राजनीतिसँगै राजकाज

हाम्रा नेतालाई राजनीतिसँगै राजकाज नसिकाउने हो भने स्थिर सरकारले पनि विकास नदिने स्पष्ट छ।

Published Date: July 18, 2018

गत बुधबार अर्थात असार २७ गते यो स्तम्भ लेख्न बस्दा अन्नपूर्ण पोस्ट् दैनिकमा सरकार सञ्चालनसँग सम्बन्धित समाचारका शीर्षकहरू यसप्रकार थिए :

पृष्ठ १

  • रोकिएन टिपर दादागिरीः कानुन कडा, कार्यान्वयन फितलो
  • चिकित्सक आन्दोलित
  • नियमन नहुँदा रेस्क्यु कालोसूचीमा

पृष्ठ २

  • प्रधानमन्त्री कार्यालयकै काम सुस्त
  • रोप्ने टुंगो नलाग्दै विरुवा काट्न हतार

पृष्ठ ३

  • ‘सहमति नभए प्रक्रियाबाटै विधेयक’
  • ‘केसीलाई काठमाडौं लैजाऊ’
  • सामाजिक सुरक्षाको तीन अर्ब खातामै

माथि उल्लेख गरिएबाहेक एकदुईवटा समाचारमात्र अन्य विषयसँग सम्बन्धित थिए, त्यो पनि अग्रपृष्ठमा होइन। त्यो दिन या अन्य दिनका पनि पत्रपत्रिका हामीले हेर्‍यौं भने हामीले पढ्ने अधिकांश समाचारहरू यस्तै हुन्छन्। यस्तै समाचार हामीले दशौं वर्षदेखि पढ्दै आएका छौं। ती सबै समाचारले एउटा कुरा स्पष्ट पार्छ—हाम्रा नेताहरूमा संसद्मा बहुमत होस् या नहोस् राज्य सञ्चालन गर्ने ढंग कहिल्यै भएन। राज्य सञ्चालनको ढंग भइदिएको भए राजनीतिक अस्थिरता आफ्नो ठाउँमा हुँदाहुँदै पनि यस्ता समाचार हामीले पढ्नुपर्ने थिएन।

माथि उल्लिखित समाचार शीर्षकहरू पढ्दै गर्दा मलाई इमानदारी र क्षमताका लागि चिनिएका नेपाल सरकारका दुईजना पूर्व सचिव किशोर थापा र नारायण कोइरालासँग भएको हालैको एउटा भेटको याद आयो। सो भेटमा दुवैजनाले एउटा गजबको कुरा भने—अब हाम्रा नेताहरूलाई राजनीति होइन, राजकाज सिकाउनुपर्‍यो। उनीहरूले राजनीति चाहिनेभन्दा बढी जाने, राजकाज पटक्कै जानेनन्। मेरो मनमा तुरुन्तै प्रश्न उठ्यो, तपाईंहरू जस्तो इमानदारी र क्षमताका लागि चिनिएका र प्रशासनको उच्च तहमा पुगेका कर्मचारीले किन केही गर्न सक्नु भएन त ? कोइरालाले तुरुन्तै जवाफ दिए, हामी कति क्षमतावान छौं या छैनौं थाहा छैन तर प्रशासकहरूको दायित्व राजनीतिक नेतृत्वलाई नियमकानुनको दायराभित्र राख्न प्रयास गर्ने हो, राजनीतिक निर्देशनको पालना गर्ने हो, निर्देशन तोडेर बाहिर जाने होइन। थापाले थपे–त्यसै भएर हामी परिपूरक हुन सक्छौं, प्रधान हुन सक्दैनौं। फरक यत्ति हो कि, इमानदार प्रशासकहरूले भ्रष्टाचार गर्दैनन् तर भ्रष्टाचारीहरू राजनीतिक नेतृत्वसँगै साँठगाँठ गर्छन्। कोइरालाले फेरि थपे—मैले मन्त्रीको अनुचित दबाबका सामु झुक्नुभन्दा राजीनामा दिनु बेस भनेर सचिव पदबाट राजीनामा दिएको त्यसै होइन नि।

