राष्ट्रिय युवा परिषद् तथा युवा सञ्जालहरुको संयुक्त अपिल

कोरोना भाइरसको संभावित जोखिमबाट बँच्न र बचाँउन युवाको भूमिका

Published Date: April 4, 2020

भक्त्तपुर । कोरोना भाइरसको संभावित जोखिमबाट बँच्न र बचाँउन युवाको भूमिका सम्बन्धमा राष्‍ट्रिय युवा परिषद् तथा युवा सञ्जालहरुको संयुक्त अपिल गरेको छ ।

देश अहिले विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (COVID-19) को संभावित संक्रमणबाट बँच्न र बँचाउन लागि परेको छ । जनताको स्वास्थ्य सम्बेदनशिलतालाई मध्यनजर राख्दै नेपाल सरकारले यसका लागि आफ्ना संपूर्ण साधन र स्रोतको व्यापक परिचालनका साथ अघि बढिरहेको छ । यस्तो जटिल एवं विषम परिस्थितिजन्य राष्ट्रिय अभियानमा सरकारलाई सहयोग गर्नु राज्यका हरेक निकाय तथा नागरिक समाजको दायित्व हुन्छ । युवा वर्ग देशको सबैभन्दा सक्रिय¸ उर्जाशील र गतिशिल जनशक्ति हो । अत: राज्यले ठूलो अपेक्षाका साथ हेरेको युवा वर्गले यस विपत्तिको बेलामा आ-आफ्नो क्षेत्रबाट सहयोग गर्नु हामी सबैको कर्तव्य पनि हो ।

राष्ट्रिय युवा परिषद् अन्तर्गत गठित विभिन्न ६ वटा युवा सञ्जालहरुको मिति २०७६ चैत्र १९ गते (भिडियो कन्फ्रेन्स मार्फत्) बसेको संयुक्त बैठकको निर्णय तथा कोरोनाको संभावित जोखिमबाट जनमानसमा सिर्जित विविध खालका समस्याको समाधानका लागि राज्यका विभिन्न निकायहरुसँग निकटमा रही आवश्यक समन्वय र सहकार्य गर्दै स्वयमसेवकीय रुपमा युवा परिचालन गर्नुपर्ने दायित्वबोध गर्दै यस घडिमा राष्ट्रिय युवा परिषद् र अन्तर्गतका युवा सञ्जालहरु र यसमा आवद्ध देशभरिका युवा वर्गको भूमिका कस्तो हुनुपर्छ भन्ने सन्दर्भमा साझा धारणाका साथ यो अपील गरेका छ।चालु आ.व. युवा परिचालन वर्ष समेत भएको सन्दर्भमा यसमा उल्लेखित कार्यमा सहयोग र सहजीकरण गरी स्वयमसेवकीय भूमिका निर्वाह गर्न हामी परिषद् र यस अन्तर्गत गठित संपुर्ण युवा सञ्जालका सदस्यहरु तथा सरोकारवाला संपूर्ण युवावर्गमा हार्दिक अपील गर्दछौं ।

