एनआरएनए चुनाव : पन्त र आचार्यको प्यानलमा काे-काे ?

Published Date: October 16, 2019

गैरआवासीय नेपाली संघ अन्तराष्टॅिय समन्वय परिषद (एनआरएनए-आइसिसी) को नवौं अन्तर्राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि आज काठमाडौंको हायात होटलमा निर्वाचन हुँदैछ । निर्वाचन समितिले नेतृत्वको लागि  ४२ जना उम्मेदवारहरुको उमेदवारी परेको जनाएको छ ।

संघले ८० भन्दा बढी मुलुकहरुमा एनआरएनएको राष्ट्रिय समन्वय परिषद स्थापना भएको दावी गरिए पनि ४९ देशबाट आएका झण्डै २६ सय प्रतिनिधिहरुले नयाँ नेतृत्व चयनका लागि मतदानमा भाग लिँदैछन् । निर्वाचन समितिले मतदाताहरुको अन्तिम नामावली पनि आजै प्रकाशित गर्ने जनाएको छ ।

साँझको ५ बजे देखि राति १० सम्म मतदान गर्ने निर्वाचन तालिका रहेको जनाउदै निर्वाचन समितिले मतदान सम्पन्न भएको एक घण्टाभित्रमा नै मतगणना सुरु हुने  जनाएको छ । विद्युतीय मतदान भएकाले आज नै सम्पूर्ण नजिता आइपुग्ने बताइएको झ ।

संघको नयाँ नेतृत्वका लागि वर्तमान उपाध्यक्षद्वय कुमार पन्त र कुल आचार्य प्यानलसहित चुनावी मैदानमा छन्  । दुई/दुई पटकसम्म उपाध्यक्षमा बनेका जर्मनीका व्यवसायी कुमार पन्तले यसपटक अध्यक्षको दाबी गर्दै उम्मेदवारी दिएका छन् । उनको   समूहलाई नेकपा निकटका रुपमा चिनिँदै आएको छ ।यद्यपी केही उम्मेदवारहरु प्रजातान्त्रिक विचारधाराका र केही स्वतन्त्ररुपमा समेत चिनिदै आइरहेका छन् ।

पन्त समूहबाट ५ उपाध्यक्षमा डा. बद्री केसी (रसिया), हिक्मत थापा (अफ्रिका), सोनाम लामा (अमेरिका), अर्जुनकुमार श्रेष्ठ (बेल्जियम) र धर्मराज अधिकारी (अष्ट्रेलिया) छन् ।

खुल्लातर्फ उपाध्यक्षमा ४ पद रहेकाले श्रेष्ठ र अधिकारीमा कसलाई अघि लैजानेबारे पन्त समूहमा अझै पनि छलफल चलिरहेको कुमार पन्त निकटस्रोतको भनाइ छ । महिला उपाध्यक्षमा पन्त समूहबाट रसिया निवासी सपिलाराज भण्डारीले उम्मेदवारी दिएकी छिन् ।

पन्त समूहले महासचिवमा बेलायत निवासी प्राध्यापक डा. हेमराज शर्मालाई अघि सारेको छ । सचिवमा इजरायल निवासी दिपक प्रसाद ओली र अमेरिका निवासी गौरी जोशीको उमेदवारी परेको छ ।

एनआरएनए विधानअनुसार २ जना सचिवमा निर्वाचित हुनेछन् ।

पन्त समूहबाट कोषाध्यक्षमा जापानका महेशकुमार श्रेष्ठले उमेद्वारी घोषणा गरेका छन् । पन्त समूहबाट सह–कोषाध्यक्षमा लोकप्रसाद दाहाल (बेल्जियम), गोबिन्दप्रसाद गौतम (रसिया) र एसी शेर्पा (अमेरिका) ले दाबी गरेका छन् । तर, अन्तिम समयमा आएर दाहाल वा गौतम मध्ये एकलाई अघि बढाउने निर्णयमा पुगेको पन्त निकटस्थहरुको भनाइ छ । यसअघि शेर्पालाई जिताउन पूर्वअध्यक्ष शेष घलेसँग पन्तले सहमति जनाएकोबारे चर्चा चलेको थियो ।

त्यस्तै बेलायत निवासी व्यवसायी कुल आचार्य आफ्नो टिमसहित चुनावी मैदानमा उत्रिएका छन् । संघका वर्तमान उपाध्यक्ष रहेका आचार्यले अन्तिम समयमा आएर पन्तलाई टक्कर दिएका हुन् । आचार्यको उम्मेदवारीबारे सुरुका दिनमा हल्लाका रुपमा लिइएको भए पनि अन्ततः उनले निर्वाचनको माहोललाई ह्वात्तै तताएका छन् ।

प्रजातान्त्रिक विचारधारका आचार्यको समूहलाई कांग्रेस निकटका रुपमा हेरिएको छ । विदेशस्थित नेपाली जनसम्पर्क समिति सम्वद्व एनआरएन प्रतिनिधिहरु आचार्यलाई जिताउन एकतावद्व बनेका छन् ।

आचार्यको समूहबाट पाँच उपाध्यक्षमा डा. केशव पौडेल (अमेरिका), मन केसी (अष्ट्रेलिया), नरेन्द्र भाट (मध्यपूर्व) र रबिना थापा (अमेरिका) लाई अगाडि सारिएको छ ।

यस्तै आचार्य समूहबाट महासचिवमा बेल्जियम निवासी व्यवसायी जानकी गुरुङलाई अघि सारेका छन् । गुरुङ एनआरएनएकी वर्तमान सचिव हुन् ।

यस्तै वर्तमान सहकोषाध्यक्ष सोम सापकोटाले आचार्य समूहबाट कोषाध्यक्षमा उम्मेदवारी दिएका छन् ।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...