उनीहरूको विचार र टिप्पणीसँग असहमत हुने ठाउँ थिएन। तर हाम्रो संवादमा मलाई सबैभन्दा घत परेको शब्दचाहिँ ‘राजकाज’ नै थियो। राजकाजभन्दा कतिपयलाई ‘राजाले गर्ने कार्य’ भन्ने पनि लाग्न सक्छ। त्यो पनि गलत होइन, तर सो शब्दको दायरा फराकिलो छ। नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशित गरेको नेपाली बृहत् शब्दकोषअनुसार राजकाजको अर्थ ‘देशको शासन सञ्चालनको व्यवस्था, राज्य सञ्चालनको व्यवस्था, राज्य सञ्चालन र ऐनकानुनका आधारमा चलेको सम्पूर्ण शासनकार्य’ भनेर व्याख्या गरिएको छ। राजनीति देशको शासन सञ्चालनमा पुग्न गरिने प्रतिस्पर्धा हो, जुन हामी स्वच्छ होस् भन्ने चाहान्छौं तर नेपालजस्ता देशहरूमा त्यो अत्यन्तै दूषित हुने गरेको छ। त्यही दूषित राजनीति निरन्तररूपमा राजकाजमा प्रतिविम्बित हुने गरेको छ।

प्रधानमन्त्री केपी ओली राजनीति नजानेका मान्छे होइनन्। कस्तो राजनीति जाने त्यो बहसको छुट्टै पाटो हो तर उनले आफ्नो पार्टीलाई देशको सबभन्दा ठूलो पार्टीमात्र बनाएनन्, इतिहास नै निर्माण गर्ने गरेर देशको अर्को ठूलो पार्टीसँग एकीकरण पनि गरिदिए। एउटाबाहेक सबै प्रदेशमा अहिले उनकै पार्टीको नेतृत्व छ। संघीय संसद्मा सरकारलाई साथ दिने अर्को पार्टीसमेत जोड्दा उनको दुईतिहाइ बहुमत छ। ०४६ सालबाट ०७५ साल आइपुग्दा ३० वर्षमा झन्डै तीसै पटक सरकारको नेतृत्व परिवर्तन हेरेर दिक्क भएका जनताले संसद्मा दुईतिहाइ बहुमतप्राप्त सरकार पाएपछि राजनीतिक स्थिरता र त्यसैको परिणामस्वरूप विकासको अपेक्षा गरेका थिए। शंकाको लाभ सबैले दिए। तर रंगमञ्चमा लगाएको पहिरन उत्रिन समय लागेन।

राजनीति र राजकाजका लागि कयौं समान भए पनि कयौं भिन्न किसिमको दक्षता आवश्यक पर्छ। राजनीतिक नेतृत्व गरेर सत्तामा पुग्न फलामको चिउरा चपाएभन्दा गाह्रो छ। तर सत्तामा पुगिसकेपछि अलिकति मात्रै विचार पुर्‍याउने हो भने राजकाज गर्न तुलनात्मकरूपमा धेरै सजिलो छ भन्ने मेरो बुझाइ हो। झन् दुईतिहाइ समर्थन हुँदा त त्यो सहज नहुने कुरै भएन। सत्ताको एउटा स्थापित संरचना र कडा अनुशासन हुन्छ, बजेटको व्यवस्था र आवश्यक पर्ने सम्पूर्ण सरसुविधा हुन्छ। उपयुक्त कामका लागि अझ अन्तर्राष्ट्रिय स्तरका विशिष्ट परामर्श र सहयोग लिने ठाउँ रहन्छ। तर ती सबैको सदुपयोग गर्न र तिनलाई सक्रिय बनाउन ‘ढंग’ चाहिन्छ। ढंगै नभएपछि रङहरू स्वतः लतपतिने नै भए। ‘माल पाएर चाल नपाएपछि के गर्नु ? ’ भनेजस्तै हो। अहिले प्रधानमन्त्री केपी ओली र उनका मन्त्रीहरू राजकाजको ढंगमा पूर्णरूपले चुकेका छन्—विगतका प्रधानमन्त्री र सरकारहरू जस्तै। राजकाजका आफ्नै जटिलताहरू नहुने होइन तर अत्यन्तै सामान्य विषयमा बारम्बार चुकेको देखिएपछि विश्वासहरू आफैं टुट्न थाल्छन्।

