मुद्दाका पक्षको व्यवहारसंग सम्बन्धित वकीलको पेशागत आचरण (अमेरिकी सिद्धान्त र नेपाली सन्दर्भ)

- बाबुराम खत्री

Published Date: November 22, 2019
  • बाबुराम खत्री

कुनैपनि वकीलले कुनै मुद्दा वा बिषयमा पक्षको तर्फबाट प्रतिनिधत्व गरीसकेपछि त्यहाँ वकील र पक्ष दुबैका बीच निश्चित  कानूनी एवं नैतिक अचारण परिपालन सम्बन्धि एक सिमा बन्धन खिचिएको मानिन्छ । यस बिषयमा वकीलको भूमिका वा जिम्मेवारी पक्षको भन्दा बढी नै संबेदनशिल र बन्धनकारी मानिन्छ जुन न्याय सम्पादनको लागि आवश्यक र महत्वपूर्ण हुन्छ । वकीलले आफ्नो पेशागत अचारण वा कानूनी दायित्व निर्वाहका लागि अनिवार्य रुपमा परिपालना गनुपर्ने अनेकौं बिषय छन् । मूलतः कुनैपनि मुद्दामा पक्षले वकीललाई दिएको सो मुद्दासंग सम्बन्धित तथ्य एवं घटनाको जानकारी तथा वकीलले पक्षलाई उपलब्ध गराएको कानूनी राय सल्लाह वकीलले संधै गोप्य राख्नु पर्नेहुन्छ । यसरी दिईएको राय परामर्श “वकील र पक्ष बीचको सम्बन्ध”को बिषेशाधिकार मानिन्छ र सोही अनुरुप अनअतिक्रम्य तथा संरक्षित रहन्छ । यो बिषय पक्षले आफ्नो कानूनी प्रतिरक्षा वा बचावटका लागि वकीलबाट राय परामर्श लिन पाउने मौलिक कानूनी हकसंग सम्बन्धित छ जस्ले वकील र पक्ष बीचको सम्बन्धको प्रत्यभूति दिन्छ । यसका अतिरिक्त, वकीलको पेशागत तथा कानूनी आचरण सम्बन्धमा हाम्रो समाज वा न्याय प्रणालीमा खासै धेरै चर्चा नहुने, तर महत्वपूर्ण बिषय के हो भने कुनैपनि वकीलले पक्षका तर्फबाट कानूनी प्रतिरक्षा गर्नका लागि मुद्दा स्वीकार गरिसकेपछि सो मुद्दा जित्न वा सफल हुनका लागि पक्षले कुनै गैरकानूनी कार्य गर्छ र पक्षले त्यस्तो गैरकानूनी कार्य गरेको वा गर्न लागेको कुरा प्रतक्ष्य वा परोक्ष रुपमा वकीलले थाहा पाएको छ वा थाहा पाउनु पर्ने मानसिव आधार छ भने सो बिषयमा वकीलले सम्बन्धित कानूनी नियकायमा जानकारी गराउनु पर्ने अनिवार्य कानूनी मान्यता रही आएको छ । निश्पक्ष न्याय सम्पादनका लागि यो व्यवस्था अधिक महत्वपूर्ण रहनुका साथै न्यायिक तथा व्यवहारिक पनि छ ।

