देश प्यारो कि जात ?

- मेखराज परियार

Published Date: July 2, 2018

जतिसुकै शिक्षित भए पनि जातको कुरामा सु–संस्कृत हुन नसक्ने नेपालीको बानीले नेपाललाई दुःखी बनाइरहेको छ ।

तर, जुनसुकै मुलुकमा पुगेर उच्च शिक्षा लिए पनि, आधुनिक संस्कारमा घुलमिल भए पनि ‘बर्मा गए कर्मसँगै’ भने झैं नेपालीहरूले छाड्न, फाल्न नसक्ने एउटा चिज बनेको छ– जात । लाग्छ, नेपालीको आँतभित्र जात नामको जुका दह्रोगरी टाँसिएर बसेको छ ।रोजगारी, उच्च शिक्षा र अन्य अवसरका लागि थुप्रै नेपाली विश्वका विभिन्न मुलुक पुगेका छन् । खाडी मुलुक र मलेशियादेखि कोरियासम्म श्रम बेच्ने मात्र होइन, बेलायत, अमेरिका, क्यानडा, अष्ट्रेलिया, जापान लगायतका अति विकसित देशमा जमेर बसेका नेपाली पनि धेरै छन् ।

परदेशमा देशको माया झनै गाढा बन्छ भनिन्छ, तर नेपालीको मनमा जात गढ्न पुग्छ । विदेशमा कोही नेपाली भेटिंदा आत्मीयता पलाउने, खुशी हुने क्रममा जात सोध्न बिर्संदैनन् । फरक कति भने कोही हाकाहाकी सोध्छन्, कोही अलि सु–संस्कृत भएको भान पार्दै घुमाउरो पारामा जातको खोजीनिती गर्छन् ।

अनि आगन्तुक दलित रहेछन् भने ‘अरू त केही छैन, पूजा कोठा चाहिं नछोइदिनुहोला है’ भन्छन् । विकसित मुलुकहरूमा शिक्षा, संस्कार र काविलियत प्रस्तुत गरेर घर–घराना जोडेका नेपालीहरू पनि जातको कुरामा आफ्नै देशवासीलाई यसरी गिराउन र आफू पनि गिर्न कुनै अप्ठ्यारो मान्दैनन् ।

जात प्रथा हिन्दू वर्णाश्रम व्यवस्थाको उपज हो । मंगोल, द्रविडहरूको शासन रहेको महाभारत खण्डमा जब मध्य एशिया र यूरोपबाट आर्यहरूको प्रवेश भयो, अनि यहाँ हिन्दू वर्णाश्रम व्यवस्था पनि शुरू भयो । युद्धको जय–पराजय, आत्मसमर्पण, विद्रोह जस्ता सवाल र युद्ध विजय उन्मादमा वर्णाश्रम व्यवस्था लागू गरियो ।

विजयी सैनिक कमाण्डर राजा कहलिए । मानिसलाई ब्राह्मण, क्षेत्री, वैश्य र शूद्र गरी चार वर्गमा विभाजित गरियो । शूद्रलाई पानी चल्ने र नचल्ने गरी दुई भागमा विभाजन गरियो । शुरूमा कामका आधारमा गरिएको विभाजनलाई पछि अत्याचारका रूपमा झन्झन् कडा गरी लागू गरियो ।

शूद्रलाई शिक्षा, सम्पत्ति, आवास लगायत सबै मानवीय हकबाट वञ्चित गर्दै लगियो । मनु ऋषिले ‘मनुस्मृति’ लेखेर आफ्नो समयका शासकहरूलाई वर्ण व्यवस्थामा अझ क्रूरता अपनाउन प्रेरित गरे । त्रेता युगका राजा रामचन्द्रले सम्बुक ऋषिलाई शूद्र भएर पनि शिक्षा लिएको कारण हत्या गरे । नेपालमा विक्रम संवत् १९१० मा जंगबहादुर राणाले जातीय छुवाछूतलाई कानूनी रूपमै कठोरतापूर्वक लागू गरे ।

