एक चिकित्सकको चिकित्सा पेशा सम्बन्धि महत्वपुर्ण संदेश

Published Date: September 22, 2019

 

 

 

 

 

 

आदरणीय दाजु, भाइ, दिदि, बहिनी, बुवा, आमा, हजुरबा, हजुरआमा,

आज आइओएमको एमबीबीएसका लागि प्रवेश परीक्षा सम्पन्न भएछ, अब अन्यत्र पनि प्रवेश परीक्षाहरु लिइन्छ्न् । मलाई ती परीक्षा दिइरहेका भाइबहिनीहरु र उनीहरुका अभिभावकहरुलाइ केही भन्न मन लागेको छ ।

भर्खर प्लस टु पास गरेर बसेका प्यारा भाइबहिनीहरु र आदरणीय अभिभावक ज्यूहरु,

म यो यसकारण लेख्दैछु र हजुरहरुले यसकारण पढ्नैपर्छ र पढाउनु पर्छ । किनकी, यसरी नै कसैले दश वर्षअघि यस्तैगरी लेखेको हुन्थ्यो वा मैले पढेको हुन्थेँ भने सायद मेरो जीवन विल्कुल अर्कै हुने थियो ! मैले एमबीबीएस पढ्ने अठोट गर्ने थिइन वा अरु उत्तम विकल्पहरु ओझेलमा पर्ने थिएनन । फर्केर हेर्दा जिन्दगीको सबसे उर्जाशील एवं महत्त्वपूर्ण १० वर्ष देखेर आफैंलाई सहानुभूति दिनुपर्ने थिएन ।

भाइबहिनीहरु, म तिमीहरुजस्तै स्थितिमा हुँदा मलाई लाग्दथ्यो । मैले एमबीबीएस  इन्ट्रास इन्ट्रान्समा नाम निकाल्न सकेँ भने मेरो भविष्य उज्ज्वल हुनेछ । बुवाआमाको मान हुनेछ, उहाँहरु पनि खुसी हुनुहुनेछ, दुःखी बिरामीहरुको सेवा गर्ने मेरो सपना पनि पूरा हुनेछ र समाजमा छुट्टै इज्जत पनि हुनेछ । किन- किन त्यो बेला मेरो दिमागमा एमबीबीएस भन्ने कुरा कस्तरी गढेको थियो ।

त्यसका निम्न कारणहरु हुन सक्छ्न् ।

१)सानैदेखि डाक्टर, इन्जिनियर बन्नुपर्छ भन्ने कुरा दिनहुुँ सुन्दै आइरहेको

२) दुःखी, गरिब बिरामीहरुको सेवा गर्छु भन्ने मनैदेखिको अठोट

३) स्कुलमा होस या कलेजमा डाक्टर, ईन्जिनियर नै उत्तम पेसा हो र सकेसम्म त्यही पढ्नुपर्छ भन्ने कुरा अचेतन मनमा बस्न पुगेको

४) साथीभाइहरुको प्रभाव

५) अरु थुप्रै विधाहरु, रोजाइहरुको ज्ञान नहुनु

६) भिड जताजता जान्छ त्यतै आकर्षित हुनु

७) स्कुलपछि कलेज पढे झैं कलेजपछि इन्ट्रान्स प्रिपरेशन पढ्नैपर्नेजस्तो वातावरण हुनु र नेम, अर्बिटजस्ता इन्ट्रान्स प्रिपरेशन सेन्टरहरूको प्रभावमा पर्नु

८)सानैबाट प्रतिस्पर्धात्मक बनाइएको हामीलाइन्ट्रान्स प्रिपरेशन आफुलाई उत्कृष्ट सावित गर्नको निमित्त पनि नाम निकाल्नैपर्ने बाध्यता

९) आमाबुबाको करकाप वा आग्रह वा रहर

१०) एमबीबीएस पढ्न लाग्ने खर्च : जे खर्चिलो हुन्छ त्यो पक्कै राम्रो र महत्त्वपूर्ण हुन्छ भन्ने मान्यता । पैसा हुनेहरुको लागि शान अनि नहुनेले पनि छात्रवृतिमा निकाल्न सके त कति ठूलो उपलब्धि । अनि पैसा पनि नहुने र छात्रवृत्ति नि नहुनेलाई चाहिँ इख , जसरी नि पढाउने आफ्ना छोराछोरीलाई ! ऋण लिएर , खेतवारी बेचेर भएपनि |

