इजरायलवासी नेपालीहरुको राजदूत डा. शाक्यसँग पहिलो टेलिकन्फेरेन्स बैठक

बैठकमा के भयो ?

Published Date: March 27, 2020

ए1न्यूज इजरायल

कोभिड-१९ (कोरोना भाइरस)को प्रकोप झन झन वढ्दै गइरहेपछि इजरायलमा रहेका संघ संस्थाका प्रतिनिधीहरुले इजरायलमा कार्यरत नेपालीहरुमा आइपर्न सक्ने संभावित खतरालाई मध्यनजर गर्दै इजरायलका लागि नेपाली राजदूत महामहिम डा. अन्जान शाक्यसँग आकस्मिक टेलिकन्फेरेन्स मिटिङको आयोजना गरी आकस्मिक समस्याको तत्काल समाधानको तयारीको लागि अपिल गरेका छन् ।

गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए-एनसिसी) इजरायलको पहलमा इजरायलमा रहेका विभिन्न सामाजिक, राजनितिक, धार्मिक तथा जातिय संघ संस्था र संचारकर्मीहरुको उपस्थितीमा वृहत टेलिकन्फेरेन्स बैठकको आयोजना गरी विशेष गरी इजरायलमा वेरोजगार अवस्थामा रहेका नेपालीहरुमा आइपर्न सक्ने  समस्याहरु, इजरायलस्थित नेपाली राजदूतावाससँग हालसम्म इजरायलमा कति नेपालीहरु कार्यरत रहेका छन् भन्ने विषयमा एकिन तथ्यांक नहुदा यस विषम परिस्थितीमा त्यसबाट निस्किन सक्ने संभावित खतराबाट बच्न नेपालीहरुको तथ्यांक संकलन, वेरोजगारी अवस्थामा रहेका नेपालीहरु अधिकांस विना स्वास्थ्य विमा रहँदा उनीहरुमा पर्न सक्ने असरको समाधान स्वरुप उनीहरुको स्वास्थ्य विमाको व्यवस्था,  बेरोजगारहरु मात्र नभई रोजगारी भएकाहरुलाई समेत आकस्मिक रुपमा क्वारेन्टरमा बस्नु परेको अवस्थामा बस्ने ठाउँ र खाने कुराको ब्यबस्था र आपतकालिन अवस्थामा नेपाल जान परे त्यसको व्यवस्थापन लगायतका विषयहरुमा राजदूत शाक्यसँग नेपाली दूतावासले गरेको तयारीको विषयमा जवाफ माग गरिएको थियो ।

इजरायलमा क्रियाशिल अधिकांश संघ संस्थाका प्रतिनिधीहरुको सहभागिता रहेको उक्त टेलिकन्फेरेन्स बैठकमा एनआरएनए-एनसिसी इजरायलकी अध्यक्ष शान्ती अधिकारी ज्ञवाली, जनजाती महासंघ इजरायलका अध्यक्ष तारा काउचा मगर, प्रवासी नेपाली एकता मञ्च इजरायलका अध्यक्ष तिर्थ गौतम, नेपाली जनसम्पर्क समिति इजरायलका सभापति खगेश्वर अधिकारी, नेपाली समाज इजरायलका अध्यक्ष सुन्दरसिंह लामा तामाङ, एनआरएनए-एनसिसी इजरायलका वरिष्ठ सल्लाहकार तथा पत्रकार विवि लामा तामाङ, नारीकालागि नारी अक्षयकोषकी संस्थापक सदस्य समाजसेवी नितु खतिवडा, हेल्पिङ हर्ट्स इन इजरायलका अध्यक्ष सुमन कार्की, सलोम नेपाल मुभमेन्ट सोसाइटी इजरायलकी महासचिव लक्ष्मी अनुरागी, ह्योल्मो समाज इजरायलकी प्रतिनिधी सर्किनी ज्यावा ह्योल्मो, जनजाती महासंघ इजरायलकी बरिष्ठ उपाध्यक्ष पेम्वा शेर्पा, चितवन समाज इजरायलका अध्यक्ष तथा संचारकर्मी नयन सापकोटा,  अन्तराष्ट्रिय कलाकार मञ्च इजरायलकी अध्यक्ष दाना कादम्वरी श्रेष्ठ, समाजसेवी जय ओडारी एनआरएनए-एनसिसी इजरायलका प्रवक्ता भोजराज क्षेत्री लगायतले आफ्नो धारणा प्रस्तुत गरेका थिए भने समय अभावका कारण  उपस्थित अधिकांशले  धारण प्रस्तुत गर्न पाएका थिएनन् ।

जवाफमा महामहिम राजदूत डा. अञ्जान शाक्यले इजरायल तथा साइप्रसमा रहेका नेपालीहरुमा समेत आइपर्न सक्ने संभावित खतराको सम्वन्धमा नेपाली राजदूतावास इजरायल अत्यन्तै संवेदनशिल भएर लागिरहेको बताउदै संभावित समस्या समाधानको लागि इजरायल सरकारका विभिन्न निकायहरुसँग समन्वय गरिरहेको बताउनुभयो । राजदूत डा. शाक्यले इजरायलमा रहेका नेपाली संघ संस्थाहरुले विभिन्न चरणहरुमा गर्दै आइरहेका मानविय सहयोगका कार्यहरुको मुक्त कण्ठले प्रशंसा गर्दै अहिलेको विसम परिस्थितीमा पनि नेपाली राजदूतावाससँग सहकार्य गरेर अगाडि वढ्ने अपेक्षा गरेको बताउनुभयो ।  उहाँले बैठकमा उपस्थितहरुबाट राखिएका केही प्रश्नहरु विषयमा दूतावासमा छलफल गरी आइतवारसम्म जवाफ दिने बताउनुहुदै इजरायलमा वेरोजगार भई वेखर्ची अवस्थामा रहेका नेपालीहरुको विविरण यथासिघ्र दूतावासलाई उपलव्ध गराउन संघ संस्थाका प्रतिनिधीहरुलाई अनुरोध गर्नुभएको थियो ।

बैठकको संचालन एनआरएनए-एनसिसी इजरायलका महासचिव, श्रीकृष्ण भण्डारी र एनआरएनए-एनसिसी इजरायलका सचिव विष्णु सिम्खडाले गरेका थिए ।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...