बा जस्तै बन्न मन छ

Published Date: August 30, 2019

साहित्य संकलक र प्रकाशक -अन्तरास्ट्रिय नेपाली साहित्य समाज नर्थ इस्ट ओहायो च्याप्टर

-हेमन्त गिरी, हाल जापान

सानो कदका
सानै पदका !
अलिकती रिस बोक्ने
अलि बढी माया बोक्ने !
कुरा बनाउन नजान्ने
व्यवहार बिगार्न नमान्ने !
सत्यको बाटो नछोड्ने
परिस्थितिमा पाइला नमोड्ने !
आँखा खोली हेर्दा आशा जस्ता
आँखा चिम्ली हेर्दा विस्वास जस्ता !

पौरखले धर्ती उचाल्ने
अवरोधहरूमा आकास खसाल्ने !
अस्कोटको गोजीमा मिश्री बोकी
ओंठ बाट अनौठा गाली ओकल्ने !
झट्ट हेर्दा कस्ता कस्ता
गहिरिएर हेर्दा सकल मानव जस्ता !
…मलाई बा जस्तै बन्न मन छ !

पीरको पहाडलाई प्याट्टै फुटाइदिने
हाँसेर बाँच्न हिम्मत जुटाइदिने !
सन्तानले खाए आफू अघाइदिने
दुनियाँका श्रापलाई काँचै चपाइदिने !
…मलाई बा जस्तै बन्न मन छ !

म बिग्रेको
के के के के बन्न खोजेर हो
मैले बाटो बिर्सेको
अरु अरु जस्तै बन्न खोजेर हो
जुन भगवान सधै आँखा अगाडी उभिइरह्यो

म बाटो बिराएर मन्दिर धाइरहें !
म बिग्रिएको मोती नचिनेर हो
म खुम्चिएको पितृ-पथ नहिनेर हो !
…मलाई बा जस्तै बन्न मन छ !

जसरी ती ठूला मानिसहरू
कसैका बा थिए !
त्यसरी नै ती साना मानिसहरू पनि
कसैका बा नै थिए !
उस्तै खुसी त टिप्न खोजे होलान
सबै बाहरूले समान आकास बाट !
कसैको आकासमा बादल भेटियो होला
कसैकोमा जुन !
कसैको आकासमा पानी भेटियो होला
कसैकोमा सुन !

उँचाई नपुगेका बा हरू
जमाना संग नझुकेका बा हरू !
छाती ठोकेर बाँचेका बा हरू
स्वभिमान बोकेर हाँसेका बा हरू !
इमानको आटो आर्जिन
बेइमानीको बास्मती
बागमतीमा सेलाएका बा हरू !
हिमाल ठड्याएका बा हरू
पहाड अड्याएका बा हरू !
तराई जोतेका बा हरू
देश नै बोकेका बा हरू !
भलै देश र कालको
नाम्लो-बरियोले
खिपिएर होंचा भए,
मेरो लागि सगरमाथा तिनै हुन
बुद्ध तिनै हुन
महात्मा तिनै हुन
पृथ्वी तिनै हुन !

जुन हात यो शीर माथि पर्दा
नौ ग्रह खुसीले घुम्छन,
जसका आशीर्वादले
उत्साहहरू ब्रम्हान्ड बन्छन !
…मलाई बा जस्तै बन्न मन छ !

समयले थप्पड हान्नु अघि
बाले चड्कन नहानेको भए !
जमानाले सास थुन्नु अघि
बाले धड्कन ननापेको भए !
न आज अक्षर जन्मिन्थे न आवाज
न आज शब्द जन्मिन्थे न समय !

बा हरू विधीका वैज्ञानिक हुन
बा हरू ईमानका इन्जिनियर हुन !
बा हरु पलपलका वैद्य हुन
बा हरू पला पला का ज्योतिष हुन !
…मलाई बा जस्तै बन्न मन छ !!

✍️ हेमन्त गिरी,जापान

 

 



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...