११) एमबीबीएस पढ्ने सिमित सिट : जे दुर्लभ हुन्छ वा पाउन कठीन हुन्छ, त्यो मुल्यवान लाग्नु । त्यसैकारण, सकेसम्म आफ्नै नजिकको वा आफूलाई मन लागेको ठाउँमा वा काठमाडौंमा नभए नेपालभरि जहाँ हुन्छ त्यहीँ नेपालमा नभए चीन, बंगलादेश वा अन्य रास्ट्रहरुमा भएपनि एमबीबीएस गर्न जानेको संख्या उलेख्य छ ।

आदरणीयहरु,  म मध्यम वर्गीय परिवारमा जन्मेको र प्रतिस्पर्धात्मक वातावरणमा हुर्किएको मान्छे । मेरो यात्रा पनि माथि उल्लेखित कुनै कारणवश एमबीबीएसतर्फ डोरिन पुग्यो । तर, त्यो यात्रा मेरो लागि सहज थिएन । डेढ वर्षभरि पढेर बसेर आठ वटा भिन्न-भिन्न परीक्षाहरु पश्चात बल्ल छात्रवृत्तिमा नाम निक्लेको थियो । र, म अत्यन्त खुसी थिएँ । तर, घरपरिवारभन्दा धेरै टाढाको कलेजमा ६ वर्षभन्दा बढी समय कसरी बित्यो मलाई मात्र थाहा छ । धेरै कुराहरु सिकियो, भोगियो । फरक-फरक पारिवारिक र सामाजिक पृष्ठभूमीबाट समान सपना बोकेर आएका साथीहरुसँग संगत भयो, आफ्नो मात्र नभएर सबैको दुःख, समस्याहरु बुझियो । संसारमै कठिन मानिएको एमबीबीएसको पढाइको तनाव, आमाबुबाको अपेक्षाले थपिदिने मानसिक भार, विद्यार्थीलाई पैसाको स्रोतको रुपमा मात्र हेर्ने र आफूले दिनुपर्ने सुविधाहरु दिन सधैं आनाकानी गर्ने निजी मेडिकल कलेज अनि त्यसका संचालक र तिनले गर्ने छुद्र ब्यवहार । कति धेरै मिहिनेत गर्दा पनि पास गर्न मुस्किल परीक्षाहरु । त्यसैबीच कलेजले थपिरहने शुल्कहरु , महिनौँसम्म कति धेरै मानसिक तनावमा रहेर कस्तो अवस्थाबाट गुज्रिएर बल्ल-बल्ल एमबीबीएस पास गरियो । अनि कति धेरै पेलिएर, कति थोरै पारिश्रमिकमा इन्टर्नसीप गरियो । सरासरी पास हुँदा पनि साढे छ वर्ष लाग्यो एमबीबीएस सकिन ।

त्यसैबीचमा एमबीबीएस नरोजेका वा एमबीबीएसले नरोजेका धेरै साथीहरु जिन्दगीको दौडमा धेरै अघि पुगिसकेका थिए । उनीहरु आत्मनिर्भर भैसकेका थिए, आफ्नो आफ्नो पेशामा जमिसकेका थिए । हामी भने अझै पनि आफ्ना आमाबुवामा परनिर्भर थियौँ । मैले छात्रवृत्तिमा पढेवापत सरकारले खटाएको स्वास्थ्य केन्द्रमा दुई वर्ष सेवा गर्नुपर्ने थियो र गरेँ पनि । त्यसबेला पनि थुप्रै अनुभवहरु भए, राम्रा नरामा दुवै । आफ्नै लगानीमा पढेका साथीहरुले पनि स्नातकोत्तर पढ्नुअघि एक वर्ष काम गर्नुपर्ने भएकाले काम गर्न थाले । त्यही बाध्यात्मक अवस्थाको फाइदा उठाउन हो कि किन हो सहर केन्द्रीत अस्पतालहरुले न्यून पारिश्रमिक दिँदा रहेछ्न् । र, त्यतिमै चित्त बुझाएर काम गर्नुपर्ने साथीहरुको बाध्यता । अचम्मको कुरा यो छ कि तिनै मेडिकल कलेजहरु , जसले एमबीबीएस पढ्न लाखौं असुल्छ्न्, उनीहरुले तिनै डाक्टरहरुलाई भने महिनाको पैंतीस हजार दिन पनि हिच्किचाउँछ्न् । तर, सबै कुरा सहेरै राम्रो समय आउला नि भन्ने अपेक्षामा हजारौँ डाक्टरहरु अनिश्चित भविष्यको अस्पष्ट खाका बोकेर रुमल्लिरह्न्छ्न् । थाह छैन अझै कति वर्ष एमबीबीएसपछि पनि किनकि यात्रा लामो छ । एमडी/एमएस (स्नात्कोत्तर) नगरेसम्म्म सुख छैन र त्यो गर्न कठिन मात्रै छैन, अत्यन्त धेरै कठिन छ । कारण : प्रत्येक वर्ष एमबीबीएस सकेर बजारमा आउने डाक्टरहरु हजारौं र एमडी/एमएसको सिट तीन चार सय मात्र ।

