हेलिकप्टर दुर्घटनामा परेका पर्यटन मन्त्री रवीन्द्र अधिकारीसहित सबैको मृत्यु भएको पुष्टी । प्रधानमन्त्री कार्यालयमा आकस्मिक बैठक

Published Date: February 27, 2019

काठमाण्डौ – ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परेका पर्यटन मन्त्री रवीन्द्र अधिकारीसहित सबैको मृत्यु भएको पुष्टी भएको छ । दुघर्टनाग्रस्त हेलिकप्टरमा पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित प्रधानमन्त्रीका स्वकीय सचिव युवराज दाहाल, यति एअरलाइन्सका प्रमुख आङछिरिङ शेर्पा, नागरिक उड्डयन प्राधिकरणका निर्देशक ध्रुब भोछिभोया तथा उप-महानिर्देशक विरेन्द्रप्रसाद श्रेष्ठ तथा अर्जुन घिमिरेको  निधन भएको बताइएको छ । दुर्घटनामा परि एयर डाइनेस्टीका पाइलट प्रभाकर  केसीको पनि निधन भएको हो । 

सबैको मृत्यु भएको पुष्टी भएपछि अहिले बालुवाटारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक बसिरहेको छ ।  

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले दिएको जानकारीअनुसार घटनास्थलमा ५ वटा शव भेटिएको छन् । पाथिभराबाट तेह्रथुममा रहेको चुहानडाँडा विमानस्थलको अवलोकनका लागि  उडेको हेलिकप्टर पाथिभरा नजिकै  तारेभिरमा दुघर्टना भएको हो । 

एएमआई अल्फा माइक इन्डिया कल साइनको दुघर्टनाग्रस्त हेलिकप्टर आज बिहान साढे ८ बजे काठमाडौँबाट ताप्लेजुङ गएको थियो ।  दुर्घटनास्थल फुङलिङ नगरपालिका र भक्तालुङ गाउँपालिकाको सीमा क्षेत्रमा पर्छ । स्थानीय नागरिक घटनास्थलमा पुगिसकेको भए पनि जिल्लास्थित सरकारी अधिकारी तथा प्रहरीको टोली पुग्दै छ ।  

दुर्घटनास्थलमा पुगेका रतन कार्कीले हेलिकप्टरको दुई वटा पङ्खा मात्र बाँकी रहेको र अन्य भाग जलेर नष्ट भएको बताउनुभयो । उहाँले अहिले मानिसका शवहरु बलिरहेको र हेलिकप्टरको अन्य भाग जलेर नष्ट भएको फोनमार्फत जानकारी दिनुभयो । 



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...