एनआरएनएको अध्यक्षमा कुमार पन्त विजयी, इजरायलले यस पटक पनि पाएन अवसर

Published Date: October 18, 2019

१ कातिक । गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए, आइसिसि) को अध्यक्षमा कुमार पन्त निर्वाचित भएका छन्  । केही क्षण अघि सम्पन्न मतगणनामा अर्का अध्यक्ष पदका प्रत्यासी कुल आचार्यलाई पराजीत गर्दै पन्त निर्वाचित भएका हुन् ।

कुल २ हजार ५ सय ७० मतदाता मध्ये खसेको २ हजार ३ सय ४४ मतमा १ हजार १८१ मत प्राप्त गरी   प्रतिस्पर्धी आचार्यलाई १११ मतान्तरले पराजित गर्दै कुमार पन्त संघको अध्यक्षमा निर्वाचित भएका हुन् ।

यसैगरी पाँच उपाध्यक्षमा डा. बद्री केसी, अर्जुनकुमार श्रेष्ठ, सोनाम लामा, मन केसी र महिला उपाध्यक्षमा रविना थापा निर्वाचित भएकी छिन र महासचिवमा पनि पन्त प्यानलकै डा हेमराज शर्मा विजयी भएका छन्  । यस्तै सचिवमा गौरी जोशी र आरके शर्मा विजयी भएका छन् भने  कोषाध्यक्षमा महेश श्रेष्ठ र सहकोषाध्यक्षमा लोक दाहाल निर्वाचित भएका छन् ।

यस पटक इजरायलवासी एनआरएनले एनआरएनएमा आफ्नो  बलियो स्थान वनाउने भरथेक कोसिस पनि खेर गएको छ ।   इजरायलबाट दिपक प्रसाद ओलीले सचिवमा उम्मेदवारी दिएका थिए । दोस्रो पटक आइसिसीको पदाधिकारीको लागि चुनावमा होमिएका एनआरएनए इजरायलका पूर्व आइसिसी सदस्य तथा वर्तमान संरक्षक ओलीले यस पटक पनि पराजय भोग्नु परेको छ । निर्वाचनको परिणाम पश्चात सामाजिक सञ्जाल फेसवुकमा प्रतिक्रिया दिदै ओलीले आफूलाई सहयोग गर्ने सम्पूर्ण अग्रज तथा मतदान गर्ने र नगर्ने सबै मतदातालाई धन्यवाद ज्ञापन गरेका छन् । उनले स्टाटसममा लेखेका छन् – ”  एनआरएनएका सम्पूर्ण अग्रज तथा सहकर्मी साथीहरु, हिजो मतदानका लागि घन्टौँ जुन धैर्यताका साथ लाइन बसेर मतदान गर्नुभएको छ, त्यसका लागि हार्दिक आभार ! ज–जसले मलाई विश्वास गरेर मतदान गर्नुभयो यहाँहरु सबैलाई मनदेखि नै धन्यवाद भन्न चाहन्छु ।यस्तै नदिने मित्रहरुलाई पनि धन्यवाद भन्न चाहन्छु, उहाँहरुले अर्काे अर्काे पटक अवश्यक दिनु नै हुनेछ । अभियान हो हीरजित निस्चित छ , अब मतगणनाबाट नतिजा जस्तो आएपछि यहाँहरुले देखाएको मायालाई शिरोधार्य गर्दै एनआरएन अभियानमै होमिइरहने प्रतिवद्धता जनाउँछु ।”

विजयीहरुको नामावली

अध्यक्ष – कुमार पन्त
उपाध्यक्ष –बद्री केसी
उपाध्यक्ष – अर्जुन कुमार श्रेष्ठ
उपाध्यक्ष –सोनम लामा
उपाध्यक्ष – मन केसी
उपाध्यक्ष – रविना थापा
महासचिव – डा. हेमराज शर्मा
सचिव – गौरी जोशी
सचिव –  आरके शर्मा
कोषाध्यक्ष – महेश श्रेष्ठ
सह कोषाध्यक्ष – लोक दाहाल

निर्वाचनमा नेकपा निकटको रुपमा कुमार पन्त र काँग्रेस निकटको रुपमा कुल आचार्यले प्यानल नै बनाएर चुनाव लडेका थिए । आगामी दुई वर्षको नेतृत्व चयनका लागि निर्वाचन गरिएको थियो ।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...