तीस वर्षसम्म पनि परजीवि भएर त्यो अनिश्चित भविष्य सुनौलो बनाउन इन्ट्रान्सको तयारी गर्न पढेर बस्ने कि हेपिएर, दिनदाहाडै पिटिइन्छ कि भनी डराएर भएपनि काम गर्दै गर्ने, सिकारु कहलिएर, बहुत आपत पर्छ निर्णय गर्न । यसैबीच धेरै साथीहरु विदेश पलायन भैसकेका हुन्छन् । र, कोहि पलायन हुने तयारीमा हुन्छन् | हुन पनि हो, जहाँ आफ्नो अवमुल्यन हुन्छ, त्यहाँ बसिराख्ने किन? अलिकति साथीहरु सरकारी सेवामा नि प्रवेश गर्छन, उनीहरुका नि आफ्नै समस्याहरु हुन्छ्न् । राज्यले वास्तवमा नै डाक्टरहरुको अवमुल्यन गरेको छ । पछिल्लो अवस्थामा, नेपालको स्वास्थ्य क्षेत्रमा विधमान विसंगतिहरू थोरबहुत छर्लङ्ग भैसकेको अवस्था छ । यद्पी, एमबीबीएसप्रतिको आकर्षण यथावत छ । आखिर किन?

एमबीबीएस पढ्न मरिहत्ते गर्न नपर्ने या भनौ गर्नै नहुने कारणहरु:

१) सातदेखि आठ वर्षको कठोर परिश्रम अनुसारको परिणाम प्राप्त नहुनु

२) दिन रात, चाडवाड नभनी अत्यन्त मानसिक तनावका बीचमा काम गर्नुपर्ने र जस पनि नपाइने

३) लगानीअनुसारको प्रतिफल प्राप्त नहुने

४) जिन्दगीको सबैभन्दा रमाइलो र उर्जाशील समय किताबकै साथमा बित्ने

५) एमबीबीएसपछिको बाटोको पनि टुंगो नहुनु, भाग्यवश लागिहाले पनि आफ्नो खुट्टामा उभिने हुन्जेल बुढो भैसकिने

६) आफै असुरक्षित भई काम गर्नुपर्ने अवस्था

७) यात्रा अवधिभरि खेप्नुपर्ने अकल्पनीय मानसिक तनाव

८) अन्य थुप्रै कारणहरु

अहिलेको जस्तो एमबीबीएस पढ्न मरिहत्ते नगर्ने हो भने के हुन्छ होला?

अहिलेकोजस्तो एमबीबीएस पढ्न मरिहत्ते नगर्ने हो भने इन्ट्रान्स प्रिपरेशन सेन्टरहरुलाई घाटा लाग्ला । निजी मेडिकल कलेजहरुले पर्याप्त बिद्यार्थीहरु नपाउलान र अहिलेको जस्तो महंगो शुल्क उठाउने प्रवृतीमा पनि कमी आउला । कि त निजी अस्पतालहरुले शुल्क घटाउलान कि उनीहरुले त्यति न्यून शुल्कमा पढाउन नसकिने भन्दै मेडिकल कलेज बन्द गर्लान ।

