‘उनीहरू मधेस नट नेपाल भन्ने, हामी लाचार भएर बस्ने ?’

Published Date: September 26, 2018

गृहमन्त्री रामबहादुर थापाले स्वतन्त्र मधेसका नाममा देश विखण्डन गर्ने गतिविधि बढ्दै गएकोमा चिन्ता व्यक्त गरेका छन् । उनले संघीय संसद्का दुवै सदनलाई सम्बोधन गर्दै त्यस्तो गतिविधि गर्नेप्रति सहानुभूति नराख्न सांसदहरूलाई आग्रह गरे ।

संसद्मा कतिपय सांसद र संसद्बाहिर अधिकारकर्मी तथा नागरिक समाजका अगुवाले बर्दियाका राममनोहर यादवको हिरासतमा मृत्युप्रति उठाएका प्रश्नको जवाफ दिँदै गृहमन्त्री थापाले यादव नेपाल विखण्डनका अभियन्ता रहेको स्पष्ट पारे । संसद्को बैठकमा सांसदहरूका प्रश्नको जवाफ दिने क्रममा उनले यादवको मृत्यु हृदयाघातका कारण भएको र यसको थप अनुसन्धान सरकारले गरिरहेको बताए । उनले हिरातमा यातना दिएर मृत्यु भएको भन्ने आरोपको खण्डन गर्दै मेडिकल रिपोर्टले हृदयाघातबाट मृत्यु भएको देखाएको बताए ।

गृहमन्त्री थापाले विखण्डनकारीहरू स्वतन्त्र मधेसका नाममा खुलेआम ‘मधेस नट नेपाल’ भन्दै हिँड्ने र सरकार लाचार भएर बस्ने अवस्था रहेको बताए । संविधानले यस्ता गतिविधिलाई अपराधका रूपमा परिभाषित गरेको भन्दै यस्ता गतिविधि गर्नेमाथि कारबाही हुने प्रस्ट पारे । ‘स्वतन्त्र मधेस गठबन्धन भन्ने सीके राउतको समूहले मधेस नट नेपाल भन्ने भाषण गर्दै हिँडेका छन् । अस्ति संविधान दिवसको दिन ठाउँठाउँमा उनीहरूले त्यस्ता गतिविधि गर्दा हामी लाचार हुने अवस्था ठीक होइन,’ उनले भने, ‘राममनोहर यादव सोही संगठनका सदस्य र उनले यस्तै नारा लगाउँँदै उपप्रधामन्त्री उपेन्द्र यादव बर्दिया जाँदा समातिएका हुन् ।’

यस्तै, गृहमन्त्री थापाले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणमा एसपी डिल्लीराज विष्ट र उनका छोराबारे अनुसन्धान भइरहेकाले दोषी देखिए कसैलाई पनि नछाड्ने बताए । ‘जनतालाई उनीहरू दोषी लागेको होला तर त्यो अनुसन्धानबाट पुष्टि भएपछि मात्र हिरासतमा राख्न पाइन्छ,’ संसद्मा बोल्दै उनले भने, ‘हाल उनलाई निलम्बन गरिएको छ, छोरामाथि पनि छानबिन भइरहेको छ ।’ लापरबाही, प्रमाण मेटाउन र अनुसन्धानमा कमजोरी गर्ने कसैलाई छुट दिन नसकिने भन्दै उनले दोषीलाई कानुनी कठघरामा उभ्याइने बताए ।

तत्कालीन अवस्थामा सुरक्षामा खटिएका अधिकारीको गल्तीका कारण अनुसन्धानमा ढिला भएको भन्दै गृहमन्त्री थापाले सरकारको बचाउ गरे । ‘१० साउनदेखि हालसम्म सरकारले आफ्नो रूपमा जोड लगाएको छ, पछिल्लो अवस्था भनेको छानबिन समितिको प्रतिवेदन प्राप्त भएको छ,’ उनले भने, ‘केही अघि प्रारम्भिक प्रतिवेदन प्राप्त भएको थियो, त्यसैका आधारमा विस्तृत छानबिन भइरहेको छ ।’ उनले घटना हुँदा खटिएका प्रहरी अधिकृत र उक्त प्रकरणमा संलग्न प्रहरीको गैरजिम्मेवारीपनका कारण यस्तो भइरहेको बताए । उच्चस्तरीय समितिको प्रतिवेदनअनुसार अनुसन्धान तीव्र बनाइएको भन्दै गृहमन्त्री थापाले सत्यतथ्य चाँडै बाहिर आउने दाबी गरे ।

‘अब कानुनी कठघरामा उभ्याउन हामी सफल हुन्छौं,’ गृहमन्त्री थापाले भने, ‘सरकार अपराधीलाई उम्कन नदिने पक्षमा छ ।’ हरेक दिन नेपाली निर्मला विदेशबाट बलात्कृत भएर नेपाल फर्कन बाध्य भएको भन्दै उनले त्यसलाई रोक्न पनि सरकार लागिपरेको बताए ।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...