गत शनिवार इजरायलबाट स्वदेश फर्किएपछि निधन भएकी शेर्पाको परिवारद्वारा सम्प्रेसित समाचारप्रति रोष प्रकट

स्व. शेर्पा वेरोजगार भई रित्तो हात नेपाल फर्किएको होइन - मिग्मा शेर्पा

Published Date: December 25, 2018

गत शनिवार पेटको क्यान्सरबाट पिडित भई लामो समयदेखि इजरायलमा काम गरी स्वदेश फिर्ता भएपछि मृत्यु वरण गर्नुभएकी सिन्धुपाल्चोकको तातोपानी स्थाई घर भएकी मैती शेर्पाको विषयमा फेसवुक, युट्युव लगायतका सामाजिक सञ्जालहरु र विभिन्न संचारमाध्ययमहरुमा आइरहेका समाचारमा पूर्ण रुपमा सत्यता नभएको र गोपनियता भँग गरेको भन्दै मृतक मैती शेर्पाको परिवारले गहिरो दुख व्यक्त गर्दै आलोचना गरेका छन् ।

१ छोरा र १ छोरीकी आमा समेत रहेकी ४८ बर्षिया मैती शेर्पा सन् २००७ मा इजरायल प्रवेश गरेकी थिइन । शेर्पा इजरायल प्रवेश गरेको ७ बर्षपछि सन् २०१४ मा उनमा क्यान्सर देखा परेको थियो । क्यान्सर जस्तो भयानक रोगका वावजुध पनि स्व. शेर्पा स्वदेश फिर्ता नहुन्जेलसम्म निरन्तर आफ्नो रोजगारीमा रहँदै आईरहेकी थिइन । स्व. शेर्पाकी इजरायलमै कार्यरत वहिनी मिग्मा शेर्पाले संचारमाध्यममा आइरहेका समाचारहरुप्रति तिब्र आक्रोस व्यक्त गर्दै भनिन् – “मेरी दिदी इजरायल आएदेखि नेपाल फर्किन्जेल एक दिन पनि काम छोडेर बस्नु परेन्, उपचार खर्च हेल्थ इन्स्योरेन्सले व्यहोर्दै आइरहेको थियो, समाचारमा उपचार गर्दा गर्दै ठूलो धनराशी खर्च भएपछि बेखर्ची भएकी उनलाई एनआरएनए इजरायलले उपचारमा सहयोग गरेको भन्ने समाचार सरासर गलत हो” भन्दै आगाडि थपिन,- “दिदी उपचार गरेर बेखर्ची कहिल्यै भइनन् । उनले सहयोगको पैसा नलिने भन्दै आइरहेकी थिइन, हामीले एनआरएनमा हात फैलाउन गएका पनि थिएनौ, तर छिरिङ शेर्पाले सबैले लिइराखेको छ लिनुस भनेपछि एनआरएन इजरायलको चुनाव हुदाको केही महिना अघिदेखि हामीले पैसा लिएका हौं, यसरी मान्छेको वेइज्यतै हुन्छ भन्ने थाहा भएको भए दिदीले पैसा लिने थिइनन् ।”

स्व. मैती शेर्पा

वहिनी मिग्मा शेर्पाले क्यान्सर रोग भन्दा वित्तिकै नेपाली समाज त्यसप्रति भयवित रहेको र त्यसलाई नकारात्मक रुपमा लिने हुदा आफुहरुले एनआरएनए बाट पैसा लिदा दिदीको रोगको गोपनियता भंग नहोस् भन्ने शर्तमै पैसा लिएको बताउदै एनआरएनले नै भिडियो खिचेर विना अनुमति युट्युवमा हालेर प्रचारवाजीमा उत्रिएको आरोप लगाइन । उनले आफ्नो विरामी आमालाई दिदीको रोगको बारेमा लुकाइरहेको बेला एनआरएनले सार्वजनिक गरेको दिदीको शल्यक्रिया गरेको भिडियो हटाउन अनुरोध गर्दा समेत सुनुवाई नभएकोमा आक्रोस पोख्दै एनआरएनएले गरेको सहयोग फिर्ता गर्ने चेतावनी समेत दिइन ।

दिदीको मृत्युमा शोकमा डुविरहेको अवस्थामा आफूहरुलाई भ्रामक हल्ला फैलाइएको भन्दै शेर्पाले समाचार सम्प्रेशण गर्दा समवन्धित मान्छेसँग जानकारी र अनुमति नलिई अवफाह फैलाउने को हो भन्दै रोष प्रकट गरेकी थिइन । उनले दिदी जुन लक्ष्यका साथ इजरायल प्रवेश गरेकी थिइन उनका सम्पूर्ण लक्ष्यहरु पुरा गरी रोजगारदाताको देहान्त पश्चात आफ्नो सेवा अवधि सकिएर रोजगारदाता र विमा कम्पनीबाट पाउने सम्पूर्ण सुविधा लिएर करिव साढे ४ महिना अघि वहिनी मिग्मा शेर्पाको साथमा स्वदेश फर्किएकी थिइन । वहिनी मिग्मा शेर्पाले दिदीको अप्रेशनको क्रममा अस्पतालमा खाना वनाएर लैजाने दिदिवहिनी, कुरुपवा बसेर सहयोग गर्ने दिदीवहिनीहरु तथा नैतिक तथा भौतिक रुपमा सहयोग पुर्याउनुहुने सम्पूर्णमा इजरायलवासी दिदीवहिनीहरुप्रति हार्दिक आभार प्रकट गर्दै धन्यवाद ज्ञापन गरेकी छिन ।

स्व. शेर्पाको गत २२ डिसेम्वर शनिवार उपचारको क्रममा भक्तपुरस्थित क्यान्सर अस्पतालमा  निधन भएको थियो ।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...