किन चाहिन्छ हामीलाई भिटामिन डी र उमेर अनुसार कति चाहिन्छ? -सामान्य भाषामा

Published Date: September 9, 2019

-रोहित भण्डारी, MScMLS, MLS(ASCP)

पहिले पहिले भिटामिन डी लाई खाली क्यल्सियम र फोस्फोरस जस्ता तत्वहरुलाई नियमन र नियन्त्रण गर्ने र शरीरमा रहेका हाड र हाड जन्य अङ्गहरुलाई बलियो बनाउने पोषण तत्वको रुपमा बुझ्ने गरिन्थ्यो। तर बिभिन्न खोज र अनुसन्धान पछी भिटामिन डीलाई बिभिन्न सन्क्रमण र रोगक्षमता शक्तीको रुपमा पनि एउटा महत्वपूर्ण पोषण तत्वको रुपमा लिने गरिन्छ। अहिले खास गरिकन भिटामिन डी लाई शरीरमा हुन सक्ने सन्क्रमणको बिरुद्दमा यसको भूमिका र रोगहरुको प्रकृयामा यसको कमिले हुने समस्याहरुलाई पनि निकै चासोपुर्बक लिईएको छ। भिटामिन डी को कमिले बातको रोग, चिनीरोग(मधुमेह), मोटोपनको समस्या र मुटु सम्बन्धी रोगहरुमा समेत असर हुनसक्ने कुरा पनि बिभिन्न किसिमका अनुसन्धानहरुबाट प्रमाणित भई नै सकेका छन।

अहिलेको समयमा काम वा मौसमको गढबढी, शान्ती-सुरक्षा, सुखसयल र भौतिक सुबिधाको उपभोगका लागी घर वा बिल्डिंग भित्र नै बस्ने, रमाउने अनि  छालाको रोगबाट जोगिने नाउमा अत्यधिक सनस्क्रिन, लोसन र पाउडरको प्रयोग अनी सम्पूर्ण शरीर छोपेर लगाउने पहिरनको कारण पनि शरीरमा घामको कमिले छालामा बन्ने भिटामिनको कमी हुन गई शरीरमा बिभिन्न लक्षणहरु देखिन थालेका छन। अहिले रगतमा भिटामिन डीको एक तत्व जसलाई २५-हाइड्रोक्सी भिटामिन डी भनिन्छ त्यसमा विज्ञहरुको एक किसिमको सहमती अनुसार ५० न्यानो मोल प्रती लिटर भन्दा कम छ भने त्यो ब्यक्तीमा भिटामिनको कमी छ भन्न सकिन्छ(यो नम्बर जाच र जाच्ने पद्दती अनुसार फरक हुन सक्छ)।

भिटामिन डी खानाको स्रोत अनुसार कोलेक्यल्सिफेरोल अथवा एर्गोकल्सिफेरोलको रुपमा खाने कुरामा पाईन्छ। तर यसको प्राथमिक स्रोत भने हाम्रो छालामा भएको ७-डीहाइड्रोकोलेस्टेरोल भन्ने  पदार्थ नै हो जसलाई घाममा पाइने अल्ट्राभायोलेट भन्ने किरणले भिटामिन डीमा बदल्छ। त्यसकारण हामीलाई घाम ताप्नु निकै लाभदायक हुन्छ। अर्का तर्फ अत्यधिक घाम ताप्नाले हुने छालाको  क्यान्सर र खाने कुरामा हुने कम मात्राको भिटामिन डी अहिलेका मुख्य चुनौती भने यथावत नै छन।

खानाबाट आएको भिटामिन डी अथवा घामको कारणले छालामा बनेको भिटामिन होस् त्यो कलेजोमा गएपछी भिटामिन डी कै अर्को रुपको रसायनिक तत्वमा परिवर्तन हुन्छ त्यसपछी फेरी त्यो तत्व म्रिगौलामा पुगेपछी खास कृयाशिल र कामयोग्य भिटामिन डी बन्दछ त्यसलाई अङ्रेजीमा १,२५-डाईहाइड्रिओक्सी भिटामिन डी भनिन्छ। त्यही १,२५-डाईहाइड्रिओक्सी भिटामिन डी शरीरमा रहेका बिभिन्न कोस र स-साना पदार्थ र अणुहरु सँग मिलेर रसायनिक प्रतिकृयाको माध्यमबाट हार्मो शरीरमा अत्याबश्यक मानिने क्यल्सियम, फोस्फोरसको नियमन र नियन्त्रण गर्नुको साथै बिभिन्न किसिमका सन्क्रमणसँग मुकबिला गर्नुका साथै रोगक्षमता शक्तिलाई प्रभावकारी र मजबुत राख्न मद्दत गर्दछ।

भिटामिन डी को कमी भयो भने बयस्कहरुमा हाड कमजोर हुने रोग ओस्टियोमलेसिया तथा ओस्टिओपोरोसिस र केटाकेटीहरुमा रिकेट्स भन्ने रोग लाग्दछ जसको कारणले हड्डी कमजोर हुने, दब्ने, टुट्ने फुट्ने, भाचिने, दुख्ने र माम्शपेशी समेत कमजोर हुने र दुख्ने हुन्छ।