  • सर्वप्रथम युवा स्वयं सचेत¸ शतर्क र सुरक्षित रुपमा बस्ने । यसका लागि विश्व स्वास्थ्य संगठन तथा आधिकारिक स्वास्थ्य संस्थाहरुबाट जारी सूचना र निर्देशनको पालना गर्ने र अरुलाई पनि गर्न लगाऔं ।
  • विश्वस्वास्थ्य संगठनको वेभसाइटमा गइ यस संगठनले अनलाइन मार्फत उपलव्ध गराएको Coronavirus disease 2019/Online training तालीम लिऔँ । यो रोगबाट बच्न र बचाउने सीप तथा ज्ञान प्राप्त गरी तालीमको प्रमाण-पत्र प्राप्त गरौँ ।
  • हरेक युवाले सकारात्मक सोच र सेवाभावको विकास गर्ने । समस्याबाट डराउने¸ आत्तिने वा हतोत्साही बन्ने होइन कि धैर्यता र होशियारीपूर्वक आफ्ना दिनचर्यालाई अघि बढाऔं ।
  • आ-आफ्नो बसोवासको क्षेत्रमा घर परिवार वा छिमेकीहरुसँग सामाजिक दुरी कायम गर्ने र गर्न लगाऔं
  • विशेषत: स्वास्थ्यकर्मी र सुरक्षा निकायहरुसंग निकट संपर्कमा रही आवश्यक समन्वय र सहकार्यमा सरकारको निर्देशनको पालना गर्ने गराउने काममा स्वयमसेवकीय भूमिका निर्वाह गरौं ।
  • घरमा रहँदा फुर्सदको समयमा युवाहरु थप सिर्जनशील र सहयोगी बनौं । यस समयमा राम्रा र सन्देशमूलक किताब पढ्ने¸ लेख रचना गर्ने¸ योगा गर्ने¸ घर वरिपरि करेसावारीको सरसफाइ गर्ने¸ छरछिमेकीहरुलाई समेत सरसफाइ गर्न प्रेरित गर्ने र फोहरमैलाको उचित विसर्जनमा सहयोग गरौं ।
  • साना भाइबहिनीहरुलाई अध्ययनमा सहयोग गर्ने¸ उनीहरुलाई असल बानी व्यहोरा र आचरण सिकाऔं ।
  • बैदेशिक रोजगारबाट फर्केका व्यक्तिको लगत संकलन¸ स्क्रिनिङ् र आवश्यकतानुसार क्वारेन्टाइन वा आइसोलेशनमा पठाउनुपर्दाको समयमा उनीहरुलाई आवश्यक परामर्श गरौं र यस कार्यका लागि स्थानीय सरकार वा समुदायलाई आवश्यक समन्वय सहयोग गरौं ।
  • स्थानीय सरकारबाट सञ्चालित विपन्न¸ श्रमजिवी वर्ग¸ बालबालिका¸ मनोसामाजिक समस्या भएका¸ जेष्ठ नागरिक¸ गर्भवती तथा सुत्केरी महिला¸ अशक्त¸ असहाय वा आपाङ्गता भएका व्यक्तिहरुका लागि ल्याइएका राहत वितरण वा अन्य मानवीय कार्यमा यथोचित सहयोग गरौं ।
  • आ-आफ्नो घर¸ टोल वा सार्वजनिक स्थलहरुमा अनिवार्य रुपमा साबुन पानीको व्यवस्था गर्ने र सबैलाई हात धुने तरिका तथा सेनिटाइजरको प्रयोग सम्बन्धमा जानकारी दिऔं ।
  • सार्वजनिक स्थलहरुमा भिडभाड गर्न नदिने र खाद्यान्न भण्डार तथा औषधी पसलहरुमा एकैचोटी ग्राहकहरुको ठुलो भिड हुन नदिई पालो वा कुपन प्रथाबाट पालैपालो सेवा दिने वातावरण निर्माणका लागि सहजीकरण गरौं ।
  • युवा उद्यमीहरुबाट उत्पादित दैनिक उपभोग्य कृषिजन्य उत्पादनलाई सहज आपूर्ति तथा होम डेलिभरी गर्नका लागि युवा उद्यमीहरुलाई आवश्यक सहयोग गरौं । यसका लागि आवश्यक पर्ने स्वास्थ्य उपकरणहरु जस्तै Personal Protection Equipment – PPE¸  मास्क¸ पञ्जा¸ गाउन आदिको व्यवस्थापनमा सहयोग गरौं ।