वकीलको पेशागत आचरण सम्बन्धि अमेरिकन बार एसोसियसनको मोडेल रुलको रुल नं+ १.२ -{घ} ले  उपरोक्त सिद्धान्तलाई आत्मसाथ गरेको छ । सो कानूनी प्रावधानले यदि कुनैपनि वकीलले दिएको कनूनी राय वा परामर्शले त्यस्तो राय वा परामर्श लिने पक्षलाई अपराधिक गतिबिधि गर्न सहयोग पुग्न जान्छ भन्ने जानकारी छ भने त्यस्तो राय परामर्श दिनबाट रोक लगाएको छ । यस्तो अवस्थामा वकीललाई त्यस्तो कानूनी राय व परामर्शको दुरुपयोग हुने वा हुनसक्ने कुराको जानकारी प्रतक्ष्य वा प्रष्ट एकीन भएको हुनूपर्छ भन्ने छैन, केबल परिस्थितिजन्य आधारबाटपनि निधारर्ण गर्न सकिन्छ । जे होस अपराध वा गैरकानूनी कार्य निरुत्साहित गर्दै पूर्ण न्यायको सुनिश्चित  गर्नु यो प्रावधानको मूख्य यद्देश्य हो । यसै सन्दर्भमा, अमेरिकी अदालतले फरक फरक निष्कर्षमा पुगी फैसला गरेको दुईवटा मुद्दालाई उदारणका रुपमा हेरौं । कुनैबेला नेपालमा समेत उर्जा क्षेत्रमा लगानी गर्ने चर्चा चलेको उर्जा क्षेत्रको चर्चित एनरोन कम्पनीको मुद्दालाइ लिउँ । सन २००१ को बहुचर्चित एनरोन एण्ड वोल्र्डकमको ठगी काण्डलाई अमेरिकन ईतिहासकै ठुलो कर्पोरेट घोटलाको रुपमा लिईन्छ जसमा केही दिनका बीचमै लगानीकर्ताहरुले ६० अर्ब डलर गुमाए र कम्पनीपनि टाट पल्टियो । यो काण्डका बहु बिषयहरु मध्ये संलग्न  वकील तथा वकील फर्मको संलग्नता र पेशागत आचरणपनि एक महत्पूर्ण बिषय थियो । प्राप्त प्रमाणहरुबाट वकीलहरुको राय परामर्शले एनरोनको  ठगी कार्यमा सहयोग पुग्यो अझ भनुँ वकीलहरुले सहयोग पु¥यायको पुष्टि भयो । सो घटनामा नभएको बिक्रीको भौचर खडा गर्न तथा गलत रिर्पोट तयार गर्न वकीलहरुले आफ्नो राय वा परामर्श दिएको पाईयो । सो मुद्दामा अमेरिकन डिष्ट्रिट कोर्ट साउर्दन डिष्ट्रिट टेक्सासले वकीलकहरुको भूमिका दोषी रहेको ठह¥यायो । यसको विपरीत, सन् १९९७ को पर्सेल बिरुद्ध डिष्ट्रिक्ट एर्टोनी फर सफोलोक डिष्ट्रिक्ट भएको अर्को मुद्दामा जोसेफ टायर नाम गरेको व्यक्तिले आफुले काम गर्ने रोजगारदाता तथा आफु समेत बस्दै आएको अपार्टमेन्ट कम्पनीले जागरीबाट निकालेको र सो अपार्टमेन्ट छोड्नका लागि अदालतबाट आदेश आएको रिसले सो अपार्टमेन्ट जलाउने मनसायले योजना बनायो । सो का लागि तयारी स्वरुप अपार्टमेन्टमा जडित स्मोक डिटेक्टर निकालेको, पेट्रोल छर्केको तथा आगो लगाउन सहज बनाउनका लागि सुतला समेत राखी जलाउने तयारी गरी वकीलसंग परामर्श गर्न गयो । पर्सेल {वकील} लाई जोसेफ टायरको गतिबिधि उपर शंका लागि तत्काल प्रहरीलाई खबर गरेपछि जोसेफ टायरका बिरुद्ध मुद्दा दायर गरियो । सो मुद्दामा जोसेफ टायरका तर्फबाट “वकील र पक्ष बीचको सम्बन्धको बिशेषाधिकार” अन्र्तगत निजले वकीलसंग गरेको परामर्श गोप्य रहनु पर्ने प्रतिरक्षाको जिकिर  उठाईएको थियो । तर म्यासाच्युसेट सर्वोच्च अदालतले जोसेफको प्रतिरक्षा जिकिरमा बिपरीत सो घटना बारे प्रहरीलाई जानकारी गराएको वकीलको कार्य पेशागत आचरण अनुकूल नै रहेको ठह¥यायो । अदालतले फैसलाको अर्को आधारको रुपमा यो पनि प्रष्ट पारेको छ कि कुनैपनि वकीलले आफ्नो ग्राहक वा मुद्दाका पक्षले कुनै अपराधिक घटना घटाउने मनसाय राखेको छ भने सो अपराध घटाउनबाट रोक्न वकीलले सम्बन्धित निकायमा जानकारी गराउनु अनिवार्य हुन्छ ।