उदाहरणका लागि, दुईतिहाइ बहुमतप्राप्त सरकारले आमूल परिवर्तनकारी विकासका केही प्रमुख एजेन्डामा दिनरात केन्द्रित हुनुको सट्टा सातवटा तोकिएको ठाउँबाहेक सिंगो काठमाडौंलाई निषेधित क्षेत्र लागू गर्नमा ऊर्जा खेर फाल्नुपथ्र्यो ? समाजवादउन्मुख सरकारले आफैं उठाउनुपर्ने माग डा. गोविन्द केसीले उठाइदिँदा गोविन्द केसीमाथि त्यसरी जाइलाग्नुपथ्र्यो ? गंगामाया अधिकारीका बारे सर्वोच्च अदालतले गरेको निर्णय पालना गर्न केले रोकेको थियो ? संस्कृत विश्वविद्यालयका उपकुलपतिलाई त्यस्तो अपमानजनक ढंगबाट व्यवहार गर्नु हुन्थ्यो ? साढे चार करोड रुपैयाँको भारतीय सहयोगमा बनेको पुस्तकालय उद्घाटन गर्न प्रधानमन्त्री जाने हो ? अनि चीनलाई दुईवटा गैंडा हस्तान्तरण समारोहमा प्रधानमन्त्री आफैं उपस्थित हुने हो ? यो के गाईजात्रा गरेको ? यस्ता विषयमा अल्झिएपछि वास्तविक राजकाजमा स्वतः आँच पुग्ने नै भयो।

गर्नुपर्ने काम सबै ओझेलमा परेका छन्, नगर्नुपर्ने काम सबैमा प्रधानमन्त्री संलग्न भएका छन्। अनि विकास कसरी हुन्छ ? धेरै वर्ष पहिले मैले ‘हाउ टु बि अ मिनिस्टर (मन्त्री कसरी बन्ने)’ शीर्षकको एउटा पुस्तक किनेको थिएँ। जेरल्ड कोफमन सन् १९७० देखि २०१७ सम्म बेलायती सांसद रहे। बीचमा उनी मन्त्री र छायामन्त्री भए। राजनीतिमा आउनुअघि उनी पत्रकार थिए। उनले सन् १९८० मा लेखेको ‘हाउ टु बि अ मिनिस्टर’ लाई कयौं महत्वपूर्ण मन्त्रालय सम्हालेका विपक्षी राजनीतिज्ञ केन्नेथ क्लार्कले ‘पहिलो पटक मन्त्री बनेका सबैलाई पढ्न सिफारिश गर्छु। यो अहिलेसम्मकै सबभन्दा उत्तम निर्देशिका (गाइड) हो।’ भनेर टिप्पणी गरेका छन्। प्रधानमन्त्री मार्गारेट थ्याचर र जन मेजरको कार्यालयले त सो पुस्तक नयाँ मन्त्रीहरूलाई पढ्न ‌औपचारिकरूपमै सिफारिश गरेको बताइन्छ। सो पुस्तकबाट बेलायतजस्तो तुलनात्मकरूपमा सुसंस्कृत राजनीति र राजकाज भएको अनि दक्ष मन्त्रीहरू नियुक्त हुने देशमा समेत राजकाजको ढंगमा कमीकमजोरीहरू हुने गरेको प्रष्टै बुझ्न सकिन्छ।

नेपालमा पद पाउनेबित्तिक्कै ह्वात्तै दम्भ बढ्ने व्यक्तिहरू प्रशस्तै भेटिन्छन् र मन्त्री, प्रधानमन्त्रीहरूमा त त्यो अझ व्यापकरूपमा भेटिन्छ। उनीहरूमा ‘अब मैले जे गरे पनि हुन्छ’ भन्ने मानसिकता अनौठोरूपमा पलाउँछ।

