पूर्व मन्त्री तथा विप्लव नेतृत्वको नेकपाका नेता खड्गबहादुर विक पक्राउ

Published Date: August 8, 2018

काठमाडौं । नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विक (प्रकाण्ड) पक्राउ परेका छन् ।

२०६८ सालमा झलनाथ खनाल प्रधानमन्त्री रहँदा पर्यटन तथा नागरिक उड्ययन मन्त्री बनेका विक हाल विप्लव नेतृत्वको नेकपाका प्रवक्ता रहेका छन् । उनलाई काठमाडौंबाट पक्राउ गरिएको बताइएको छ ।

प्रहरी उच्च स्रोतका अनुसार उनलाई माथिल्लो तहको निर्देशन भन्दै पक्राउ गरिएको हो । गत मंसिरमा भएको निर्वाचनमा चन्दा संकलन तथा विस्फोट लगायतका घटना गराएको आरोप विप्लव नेतृत्वको नेकपामाथि लाग्दै आएको छ ।

मंगलबारमात्रै पार्टीका केन्द्रीय सदस्य आजाद केसी भक्तपुरको डेराबाटै पक्राउ परेका थिए । केही दिनअघि पार्टीका चार पोलिटव्युरो सदस्यहरु मोहन कार्की, कृष्ण धमला, ओमप्रकाश पुन र पदम राईलाई नागढुंगाबाट पक्राउ गरिएको थियो ।

चुनावअघिदेखि नै सो पार्टीका नेताहरु अर्ध भूमिगत रहँदै आएका छन् । विप्लवले २०७१ सालमा तत्कालीन नेकपा–माओवादीबाट विभाजित भएर नयाँ पार्टी गठन गरेका थिए ।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...