वकील वा कानून व्यवासायीलाई “अफिसर अफ द कोर्ट” भनीरहंदा कुनैपनि वकीलको कार्य, व्यवहार वा शैलीले न्याय प्रप्तिको मार्ग प्रशस्त गनुपर्ने नैतिक तथा कानूनी जिम्मेवारीको ठोस एवं सारभूत रुपमा शतप्रतिसत परिपालना गनुपर्ने अनिवार्यता तर्फ औंल्याई रहेको हुन्छ । कानूनी राज्य तथा न्यायिक समाजको परिकल्पान साकार पार्नका लागि दरिलो, गर्विलो तथा भरपर्दो समूहको रुपमा वकील वा कानून व्यवसायी वर्गले तदनुरुप नै जिम्मेवारी पूरा गर्ने अपेक्षासाथ समाजले  “सामाजिक अभियान्त”को रुपमा सम्मान दिएको छ। राजनैनिक, समााजिक वा अन्य धेरै क्षेत्रमा वकील वर्गको फराकिलो र दह्रो प्रभावकारी उपस्थितिपनि यसैको उपज हो । स्मरण रहोस अमेरिकाका ४४ मध्ये २५ जना राष्ट्रपतिहरु वकील वा कानून व्यवासायी पृष्ठभूमिका थिए छन् । वकील वर्गको यस प्रकारको प्रभावकारी हिस्सा संसारभरकै राजनीति वा समाजका अन्य क्षेत्रमा रहेको निश्चित नै छ । जस्ले वकील वर्गलाई सशक्त, जिम्मेवार न्यायदूतको रुपमा स्थान दिएको प्रष्ट हुन्छ र समाजले सोही अनुरुप अपेक्षा राखेको हुन्छ । समाजको यो अपेक्षा र आफ्नो पेशगत मर्यादा तथा आचरणलाई सन्तुलन गर्दै अघि बढन सक्नु नै एक सफल वकीलको पहिचान हो । यो मान्यता वा कर्तव्यलाई वकील वा कानून व्यवासायीहरुले सदा सर्वदा परिपालना गर्न जरुरी छ । वकीलले देखाउने भनेको कानूनी बाटो हो न कि कानून इतरको । वकीलले दिने परामर्श सबै स्वरुप, प्रकृया तथा शैलीमा कानूनी हुनूपर्दछ । शब्द र बोलीमा कानूनी जस्तो देखिने तर ब्याहार र परिणममा अर्कै निक्लने भयो भने त्यस्तो व्यवाहार वकीलको कानूनी वा पेशागत आचरण अनुकूल भएको मान्न सकिन्न् । यस सन्दर्भमा संगीन किसिमका अपराधमा अपरोपित व्यक्तिको तर्फबाट मुद्दामा रहने वकीलको जिम्मेवारी वा आचरण त झन संवेदनशिल र जटिल हुन पुग्दछ । कुनै आरोपित व्यक्ति वा निजका तर्फबाट मुद्दा आफ्नो पक्षमा पार्न जाहेरवाला वा साक्षीलाई धम्क्याउने वा प्रभावमा पार्ने वा न्यायधिस वा कर्मचारीलाई धम्क्याउने वा गैरकानूनी रुपमा प्रभाव पार्नको लागि गरिने कुनै कृयाकलापमा वकीलले राय दिन्छन वा सो नभए वकीलको मौन तथा रचननात्मक सम्मति रहन्छ वा सो नभए आफ्नो जानकारीमा आएको सो बिषयमा वकीलले प्रहरी वा कानून कार्यान्वयन निकायमा जानकारी गराउँदैनन् भने वकीलको पेशागत तथा कानूनी आचरणको उल्लंघन हुन जान्छ । कुनैपनि समाज अपराध रहित हुंदैन नै, तर अपराधको प्रकृति र सो का लागि समाज तथा राज्य व्यवस्थाले आत्मसाथ एवं अबलम्बन गरेको कानून र सो को सफल कार्यान्वयन नै सफल समाजको पहिचान हो । यसको मूलमन्त्र भनेकै “कानूनी राज्य”भावनाको सफल कार्यान्वयन नै हो । कुनैपनि देश कति सफल छ त्यो जाँच्ने आधार भनेकै त्यो देशमा कानूनको राज अर्थात “कानूनी राज्य” को परिपालना कुन हद सम्म छ भन्ने नै हो । यसमा वकील वा कानून व्यवसायी वर्गको ठूलो भूमिका रहन्छ नै ।