पुस्तकमा मन्त्री कसरी बन्ने, मन्त्री बनेपछि उत्पन्न हुने भ्रमहरू, मन्त्री बनेपछि काम कसरी सुरुवात गर्ने, भएको प्रणालीलाई कसरी चलायमान बनाउने, मस्यौदाहरू कसरी तयार पार्ने, नीतिहरू कसरी बनाउने, मन्त्रिपरिषद् र संसद्मा कसरी प्रस्तुत हुने, आफ्नो पार्टी र निर्वाचन क्षेत्रसँगको सन्तुलन कसरी कायम गर्ने जस्ता अनेकौं विषयमा अत्यन्तै सहायकसिद्ध हुने सामाग्रीहरू प्रस्तुत गरिएको छ। स्वाभाविक रूपमा बेलायत र नेपालको परिप्रेक्ष्य र सन्दर्भमा आकाश–जमिनको अन्तर छ। बेलायतको राजकाजमा शब्द र वाक्य समायोजनका जटिलता होलान् तर नेपालको राजकाजमा त शब्द नै लेख्न सिकाउनुपर्ने अवस्था देखियो। दशकौंसम्म राजनीति गर्दा पनि कसैले ‘राजकाज’ शुद्धसँग लेख्न सकेको देखिएन।

अब के गर्ने ?

इमानदार नेतृत्व चयन

केटाकेटीहरूलाई इमानदारी सिकाउन सकिन्छ तर उमेर पुगिसकेकाहरूलाई इमानदार बन्न सिकाउन सकिँदैन, त्यो आत्मज्ञानबाट प्राप्त हुने गुण हो। विधिको शासनले ठूलो हदसम्म नागरिकलाई इमानदार बनाउन वाध्य तुल्याउन सकिन्थ्यो तर हामीकहाँ शासन गर्नेहरूबाटै विधि तोडिने गरेको छ, त्यसैले त्यो पनि सम्भव भएन। ‘हाउ टु बि अ मिनिस्टर’ मा ‘हाउ टु बि अनेस्ट’ अर्थात ‘इमानदार कसरी बन्ने’ भन्ने खण्ड नै छैन। त्यो बेलायती राजनीतिज्ञहरूका लागि महत्वपूर्ण मुद्दा नै होइन किनभने इमान्दारी त उनीहरूका लागि स्वतः अपेक्षित विषय हो।

क्षमता बहसको विषय हो, इमानदारी खासै बहसमा आउने विषय होइन। हाम्रो लागि भने सबैभन्दा प्रधान विषय नै इमानदारी हो, त्यसपछिमात्र अन्य विषयहरूमा हामी प्रवेश गर्न सक्छौं। नैतिक धरातल रसातलमा पुगेको नेपाली समाजमा इमानदारीलाई पुनस्र्थापित गर्नु सहज होइन, तर त्यसको विकल्प नै छैन। तसर्थ हामीले सबैभन्दा पहिले बुद्धिविवेकले भ्याएसम्म इमानदार नेतृत्व चयन गर्नुपर्‍यो। त्यो गर्न सकेनौै भने हामी दशकौंको दलदलबाट कहिल्यै बाहिर निस्किन सक्ने छैनौं। व्यक्ति इमानदार भएन भने उसको क्षमताले झन् ठूलो हानी पुर्‍याउँछ।

पदभारसँगै तालिम

उच्च पदमा पुगेका आम नेपालीमा एउटा अनौठो मानसिकता छ—तालिम दिने हो, लिने होइन भन्ने। तर तालिम भनेको जिन्दगीभर लिए पनि नसकिने विषय हो। त्यसैभएर, संसारका ठूलाठूला कम्पनीहरूमा उच्च नेतृत्वलाई बारम्बार विविध तालिमहरू दिइ नै राखिन्छ। नेपालमा जसरी लोकसेवा परीक्षा उत्तीर्ण भएका भर्खरका शाखा अधिकृतहरूलाई तालिम नदिई कामको पूर्ण जिम्मेवारी दिइँदैन, त्यसैगरी नवनियुक्त मन्त्री तथा प्रधामन्त्रीहरूलाई पनि सबैभन्दा पहिले ‘मन्त्री र प्रधानमन्त्री कसरी बन्ने’ भन्ने तालिम दिनु अत्यावश्यक देखिन्छ।