भिटामिन डी का स्रोतहरु

घाम र छाला

अन्डाको पहेलो भाग

च्याउ

दुध,दही, मही

भटमासको दुध

माछा

घिउ

मासु खासगरी कलेजो

ट्याबलेट अथवा क्याप्सुल (औषधीको रुपमा)

धेरै खानाहरुमा भिटामिन डी हुने भएपनी त्यो अत्यन्त न्युन मात्रामा हुने हुनाले हामीले सकेसम्म खास खास खानाहरुलाई आफ्नो भोजनमा सन्तुलित हिसावले समाहित गराउनु पर्दछ।

कति मात्रामा चाहिन्छ त भिटामिन डी

सन २०१० को नोवेम्बर ३० तरिकामा अमेरिकामा रहेको इन्स्टिच्युट अफ मेडिसिनले निकालेको तालिका अनुसार निम्न उमेर र अवस्था अनुसार भिटामिन डी को आवश्यकता पर्दछ।

जन्मे पछी ६ महिना सम्म-४०० देखी १०००  इन्टरन्यासनल युनिट प्रती दिन

६ महिना देखी १ बर्ष सम्म-४०० देखी १५०० इन्टरन्यासनल युनिट प्रती दिन

१ बर्ष देखी ३ बर्ष सम्म-६०० देखी  २५००  इन्टरन्यासनल युनिट प्रती दिन

४ बर्ष देखी ८ बर्ष सम्म-६०० देखी ३०००   इन्टरन्यासनल  युनिट प्रती दिन

९ बर्ष देखी ७० बर्ष सम्म-६०० देखी ४०००  इन्टरन्यासनल युनिट प्रती दिन

७० बर्ष भन्दा माथि-     ८०० देखी ४०००  इन्टरन्यासनल युनिट प्रती दिन

१४ बर्ष देखी ५० बर्ष सम्मका गर्भवती र स्तनपान गराईरहेका महिला-६०० देखी ४०००  इन्टरन्यासनल युनिट प्रती दिन

भिटामिन डीको कमीले रोग निम्ताए जस्तै बिभिन्न रोगहरु उदाहरणको लागी म्रिगौला र कलेजोको रोग, आन्द्राको रोग, आमाशयको रोग, मोटोपन आदीको कारणले पनि भिटामिन डीको कमी हुन जान्छ। त्यसका अतिरिक्त बिभिन्न रोगका लागी प्रयोग हुने औषधीहरुले पनि शरीरमा भिटामिन डीको मात्रा घटाऊछन। ति औषधीहरुमा कब्जियत हुँदा खाने, एलर्जी, रगतमा बोसो घटाऊने, छारे रोग र क्षयरोग लगायतका औषधीहरु पर्दछन।

माथि तालिकामा देखाए बमोजिम भिटामिन डी भएका खानाहरु र औषधी सेवन गर्नु पर्दछ। तर अचम्मको कुरा के छ भने माथि उल्लेख गरे भन्दा अत्यधिक मात्रामा सेवन गर्दा भिटामिन डी ले हाम्रो शरीरमा नकारात्मक असरहरु गर्न सक्दछ। त्यस्तो भएमा वाकवाक लाग्ने, वान्ता हुने, जिउ चिलाउने, धेरै तिर्खा र पिसाव लाग्ने, भोक नलाग्ने, कब्जियत हुने, कमजोरी हुने, शरीरको वजन घट्ने लगायत मुटुको धड्कनमा गडबढी हुने, कन्फ्युजन हुने देखी लिएर सम्भवत प्यन्कृयाजको क्यान्सर सम्म हुन सक्ने अनुसन्धानले देखाएको छ।

भिटामिन डी को जांच कसरी गराउने

भिटामिन डी को जांच अहिले नेपालका धेरै जसो मुख्य अस्पताल र प्रयोगशालामा हुन्छ जस्तै महाराजगन्ज शिक्षण अस्पताल, वीर अस्पताल, प्पाटन अस्पताल, जनस्वास्थ्य प्रयोगशाला टेकु, नेसनल रेफरेन्स ल्याब बानेश्वर आदि। यो जांच २-३ बर्षमा एक पल्ट गराउदा हुन्छ। यसको लागि तपाईले २ देखि ३ मिलिलिटर रगत दिनुपर्ने हुन्छ।रगत दिदा खाली पेट वा खाना खाएर दुबै अबस्थामा दिन सकिन्छ। यसको रिपोर्ट सामान्यतया एक वा दुई दिनमा तयार हुन्छ।

 

 

(लेखक अमेरिका स्थित एक अस्पतालमा सिनियर मेडिकल ल्याबोरेटोरी साईन्टिस्टको रुपमा कार्यरत छन)

 

 

 

 

 



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...