माथि उल्लेखित सिद्धान्त एवं विवेचना  नेपालको बर्तमान न्याय प्रशासनको प्रसंगमा निकै पेचिलो ढंगले सान्दर्भिक हुन पुगेको छ । कुनै भ्रष्ट तथा कु्रर राजनीतिज्ञ जसरीपनि आफूले चुनाव जित्नका लागि त्रास वा हिंसा भड्काउनका लागि बम बनाउन लगाउँदा सोही स्थानमा बम पडकी घाईते भएका आफ्नै करीब दुई दर्जन कार्यकर्तालाई वेहोस बनाई जिउँदै ईटाभट्टाको आगोमा जलाई मार्छ । जो कमजोर राज्य संयन्त्रको फाईदा उठाउँदै आफूले गरेको नरसंहार जस्तो जघन्य अपराधलाई बर्षौ सम्म दबाउँदै आउँछ तर जब सो अपराध उपर छानबीन शुरु भएपछि सो न्यायिक प्रकृयालाई अबरोध पु¥याउन सकेजति सबै उपाय अपनाउँछ । सो घटनामा परी घाईते भएको व्यक्ति स्वंयम आई प्रहरीमा बयान दिई सकेपछि बयान फेर्न अदालतमा उपस्थित हुन्छ । प्रहरीले सत्य तथ्य बुझ्दा निज अपरहरण र धम्कीमा परी बयान फेर्न बाध्य गराईएको बयान दिन्छ । अन्य पिडित परिवार तथा साक्षीहरुका त कुरै छोडौं थूनछेक बहस पछि अभियुक्तलाई थूनामा राख्ने आदेश दिने न्ययधिस र सरकारी वकील नै असुरक्षित महशुस गरी तत्कालै सो स्थान छोड्नु पर्ने अवस्थामा पुग्छन । अनि आरोपित व्यक्ति आफू प्रकाउ पर्दा प्रहरीलाई जेल हाल्ने र जिल्लामा आंतक फैलाउने तथा ज्यानै लिने सम्मको आक्रोशपूर्ण धम्की दिएको भिडियो फुटेज समाजिक संजाल भरि देख्न पाईन्छ ।  सुन्दै आङ्ग जिरिङ्ग हुने यो अपराध मानव जाति र मानव सभ्यताकै लागि चुनौती हो ।