तुलनात्मकरूपमा दक्ष र इमानदार भूतपूर्व प्रशासक, मन्त्री, आवश्यक परे प्रधानमन्त्री र बाहिरका विशिष्ट व्यवस्थापन विज्ञहरूले त्यस्तो तालिम दिन सक्छन्। बेलायतमा केही वर्षअगाडि दुईजना सांसदहरूले राजनीतिज्ञहरूलाई पदभार ग्रहण गर्नुअघि र पदभार ग्रहण गरिसकेपछि उनीहरूको कामलाई प्रभावकारी र परिणाममुखी बनाउन तालिमको व्यवस्था गर्नुपर्ने माग नै अघि सारेका थिए। नेपालमा त त्यसो नगरी नहुने अवस्था छ। राजकाजको तालिम नदिने हो भने हाम्रा मन्त्री र प्रधानमन्त्रीहरु सधैं तपशिलका विषयमा अल्झिरहने र प्राथमिकतामा राख्नुपर्ने विषयमा भने परिणाममुखी ढंगबाट अगाडि बढ्नै नसक्ने अवस्था देखिएको छ।

सिक्ने रहर

जो व्यक्तिले हरेक हेराइ, बुझाइ, घुमाइ, पढाइलाई सिक्ने अवसरको रूपमा प्रयोग गर्न सक्छ उसले मात्र प्रभावकारी नेतृत्व गर्न र ठूलो उपलब्धि हासिल गर्न सक्छ। जंगबहादुर राणा एकपटक बेलायत जाँदा उनले जे देखेर, बुझेर आए त्यसमध्ये कयौं कुरा नेपालमा लागू गरे। आज हाम्रा नेताहरू दशौंपटक विदेश जान्छन्, तर तिनले दिनदिनै बस्ने कार्यालयमा टेबल कसरी मिलाउने, भित्तामा फोटोहरू कसरी झुन्ड्याउने, सोफा, पर्दा र भित्ताको रङ कसरी मिलाउने अथवा ती सबै जान्ने ‘इन्टेरियर डेकोरेट’ लाई बोलाएर कोठा कसरी चिटिक्क पार्ने भन्नेसम्म कहिल्यै सिकेको देखिएन। पैसाको कुरा हुँदै होइन, सामान्य ज्ञानको कुरा हो। अपवादलाई छोडेर भन्नुपर्दा, दिनदिनै आफू बस्ने टेबल र कोठा मिलाउन नजान्नेले देश बनाउन जान्दैन।

नेपालमा प्रधानमन्त्रीको बालुवाटार निवासका पाहुना कक्षहरूमा पुग्नेबित्तिकै त्यहाँ बस्ने प्रधानमन्त्रीले देश बनाउन सक्छन् या सक्दैनन् भन्ने स्वतः अनुमान लगाउन सकिन्छ। मैले यो सानो देखिने उदाहरण दिनाको कारण, दिनदिनै आफ्नै आँखाअगाडिको साना कुरा मिलाउनसम्म सिक्न नजान्नेले ठूला कुरा कसरी सिक्न सक्छन् ? कुनै नौलो, ठूलो काम गर्नुपर्‍यो या गम्भीर समस्या आयो भने सिंगापुरका प्रधानमन्त्री लि क्वान युले आफ्ना मन्त्रीहरूलाई यस्तो अवस्था निश्चय पनि कुनै न कुनै देशमा आइसकेको हुनुपर्छ, उनीहरूले त्यो अवस्थालाई कसरी ‘ह्यान्डल’ गरेछन्, पत्ता लगाउनोस् त’ भन्ने गर्थे रे। सदा सिक्ने रहर भइदियो भने धेरै काम आफैं सरल भएर जान्छ। प्रसिद्ध अमेरिकी राष्ट्रपति जन एफ केनडीले ‘नेतृत्व र सिक्ने रहर एकअर्कासँग अभिभाज्य छन्’ भनेर त्यसै भनेका होइनन्।