जे भएपनी परिणाम राम्रै हुने देखिन्छ । जब मेडिकल कलेजहरु बन्द हुन्छन्, तब रास्ट्रलाई चाहिने स्वस्थ्य जनशक्ति उत्पाद्न गर्ने दायित्व सरकारमाथि आइपर्छ र तबमात्र सरकारले बुझ्नेछ मूल्य, चिकित्सकहरुको । यसै पनि अहिलेको अवस्थामा चिकित्सकहरुको संख्यामा भन्दा पनि गुणात्मक रुपमा विकास हुनु पर्ने देखिन्छ । विध्यार्थीहरुले पनि एमबीबीएसको सट्टा अरु नै विषय लिएर पढ्नेछ्न् । बेकारको मानसिक तनाव र असुरक्षित लगानी गर्नबाट बच्नेछ्न् । त्यति नै समय र मेहेनत अन्त लगानी गर्ने हो भने उनीहरु सफल र सुखी हुनेछ्न् । छिट्टै आत्मनिर्भर पनि हुनेछ्न् । जुन रास्ट्रको लागि पनि फाइदाजनक हुनेछ । पढाइमा तुलनात्मक रुपमा अब्बल मानिएकाहरु एमबीबीएसमा मात्र आकर्षित नभै अरु विधामा पनि लाग्दा अन्य विधाहरुले पनि कुशल जनशक्ति पाउनेछ्न र रास्ट्रको समग्र विकासमा त्यसले फाइदा नै पुर्याउँदछ ।

भनेपछि MBBS पढ्दै नपढ्ने त?

होइन, पढ्ने नि ! यदि :

१) आफ्नो जीवनको लक्ष्य नै बिरामीहरुको निस्वार्थ सेवा गर्नु हो भने र यावत समस्याहरुले आफूलाई फरक पर्दैन । म मेहेनत गरेर अघि बढ्छु भन्ने आत्मविश्वास छ भने ।

२) आफ्ना साथीहरु, आफन्तहरुसँग आफूलाई दाज्ने र सुख, सफलता आदि तौलिने बानी छैन । र, जिन्दगीमा सबको आफ्नै छुट्टै यात्रा र गन्तब्य हुन्छ भन्न्ने बुझाइ छ भने ।

३) आफ्नै आमाबुवा वा नजिकका आफन्तजनको आफ्नै अस्पताल छ भने वा आफ्नो पछि आफ्नै अस्पताल वा क्लिनिक स्थापना गर्ने योजना एवं पुँजी छ भने ।

४) एमबीबीएस गरिसकेपछि USMLE वा PLAB गरेर US वा UK जाने पूर्वयोजना छ भने वा अन्य दमदार पूर्व योजना छ भने ।

५) निःशुल्क पढ्न पाइन्छ र पढिसकेपछि उचित अवसर, सुविधा र सेवाको सही मूल्याकंनको सुनिश्चितता राज्यले दिन्छ भने ।

६) परिवारको आर्थिक अवस्था मजबुत छ वा आम्दानीको अरु स्रोतहरू छन र चिकित्सा पेसालाई केवल सेवा र सन्तुष्टिको माध्यम मान्ने हो भने

अभिभावकहरुमा अनुरोध

१)आफ्ना प्राणभन्दा प्यारा सन्ततीहरुलाई कृपया आफ्नो रहर वा सपना पूरा गर्न वा समाजमा आफ्नो मान राख्नकै निम्ति एमबीबीएस पढ्न कुनै किसिमको मनोवैज्ञानिक दबाब नदिनुहोस ।

२) आफ्ना सन्ततीहरुलाई सानैबाट यो बन्नुपर्छ त्यो बन्नुपर्छ भन्दा पनि आफ्नो क्षमता र चाहना अनुरुपको बाटो रोज्न प्रोत्साहित गरिदिनुहोस । धेरै बाटाहरु सुझाउनुहोस र रोज्ने अधिकार उनीहरुलाई नै दिनुहोस् ।

३) बुझिदिनुहोस र उनीहरुलाई पनि यो बुझाउनुहोस कि कुनै पेशा सानो ठूलो हुँदैन । र, एमबीबीएस गर्दैमा सुखी, सफल वा महान भइदैन् ।

४) एमबीबीएसभन्दा उत्तम रोजाइहरु अरु थुप्रै होलान् । तिनको बारेमा ज्ञान राख्नुहोस र उनीहरुलाई मार्गदर्शन गर्नुहोस् | अन्धाधुन्ध भिडको पछाडि नलाग्नुहोस ।

देशलाई डाक्टर पुगेकै छैन, किन एमबीबीएस नपढ्ने?