यति सम्भीर, संगीन र अततायी अपराधमा घटाएको आरोप लागेको मुद्दामा अभियुक्तको पक्षमा बहस पैरवी गर्नुहुने विद्धान वकील कानून व्यवसायी माथि यो चुनौती त अवश्य छ कि कतै भएको अपराध लुकाउन वा मुद्दा आफ्नो पक्षमा पार्न अभियुक्त वा निजका मान्छेहरुले प्रमाण मेटाउने वा जाहेरवाला तथा साक्षीहरुलाई वा न्यायधीस वा कर्मचारीहरुलाई जुनसुकै कार्य वा माध्यमबाट डराउने धम्क्याउने वा प्रलोभन पार्ने व पार्न प्रयास गरे कि गरेनन् ?  घटनाक्रम र बाहिर आएको तथ्यहरुले त्यस्तो नभएको भन्ने अवस्था देखिन्न् । तसर्थ त्यस किसिमको कृयाकलाप गर्दा आफ्नै पक्षका वकील भएका नाताले अभियुक्त पक्षका वकीलहरुसंग सो बिषयमा कुनै राय सल्लाह वा परामर्श लिए वा लिने प्रयास गरे कि ? यदि त्यस्तो राय सल्लाह वा परामर्श नलिएका भए त ठिकै भो तर त्यस्तो राय सल्लाह वा परामर्श मागिएकोमा कतै टाउको मात्र हल्लाउनु भयो भनेपनि कसरी टाउको हल्लाउनु भयो ?  तलमाथि वा दायाँबायाँ ? मानौं तलमाथि टाउको हल्लाएर सकारात्मक जबाफ दिएको भए त सो कार्यमा सहयोग नै गरेको ठहरी कानूनी तथा पेशागत आचरण उल्लंघन गरेकै मानिन्छ ।  त्यो भन्दा फरक मानौं दायाँबायाँ गरी टाउको हल्लाएर नकारात्मक जबाफ दिएको वा फोनमा कुरा हुंदा केही प्रतिकृया नजनाई मौन बसेकै भएपनि त्यसपछिको जिम्मेवारी यो रहन्छ कि त्यसरी बिचाराधिन मुद्दालाई अनुचित प्रभाव पार्ने जुनसुकै किसिमको कृयाकलाप वा अपराध हुदैं छ भनी जानी जानी वा जान्नुपर्ने मानसिव माफिकको कारण हुंदै हुंदै  सो को रोकथामका लागि प्रहरी वा कानून कार्यान्वयन गर्ने निकायमा जानकारी गराईएन भनेपनि परिणाम एउटै अर्थात कानूनी तथा पेशागत आचरण उल्लंघन गरेकै नै ठहरिन्छ । यहाँनेर प्रष्ट हुनूपर्ने बिषय यो हो कि बिगतमा गरी सकेको अपराध वा गैरकानूनी कार्यसंग सम्बन्धित बिषय वा मुद्दामा पक्षको कानूनी प्रतिरक्षा गर्ने वा राय परामर्श दिने बिषय तथा भविष्यमा गैरकानूनी उद्देश्य प्राप्तिका लागि प्रयोग नहुने सुनिश्चतताका साथ  वा मानसिव आधारमा दिईएको राय परामर्श मात्रै “वकील र पक्ष बीचको सम्बन्ध”बिषेशाधिकार भित्र पर्दछ र सोही अनुरुप अनअतिक्रम्य तथा संरक्षित रहन्छ । परिणामतः वकीलले पक्षाई उपलब्ध गराउने कनूनी राय तथा परामर्श गोप्य र अनअतिक्रम्य हुने बिषेशाधिकारको संरक्षण त्यत्तिखेर सम्म मात्र संरक्षित रहन्छ जब सम्म सो पक्षले वकीलसंग लिएको राय परामर्श कानूनी उद्देश्य प्राप्तिका लागि मात्र प्रयोग गर्दछ । तर त्यस्तो राय परामर्श गैरकानूनी उद्देश्य पूरा गर्न वा मुद्दालाई आफ्नो पक्षमा पार्न गरिने जुनसुकै किसिमको गैरकानूनी हतकण्डाका लागि प्रयोग गर्दछ भने त्यहाँ “वकील र पक्ष बीचको सम्बन्ध” को बिषेशाधिकार रहन  कदापि सक्दैन ।