  • अत्यावश्यक सेवा प्रवाह गर्ने व्यक्ति¸ निकाय वा युवा उद्यमीका लागि सवारी पास उपलब्ध गराउन पहल गरौं ।
  • समाजमा बालगृह सुधार गृह¸ पुनस्थापना केन्द्र तथा वृद्धाश्रम हरुमा रहेका अपाङ्ग¸ असहाय¸ मानसिक समस्या भएका / दीर्घरोगी वा जोखिमपूर्ण अवस्थामा रहेका व्यक्तिहरुलाई विशेष हेरचाह र सेवाका लागि विशेष सहयोग गरी मानवीयता देखाऔं । यस्ता वर्गलाई  सहयोग गर्ने दाता वा सहयोगीहरुलाई थप उत्प्रेरित र प्रोत्साहित गरौं ।
  • सिमा नाकाबाट नेपाल छिरेका वा आउँदै गरेका नेपाली नागरिकहरुको ब्यवस्थापनका लागि स्थानीय¸ प्रदेश र संघीय सरकार तथा सुरक्षाकर्मी हरुसँगको समन्वयमा आवश्यक सहयोग गरौं ।
  • वडा¸ गाउँ/नगर¸ प्रदेश र संघीय स्तरमा गठित युवाक्लब सञ्जालमा आवद्ध युवाहरुले आ-आफ्नो क्षेत्रमा सम्बन्धित सरकारसँग समन्वय गरी स्वयमसेवकीय भुमिका निर्वाह गरौं ।
  • गाउँ/टोलमा कुनै विरामी परेको भए निजलाई छिटो भन्दा छिटो नजिकको अस्पताल वा स्वास्थ्य चौकीमा लान सहयोग गरौं । सबै विरामी वा लक्षणलाई कोरोनासँग नजोडौं । यस बारेमा जनसमुदायलाई सचेत बनाऔं । यदि तत्काल समस्या परेमा नजिकको प्रहरी चौकी¸ वडा कार्यालय तथा स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुसंग संपर्क तथा समन्वय गरौं ।
  • यस्तो विपदको घडीमा अहोरात्र खट्ने स्वास्थ्यकर्मी सुरक्षाकर्मी राष्ट्रसेवक कर्मचारी जनप्रतिनिधि समाजसेवी एम्बुलेन्स चालक आदिलाई काम गर्ने उचित वातावरण निर्माण गरौं र निजहरुलाई उचित सम्मान गरौं ।
  • मानवीय कार्यमा सहयोग गर्ने सामाजिक संघसंस्था र विकास साझेदार संस्थाहरुले सम्बन्धित स्थानीय तहसंग समन्वय गरी आवश्यक योगदान पुर्याऔं ।
  • समाजमा गलत सन्देश प्रवाह गर्ने व्यक्ति वा अनलाइन वा रेडियो वा टेलिभिजनका वारेमा नजिकको प्रहरी चौकी वा जिल्ला प्रशासन कार्यालयमा उजुरी दिई गलत काम हुनबाट रोक्ने प्रयत्न गरौं¸ एक सचेत र असल नागरिकको परिचय दिऔं ।
  • दैनिक उपभोग्य बस्तु उत्पादन तथा प्रशोधन गर्ने घरेलु उद्योग तथा अन्य ग्रामीण परंपरागत लघु उद्यमीहरुलाई आवश्यक सहयोग गरी आपूर्ति व्यवस्थालाई सहज बनाउन लागौं ।
  • समाजको एक जिम्मेवार नागरिक बनौं । यस राष्ट्रिय विपत्तिबाट आँफू बचौं र अरुलाई पनि बचाऔं ।

डा. बाबुराम ढुङ्गाना – प्रशासकीय प्रमुख¸ राष्ट्रिय युवा परिषद् सानोठिमी भक्तपुर

लोचन बस्नेत – अध्यक्ष¸  राष्ट्रिय युवा प्रतिभा तथा उद्यमी सञ्जाल

तिलोत्तम पौडेल – अध्यक्ष सामाजिक संघसंस्था युवा सञ्जाल

उत्तम अधिकारी  – अध्यक्ष¸  रिटर्नी माइग्रेन्ट युवा सञ्जाल

विवेक त्रिपाठी – अध्यक्ष¸  संघीय युवाक्लब सञ्जाल

सविता उप्रेती – अध्यक्ष¸  राष्ट्रिय पुनस्थापना युवा सञ्जाल

सुमन दाहाल – अध्यक्ष¸  परंपरागत बस्तु उत्पादन युवा सञ्जाल



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...