स्वर्गद्वारी प्युठान चौथो महोत्सवको तयारी तिब्र

Published Date: February 15, 2020

प्युठान। आसन्न स्वर्गद्वारि प्युठान चौथो महोत्सव सम्बन्धि पत्रकार सम्मेलनको आयोजना गरि महोत्सवबारे जानकारी गराइएको छ । प्युठान उद्योग वाणिज्य सघको मुख्य आयोजनामा यही फागुन ८ गते देखि १८ गते सम्म महोत्सव आयोजना हुन लागेको हो । आयोजकले जुम्रीमा पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवको तयारी र आकर्षणबारे जानकारी गराएको हो ।

गणतान्त्रिक खेलमैदान विजुवारमा ११ दिन सम्म संचालन हुने महोत्सवका लागि आयोजकले “कृषि पर्यटन र उर्जा तथा औद्योगिक ब्यापार मेला २०७६” भन्ने मुल नारा तय गरी प्रचार प्रसारलाइ तिब्रता दिएको छ ।

सघले हरेक ३ बर्षमा लगाउँदै आएको महोत्सवबारे पत्रकारसँग छलफल गर्दै हरेक वर्ष लगाउनेकि भन्ने बारे पनि राय लिएको थियो । महोत्सव मुल आयोजक समितिका संयोजक एवम सघका अध्यक्ष केदारमान कक्षपतिले महोत्सवले जिल्लामा रहेका कृषी घरेलु तथा मौलिक कलाको प्रचार प्रसारमा टेवा पुग्ने अपेक्षा राखेको बताउनुभयो ।

पत्रकार सम्मेलनमा बोल्दै कक्षपतिले यो महोत्सव सबै प्युठानवासीको भएकाले सबैले आ—आफ्ना क्षेत्रबाट सहयोग गरि सफल बनाउन आग्रह गर्नुभयो । महोत्सव संचालन हुने दिन नजिकिदै आएकाले सबै उपसमितिहरुले लिइएको जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गर्न पनि कक्षपतिले आग्रह समेत गर्नुभएको हो ।

मेला अवधीभर करिव ८ करोड वराबरको कारोवार र १ लाख भन्दा बढी दर्शकले अवलोकन गर्न सक्ने अनुमान रहेको आयोजकले जनाएको छ । स्वर्गद्वारीका कारण प्रख्या प्युठान जिल्लामा आयोजना हुन गइरहेको महोत्सवले पर्यटवन वर्ष २०२० लाइ समेत टेवा पुग्ने सघका महासचिव कृष्णभक्त गिरिले बताउनुभयो ।

आयोजकका अनुसार महोत्सवले यस क्षेत्रको सांस्कृतिक सम्पदाहरुको प्रचारप्रसार, संरक्षण र सम्वर्धनका लागि विशेष जोड दिनेछ । करिव २ सय ५० जति स्टल रहने महोत्सवमा जिल्लाका कृषि, मत्स्य, घरेलु उद्योग तथा कृषि उत्पादन, पशुपंक्षि, ठूला व्यवसायीक औधोगिक प्रतिष्ठानहरुका उत्पादनहरुलाइ केहि निशुल्क र ससुल्कमा समेत स्टलमा राख्ने ब्यवस्था मिलाइएको जानकारी दिनुभयो ।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...