिले गरेको अनुसन्धानमा फेला परेको हो ।

विभिन्न नाममा सञ्चालित यस्ता संस्थामा सबैभन्दा धेरै इसाई धर्मको प्रचार हुने गरेको छ । नेपालगन्ज उपमहानगरपालिका–१२ शान्तिनगरमा स्थापना भएको हेप्पी होमले बालबालिका स्याहार केन्द्रको बहाना बनाएर इसाई धर्मको प्रचार गर्दै आएको पाइएको छ । हेप्पी होममा बस्ने बालबालिकालाई यसु ख्रिस्टको प्रवचन सुनाउने र बाइबल पढाउने गरेको खुलासा भएको छ । ‘यसु ख्रिस्टको प्रवचन र बाइबल पढाएको स्पष्ट सुनिन्छ,’ एक स्थानीयले भने ।

नेपालगन्जको आदर्शनगरमा रहेको एपोस्टल बालगृहले पनि क्रिस्चियन धर्मको प्रचार गर्दै आएको छ । जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर बालगृह सञ्चालनमा ल्याएको छ । धेरैजसो बालगृह संस्थाको नाममा क्रिस्चियन धर्मको प्रचार गरेको फेला परेको महिला तथा बालबालिका कार्यालयका प्रमुख अधिकृत शोभा शाहले बताइन् । ‘एउटा बालगृहमा बस्ने बालबालिकाको सिरानीमुनि बाइबल फेला प-यो,’ उनले भनिन् ।

एउटा उद्देश्य लिएर दर्ता भएका संस्थाले भित्रभित्रै धर्म प्रचार गरेको पाइएकोे केन्द्रीय बालकल्याण समितिका बालअधिकार स्रोतव्यक्ति भीम अवस्थीले बताए । ‘उद्देश्य एउटा, काम अर्को गरेको देखिन्छ,’ उनले भने ।

एपोस्टल बालगृह बालबालिकालाई घर फिर्ता गरेर बन्द गर्ने सूचना महिला तथा बालबालिका समन्वय कार्यालयलाई दिएको महिला तथा बालबालिका समन्वय अधिकृत शोभा शाहले जानकारी दिइन् । उनले सो बालगृहले आमा वा बाबुमध्ये एउटा भएका बालबालिकालाई समेत राखेको थियो । ‘बालबालिका राख्न नसक्ने जनाउँदै एपोस्टल बालगृहले बन्द गर्ने मौखिक सूचना दिएको छ,’ उनले भनिन् ।

सामाजिक विकास प्रवद्र्धन केन्द्रले बालगृह सञ्चालन गरेको छ । सो संस्थाका सञ्चालक मीनबहादुर अर्याल बहाई धर्मका प्रचारक हुन् । उनले आफूले बहाई धर्ममा आस्था राखे पनि बालगृहमा बस्ने बालबालिकालाई धर्मको गन्ध नदिने गरेको बताए । बालगृह उनको आफ्नै घरमा सञ्चालनमा छ ।

नेपालगन्ज उपमहानगरपालिका–२२ पुरैनीमा रहेको माया सदन, आवधिक गृहका नाममा सञ्चालनमा रहेको केआई नेपाल, ज्ञान नेपाल, कोहलपुरको थ्री एन्जल्सले पनि प्रभुको प्रचार गर्दै आएको महिला तथा बालबालिका कार्यालयका अधिकारीले बताएका छन् ।

विद्यालय र अस्पतालमा धर्म प्रचार
विद्यालय, अस्पताललाई समेत धर्म प्रचारको माध्यम बनाएका छन् । नेपालगन्जस्थित सोफिया स्कुलले बालबालिकालाई यसु ख्रिस्टको भजनबाट विद्यालय सुरु गर्छ । कोहलपुरको जीवन ज्योति स्कुलले पनि अध्ययनरत बालबालिकालाई यसु ख्रिस्टको नाममा समर्पित हुन लगाउने गरेको छ । ‘कक्षा सुरु हुनुअघि प्रभुको नाममा समर्पित हुन लगाइन्छ,’ एक विद्यार्थीले भने ।

आइएनएफ साइनिङ अस्पतालमा पनि प्रभुको मण्डली हुने गरेको छ । हरेक साताको एक दिन आइएनएफको कार्यालयमा प्रभुको भजन हुने गरेको एक कर्मचारीले बताए । उनले प्रभुको भजनमण्डली भए पनि कसैलाई करकाप भने नभएको ती कर्मचारीले बताए । ‘प्रभुको भजनमण्डलीमा सहभागी हुने–नहुने आफ्नो इच्छामा भर पर्छ, इच्छा हुनेहरू जान्छन्, नहुनेहरू बाहिर बस्छन्,’ उनले भने ।

जानकारी दिने नाममा क्रिश्चियन धर्मको प्रचार
धर्मप्रचारकहरू पोस्टर, पम्प्लेट र ब्रोसर बोकेर अस्पतालमा समेत पुग्ने गरेका छन् । भारत जानेलाई एचआइभी र मानव बेचबिखन, सुरक्षित बसाइँसराइसम्बन्धी जानकारी दिने बहानामा क्रिस्चियन धर्मको प्रचार गरेको पाइन्छ । क्रिस्चियन धर्मप्रचारकले नेपालगन्ज नाकामा युवा परिचालन गरी एचआइभी, मानव बेचबिखन र सुरक्षित बसाइँसराइसम्बन्धी जानकारी दिने बहानामा क्रिस्चियन धर्मको प्रचार गरेको पाइन्छ । जानकारीमूलक पम्प्लेटको अन्तिम पेजमा प्रभु यसुको वचन राखिएको हुन्छ ।

नयाँ पत्रिका दैनिकमा प्रकाशित



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...