देशमा धेरै थोकको अभाव छ । हामी देशवासीहरुको अभिभारा पनि हो । देशका आवश्यकताहरुको पूर्ति गर्न मद्धत गर्ने, तर यसरी होइन । राज्यले चिकित्सकको अभाव र महत्व बुझेको हुन्थ्यो भने यस्तो अवस्था आउने थिएन । कहिले गण्डकी मेडिकल कलेज, कहिले युनिभर्सल मेडिकल कलेज, कहिले चितवन मेडिकल कलेज त कहिले कुन विद्यार्थीहरु पटक-पटक विरोधमा उत्रिनुपर्ने थिएन ।

डा. गोविन्द केसीले अनशन बसिरहनुपर्ने थिएन । त्यतिका विरोधकाबीच राज्य मौन बसिरहने थिएन । चिकित्सकहरु विदेश पलायन हुनुपर्ने थिएन । मेरो मनमा यी भावहरु आउनुपर्ने थिएनन्, मैले यो लेख्नुपर्ने थिएन । मेरो पिढीका अधिकांश चिकित्सकहरु निराश हुनुपर्ने थिएन । देशलाई कुशल क्षमतावान चिकित्सकहरुको आवश्यकता छ । आफैँदेखि बिरत्तिएका, आफ्नो अनिश्चित भविष्यदेखि डराएका र राज्यको बेवास्ताबाट हार खाएका, रुमल्लिएका, आफ्नै मनोवस्था ठिक नभएका चिन्तित असन्तुष्ट चिकित्सकहरु होइन । र, त्यो तब मात्र सम्भव छ, जब हामीले कुरा बुझ्छौँ र भिडको पछि लाग्न छोडछौँ । जब सरकारले कुरा बुझ्नेछ र स्वास्थ्यमा पर्याप्त लगानी गर्नेछ, स्वास्थ शिक्षा निःशुल्क गर्नेछ ।

चिकित्सकहरुलाई सम्मान , सुरक्षा, उचित पारिश्रमिक र अjसरहरु दिनेछ । होइन भने हाम्रो सपना अनि अनगिन्ती दुःखी बिरामीहरुको स्वास्थ्यलाई सिमित ब्यक्तिहरुले व्यापार बनाइराख्नेछ्न् अहिलेजस्तै । र, समस्या नै समस्या देखिनेछ चारैतिर अनि देशले केबल पाउनेछ चिन्तित चिकित्सकहरु र असन्तुष्ट बिरामीहरु । देशकै चिन्ता गर्ने हो भने हाम्रो देशलाई कुशल चिकित्सकहरु जत्तिकै कुशल वैज्ञानिकहरु, अन्वेषकहरु, इमान्दार प्रशासकहरु, कर्मचारीहरु, अर्थविदहरु, शिक्षकहरु, आधुनिक कृषकहरु, गणितशास्त्रीहरु र सबैभन्दा बढी कुशल नेताहरु, योजनाकारहरुको जरुरत छ । तसर्थ, छात्रवृत्तिमा नाम निक्ल्यो र मानव सेवामा लाग्ने संकल्पसहित अघि बढ्ने जमर्को छ भने हार्दिक बधाई तथा सुभकामना !

आफ्नै लगानीमा पढ्ने गरी नाम निस्क्यो भने चाहिँ पैसा भएपनि दशपल्ट सोच्नुहोला ! अन्य उत्तम विकल्पहरु हुन सक्छ्न् ! यदि ऋण गरेर, भएको जायजेथा बेचेर पढाउन खोज्दैं हुनुहुन्छ भने चाहिँ सावधान । छोराछोरीलाई रुची नै त्यसमा मात्र छ, यो बाहेक अरु पढ्न परे जिन्दगी नै सखाप हुनेजस्तो लागेको छ, कुशल चिकित्सक बनेर सेवा गर्न दृढ संकल्प र जस्तोसुकै अवस्थामा पनि नडगमगाउने साहस छ भने मात्र । नत्र बेलैमा उचित निर्णय लिनुहोला । नाम निक्लेन भने त झनै बधाई । निराश हुनुपर्ने केही छैन । थुप्रै सुन्दर विकल्पहरु छन् त्यो भन्दा धेरै उत्तम । बुझ्नुकी ठूलो दशा टर्यो ।

उही,

तपाइको भाइ, दाइ, छोरो, भतिजो, नाती

शुन्य प्रकम्पित



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...