यहाँनेर यति भन्नु सान्र्दभिक हुन्छ कि यहाँ कुनै एउटा मुद्दा वा घटनाको बिषयमा चर्चा गरिएको नभै प्रस्तुत बिषयमा कानूनी सिद्धान्त एवं न्यायिक मान्यताको बिश्लेषण तथा विवेचना गर्न खोजिएको हो र सोही उद्देश्यका निम्ति हाम्रा सामु मानव समाजकै लागि चुनौतीका बनेर खडा भएको अपराध र सो संग सम्बन्धित मुद्दामा विभिन्न माध्यमबाट सतहमा देखिएका तथ्य एवं प्रमाणहरु तथा स्वभाविक अनुमानका आधारमा यहाँ विवेचना गरिएको हो । बिडम्बना नैभन्नुपर्छ,  नेदरल्याण्डमा अपराधीको संख्या कम भएर जेलहरु बन्द गर्नुपर्ने अवस्था आएको भन्ने समाचार पढ्दै गर्दा हाम्रो देशमा बर्षौं सम्म पटक पटक मन्त्री भै देश र जनताको सेवा सर्मपित रहने प्रण गर्दै जिम्मेवार राजनीतिज्ञको रुपमा प्रभावशाली रहेको व्यक्ति उपर यो हिटलर शैलीको कुर र जघन्य अपराधको अभियोग लागेको छ । यदि स्वतन्त्र रुपमा साक्षी सबूत जोगिने हो र न्याय संयन्त्रमा अन्यथा बाधा अबरोध नपु¥याइने हो भने घटना केन्द्रित परिस्थिति तथा अन्य परिदृष्यका आधारमा सो अपराधमा आरोपितको संलग्नताको चित्र लगभग प्रष्ट भै सकेको छ । मुद्दाको यो अवस्थामा चाहे त्यो राज्य पक्ष होस वा अभियुक्त वा निजका सहयोगी आफन्त वा मुद्दामा संलग्न वकील सबैले आ आफ्नो कानूनी एवं पेशागत आचरणलाई बिर्सन कदापि मिल्दैन । हो, कुनै अभियुक्तले निश्पक्ष सुनुवाई तथा आफू उपरको अभियोगमा कानूनी प्रतिरक्षा गर्न पाउने हकाधिकार सुरक्षित र प्रत्याभूत हुनुपर्दछ । साथै, वकील वा कानून व्यवसायीले स्वतन्त्र रुपमा कुनैपनि अभियोग लागेको व्यक्तिको तर्फबाट मुद्दामा प्रतिनिधित्व गर्न पाउनुपर्छ । तर यहाँ उठेको प्रश्न समग्र न्यायको हो, व्यक्ति र समाजको बृहत्तर शान्ति र जीवन सुरक्षाको हो । यो मान्यता भन्दा टाढा रहेर केबल पेशागत कर्तव्यको दुवाई दिंदैमा बृहद समाजिक तथा न्यायिक अपेक्षा विपरीत वकील वा कानून व्यवसायीको पेशा सफल हुन तथा समाजमा यो वर्गप्रति सम्मान कायम रही रहन सक्ला र ?

यस्तो अवस्थामा माथि उल्लेखित अमेरिकन बार एसोसियसनको मोडेल रुलको रुल नं+ १.२ -{घ} को व्यवस्था, एनरोन तथा पर्सेलको मुद्दामा अमेरिकी अदालतबाट भएको फैसलाले निर्देश गरेको सिद्धान्त वा प्रसंगबाट समग्र वकील वा कानून व्यवसायी समुदायलेपनि पेशागत आचरणका बिषयमा सकारात्मक प्रभाव वा प्रेरणा आत्मसाथ गर्ने हो कि ?

अन्तमा, यो प्रष्ट पारौं कि यहाँ कोही व्यक्ति वा समुहप्रति पूर्वाग्रही हुन खोजेको पटक्कै होईन । केबल पिडितले न्याय पाउनु पर्छ र मेरै समाजमा घटेको यति आततायी र नृशंस अपराधका दोषी जो कोही होस उस्ले सजायँ पाउनै पर्छ भन्ने बृहद आम सामाजिक परिदृष्यको न्यायिक पुकारसंग स्वर मिलाउने प्रयत्न मात्र हो । र अर्को कुरा आफू पनि गणना हुने वकील वा कानून व्यवासायी वर्गको पेशागत आचारण वा भूमिकाको बारेमा समाजमा चर्को रुपमा बहस भईरहेको र यो समग्र पेशाको र पेशागत आचरण प्रति नै बितृष्णाका स्वरहरु उठीरहेका महशुस गरी न्याय क्षेत्रका मान्य सिद्धान्तका आधारमा आफ्नो बिचार प्रस्तुत गरेको सम्म हो ।

लेखक नेपालमा अधिवक्ता रही हाल यूनिर्भसिटि अफ एक्रोन स्कूल अफ ल, ओहायो, अमेरिकामा जे.डी. (जुरिष्ट डाक्टर) तेस्रो बर्षमा अध्यायनरत हुनुहुन्छ ।

 

 

 



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...