दम्भ व्यवस्थापन

फेरि एकपटक पूर्व सचिव किशोर थापालाई उद्धृत गरौं। उनी भन्ने गर्छन्, ‘हामी धेरै नेपालीहरू सानो चित्त र ठूलो दम्भ भएका मानिस हौं।’ दम्भ बोक्ने व्यक्तिहरूको मन स्वतः सानो हुन्छ, तिनको मन छिटै दुख्छ र परिणामस्वरूप ती पूर्वाग्रही, ईष्यालु र तीक्त हुन्छन्। नेपालमा पद पाउनेबित्तिक्कै ह्वात्तै दम्भ बढ्ने व्यक्तिहरू प्रशस्तै भेटिन्छन् र मन्त्री, प्रधानमन्त्रीहरूमा त त्यो अझ व्यापकरूपमा भेटिन्छ। उनीहरूमा ‘अब मैले जे गरे पनि हुन्छ’ भन्ने मानसिकता अनौठोरूपमा पलाउँछ। त्यसमा पनि झन् क्षमता र शैक्षिक पृष्ठभूमि कम रहेछ भने ती हिनताबोधको मानसिकताबाट ग्रस्त हुन्छन् र तिनमा हिनतायुक्त दम्भ पलाउँछ। त्यस्ता व्यक्तिहरूले राजा महेन्द्रको नेतृत्व कौशलबाट सिके हुन्छ जसले न धेरै पढेका थिए, न त देश–विदेश घुमेका थिए। नेपालका जानेमानेका गणतन्त्रवादी कम्युनिस्ट नेताले समेत कयौं पत्रकारहरू उपस्थित भएको कार्यक्रममा ‘नेपालमा राजा महेन्द्रजस्तो राजनेता त जन्मिएकै छैनन्’ भनेको मैले सुनेको छु। उनी आफू पढेलेखेको नभए पनि, पढेका–लेखेका, देशविदेश देखेका, क्षमतावान, प्रतिभाशाली सबैलाई सही ठाउँमा सही काम लगाउन जान्दथे। उनी राजा हुनाले उनमा राज श्री दम्भ त थियो नै।

सम्भवतः त्यसैले हुनुपर्छ उनले बीपी कोइरालासँग सन्तुलिन सम्बन्ध राख्न सकेनन्। तर अन्य कामका हकमा भने उनको शैली र क्षमताका बारे उनीसँग काम गरेकाहरू मुक्तकण्ठले प्रशंसा गर्छन्। राज महेन्द्रसँग काम गरेका पूर्वमन्त्री तथा कूटनीतिज्ञ डा. भेषबहादुर थापाले एक ठाउँमा आफ्नो संस्मरणमा लगभग यसो भनेका छन्—कोदारी राजमार्ग निर्माणको अमेरिका र भारतले विरोध गरिरहेका थिए। एकपटक राजा महेन्द्रले मलाई भने, ‘हेर भेषबहादुर, तिमी अमेरिकामा पढेको मान्छे, तिमीलाई अंग्रेजी पनि राम्रो आउँछ, मलाई त अंग्रेजी राम्रो आउँदैन, त्यसैले तिमी अमेरिका जाउ र उनीहरूलाई कोदारी राजमार्ग हाम्रो भूराजनीतिक आवश्यकता हो, साम्यवाद भित्र्याउने बाटो होइन भनेर भनिदेऊ।’ त्यत्ति एउटा वाक्यबाट राजा महेन्द्रको काम गर्ने सोच र शैली प्रतिविम्बित हुन्छ।

राजकाजकाबारे यस्ता बुँदा थपिँदै जान सक्छ तर मैले समग्रमा चारबुँदामा मात्र यो आलेखलाई सीमित राख्न चाहें, किनभने, ती चारबुँदाले माथि उल्लिखित जेरल्ड कोफमनले आफ्नो पुस्तकमा चर्चा गरेलगायतका अन्य धेरै आधारभूत विषयहरूलाई समेट्दछ। तर हाम्रा नेतालाई राजनीतिसँगै राजकाज नसिकाउने र उनीहरूले पनि त्यसमा विशेष ध्यान नपुर्‍याउने हो भने स्थिर सरकारले पनि विकास नदिने स्पष्ट छ। अन्यथा, नेपालमा बग्रेल्ती नेता जन्मिरहने छन्, कोही राजनेता हुने छैनन्।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...