योजनाका बोर्ड छाप्न नगरपालिका कर्मचारीको ब्यवसायीसँग मिलेमतो

५ सयमा हुने काम ५ हजार खर्च गराइदै ः

Published Date: February 26, 2019


प्यूठान, फगुन १४  ।

प्यूठान नगरपालिका प्यूठानले ब्यवसायीसँगको मिलेमतोमा उभोक्तालाई दुःख दिने गरेको रहस्य खुलेको छ । नगरपालिकाले संचानल गरेका विकास निर्माणका योजनाको होडिङ बोर्ड र सुचना बोर्ड राख्नको लागि आफूले चाहेको ब्यवसायीलाई मात्र छपाउन दिएको स्थानीय उपभोक्ता समितिले दुखेसो गरेका छन् ।

उपभोक्ताका अनुसार फ्लेक्स प्रिन्ट र टिनको पातामा लेखेको बोर्डहरु फिर्ता गरीदिने गरेको रहस्य खुलेको हो । स्थानीयले टिनको पातामा मेसिनले मात्र छपाइ गरेको बोर्ड मात्र मान्य हुने गरेको बताएका छन् । नगरपालिकाले टिनको पातामा छाप्ने ब्यवसायीसँग मिलेमतो गरी एकतर्फि एकाधिकार लादेको उपभोक्ता समितिको गुनासो छ ।

टिनको पातामा छाप्ने ब्यवसायीसँग मिलेमतोमा अन्य सुचना बोर्ड र अन्यत्र छाप्न नपाइने नियम समेत अनौठो रहेको र आफूहरुले पहिलो पटक सुनेको उपभोक्ता समितिको भनाई छ । फ्लेक्स प्रिन्ट छपाई गर्दा न्युनतम ५ सय रुपैयाँ लाग्ने बोर्डलाई आफूहरुले ५ हजारभन्दा बढी तिर्नुपरेको उनीहरुले बताएका छन् ।

३ महिना पहिले गाउँमा राखेको सुचना बोर्ड फिर्ता गराई टिनको पातामा छापेको बोर्ड राखेमात्र भुक्तानी दिने भन्दै प्यूठान नगरपलिक वडा नं. ५ स्थित ढुङ्गेठाँटी–ढाँडछाप–काफलबुटा–लम्छ्याङनेटा मोटरबाटो उपभोक्ता समिति अध्यक्ष रुकमान बुढामगरले आफ्नो सम्पन्न कागजात फिर्ता गरेको बताउनुभयो ।

उहाँका अनुसार काम सम्पन्न भएको योजनाको भुक्तानी नगरपालिकाका इन्जिनियर र अन्य कर्मचारीले रोकिदिएका छन् । अन्य उपभोक्ता समितिका पदाधिकारीहरुले भने आफ्नो भुक्तानी रोकिने डरले धेरैले बोल्न चाहेका छैनन् ।

आफूले चाहेको ब्यवसायीलाई मात्र बोर्ड छाप्न दिएर चरम लापरवाही र मोटो रकम कर्मचारी र नगरपालिकाले अवैध रुपमा मोटो रकम असुल्ने गरेको जिएम आर्टस बिजुवारका हिमाल जिएमले बताउनुभयो । उहाँले भन्नुभयो, ‘नत्र अन्य गाउँपालिकामा जेमा लेखेको भएपनि हुने तर प्यूठान नगरपालिकामा टिनमै छापेको हुनुुपर्ने कारण के हो ?’

नगरपालिकाले जिल्लाका सबै क्षेत्रका ब्यवायीबाट चर्को ब्यवसायी कर असुल्ने गरेपनि छपाई तथा अन्य सामग्री खरीद प्रक्रियामा एकलौटी एउटै ब्यवसायीबाट मात्र काम गर्ने गरेको जिल्लाका ब्यवसायीहरुको गुनासो छ ।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...