करीब तीन हजार वर्ष अघिदेखि जातको आधारमा उँच–नीचको व्यवहार नेपाल, भारत लगायत आर्य या हिन्दू समाज भएका देशमा व्यापक छ । नेपालको संविधान, ऐन र कानूनले जातीय छुवाछूतलाई दण्डनीय अपराध मानेर जेल सजाय तोकेको छ ।

र पनि, गुन्द्री छोएको निहुँमा कुटिएको, भैंसीको गोठ छुँदा जरिवाना तिराइएको, अन्तरजातीय प्रेम र विवाह हुँदा कुटिने, गाउँ निकाला र हत्या समेत गर्ने, शहरमा दलितले भाडामा कोठा नपाउने, बोली–वचनमा अपमानित हुनुपर्ने जस्ता अमानवीय व्यवहार अझै भोगिंदैछ । अनि सोध्न मन लाग्छ– खोइ कहाँ छ संविधान, कहाँ छ कानून ?

दलितलाई ब्राह्मण, क्षेत्रीले मात्रै होइन, पहाड–हिमालका आदिवासी जनजाति र तराईका द्रविड (यादव, साह, भूमिहार आदि) ले पनि विभेद गर्छन् । जबकि, तिनीहरूका पूर्वजले जातीय छुवाछूत गर्दैनथे । हिन्दू वर्णाश्रम व्यवस्थामा राज्य सत्ताका कारण दलितमाथि सबैले जातीय विभेद गरेको बुझ्न सकिन्छ ।

अर्कोतर्फ कतिपय दलित बौद्धिकहरू आफूलाई खस–आर्य प्रमाणित गर्न लागिपरेका छन् । मान्छे भएर मान्छेको व्यवहार पाउन कठिन भइरहेको बेला खस–आर्यमा दरिने कोशिश आफैंमा भ्रामक छ । छुवाछूतको सवालमा अर्को पनि भ्रम छ– वर्णाश्रम व्यवस्था पनि वर्गीय समस्या नै हो भन्ने । यो कथित कम्युनिष्टले फैलाएको झूट हो ।

राज्यले सम्पत्तिको हक समेत खोसेको हुनाले शूद्र (दलित) एक वर्ग त हो, तर उनीहरूका समस्या धनी, शिक्षित दलितमाथि जातीय विभेद नहुने व्यवस्था छैन । विभेद जन्मको आधारमा गरिन्छ ।

मूल सवाल हो, मान्छे ठूलो कि जात ? कथित ठूलो जात (खस–आर्य) बढी राष्ट्रवादी, कथित दलितहरू कम राष्ट्रवादी हुन सम्भव छ ? जातको आधारमा देशको माया कम–बेसी हुन्छ ?

त्यस्तो कदापि होइन । द्वन्द्वका उद्योगी–व्यापारीले जात–धर्मको आगो सल्कायो भने खासखास जाति नपोलिने अमूकअमूक जाति मात्र ध्वस्त हुने भन्ने हुँदैन । मानव मानवबीचको विभेद, छुवाछूत, अत्याचार अन्त्यका लागि सरकार धेरै संवेदनशील हुनुपर्छ । नत्र देशको माया झूट ठहरिनेछ ।

हात, मुख, मन, मस्तिष्क बाँधेर बोल्न, चल्न नसक्ने पारेर यहाँ न्याय छ, विरोध छैन भन्नु गलत हो । मान्छे भन्दा जात ठूलो रहेसम्म देश स्वाभिमानी बन्न सक्दैन । देशलाई जननी भनिन्छ । जननीको लागि सबै सन्तान समान हुन्छन् ।

त्यसैले जातको भ्रम त्यागौं । देशभित्रका हुन् या विदेशमा रहेका, नेपाली मात्रले सबभन्दा पहिले जातको पर्खाल भत्काउने हिम्मत गरौं, जननीलाई खुशी पारौं । विकास, समृद्धि त त्यसपछिको कुरा हो ।

हिमाल खवर पत्रिकामा प्रकाशित



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...