कोरोना, राजनीतिक बेईमानी र रेस इप्सा (कल्पना बिरुद्द यथार्थ)

- बाबुराम खत्री, एक्रोन, ओहायो, अमेरिका

Published Date: May 13, 2020

– बाबुराम खत्री, धापासी काठमाण्डौं, हाल एक्रोन, ओहायो, अमेरिका

पहिले देखिको योजना अनुसार नै यही २०२० को मे महिनाको अन्तिम साता म सपरिवार नेपाल पुगेछु । अमेरिका आएपछि पढाई समेतका कारणले नेपाल जान मिलेको थिएन । जुरिस डाक्टर (Juris Doctor-JD) अध्ययनको करीब ३ बर्षको कठिन यात्रा यही मे को पहिलो साता सकियो । उपलब्धिको यो क्षणलाई सगर्व र हर्षका साथ लिंदै ग्य्राजुएसन सेरोमोनी सकेर सपरिवार नेपाल उड्यौं । करीब ५ बर्ष ९ महिनाको लामो अन्तराल पछि आफ्नो घर पुगेकाले हामी धेरै खुसी थियौं । लामो समयपछि आफ्नै घरमा पुग्दाको रमाईलो त छँदै थियो तर कोरोनाको संक्रमणको त्रासले त्यहाँपनि छोडेको थिएन । करीब ३० घण्टा लामो हवाई यात्राको थकान र नेपाल र अमेरिका बीचको समय अन्तरले उत्पन्न जेट ल्याग (Jet lag) को कारणले साह्रै थकाई लागेकोले बैठक कोठाको सोफामा आराम गरी रहेको थिएँ । म्यासेन्जरमा एकजना पूराना वकील मित्रको फोन आयो । मैंले फोन उठाएँ । म नेपाल आएको थाहा पाएर फोन गरेका रहेछन् । एकछिन यस्तै व्यवहारिक गफ भयो । पछि ती साथीले फोन गर्नुको बिशेष कारण बताउँदै एउटा सार्वजनिक सरोकारको बिषयमा सर्वोच्च अदालतमा दायर गरिने रिट मुद्दाको मस्यौदा गर्न सहयोगका लागि मलाई अनुरोध गरे । म अलि दोधारमा परें । म भर्खरै नेपाल आएको र वकालत नगरेको करीब ५ बर्ष भन्दा बढी भएको थाहा हुँदाहुँदैपनि मलाई त्यसरी अनुरोध गर्नुको खास कारण चाहिं बुझ्न खोजे । साँझ ती मित्र मुद्दाको फाईल लिएर घरमै आए । तिनले मुद्दाको तथ्य र मसंग सहयोग माग्नुको कारण बताए ।

अमेरिकी कानून वा न्याय प्रणालीमा अबलम्बन गरिने कुनै यस्तो सिद्धान्तको आधारमा यो मुद्धालाई बलियो आधार दिने अवस्था सिर्जना हुने गरी सो रिट निवेदन लेख्न सहयोग गरीदिनका लागि उनले अनुरोध गरे । फाइल दिएर मित्र बिदा भए । सो फाईल संलग्न टिपोट तथा अपूर्ण रिट निवेदनको मस्यौदाबाट मुद्दाको तथ्य अध्ययन गर्दा म भावुक तथा उत्सुक भएँ । सो टिपोट र मस्यौदा हेर्दा, रिट निवेदक अछामका ३५ बर्षे वीर बहादुर नेपाली रहेछन् । उनी द्वन्द्वकालमा गाउँ छोडन बाध्य हुन्छन र बैदेशिक रोजगारीको क्रममा दुबाईमा निर्माण मजदुरको रुपमा काम गर्दागर्दै लडेर घाईत भएर नेपाल फर्कन्छन् । केही बर्षपछि भारतमा मजुदरी गर्दै आफ्नो र परिवारको गुजारा चलाई रहेका हुन्छन । कोरोना संक्रमणपछि भारतमा लकडाउन शुरु भएपछि घर फर्कन खोज्दा उनलाई सिमानमा प्रहरीले रोक्छ । धेरै प्रयास गर्दापनि केही नलागेपछि महाकाली नदी पौडेर तर्छन् । यता सिमानामा बसेका प्रहरीको लाठी प्रहारले टाउको फुटी घाईते हुन्छन् । उनै वीर बहादुर आफ्नो आफू समानका अन्य सामान्य नेपाली जनताको प्रतिनिधित्व गर्दै नेपाल सरकार र नेपालका धेरै राजनीतिक पार्टीका नेता तथा शासन सत्ता संचालन गरेका पूर्व प्रधान मन्त्री, कार्यकारी अध्यक्ष तथा मन्त्रीहरुलाई विपक्षी बनाई जीवन बर्बादी, असक्षम ढंगले राज्य संचालन गरेको, नेपाल र नेपालीलाई समृद्ध बनाउन सर्मपित भई काम गर्नुपर्नेमा सो नगरी उल्टै जनता माथि शोषण दमन गरी क्षति पु¥याएको भन्ने आधारमा तिनलाई दोषी ठरर्हार्यै  दण्डीत गरी निजहरुबाट क्षतिपूर्ति भराई पाउन समेतका लागि यो बिशेष रिट निवेदन रिट दायर गर्ने योजना गरेका रहेछन् ।

यो मुद्दाको रोचक र चुनौतीपूर्ण पक्ष त यो रहेछ कि बिशेष गरी २०४६ साल पछि नेपालमा शासन गर्ने राजनैतिक पार्टीहरु मूलत नेपाली काँग्रेस, नेकपा, राप्रपा, मदेशवादी दलहरुबाट प्रधान मन्त्री, उपप्रधान मन्त्री, मन्त्री, राज्य मन्त्री, सहायक मन्त्री, साँसद आदि राजनैतिक लाभको पदमा बसेर पदको दुरुपयोग गरी लाभ आर्जन गरेका वा सो पदको जिम्मेवारी र गरिमा अनुसार देश जनताको हितमा आफ्नो पद र जिम्मेवारीको प्रयोग नगरी वा गर्नबाट असक्षम भई नेपाल र समग्र नेपाली जनताको हक हित उपर प्रत्यक्ष र परोक्ष रुपमा क्षति पु¥याएका र हाल सम्म राननीतिमा रही रहेका सबै नेता, शासक तथा प्रशासकहरुलाई अब उप्रान्त राज्यको कुनैपनि पद वा जिम्मेवारीमा रहन अयोग्य घोषित गरी पाउँ भन्ने मागदाबी गर्नुपर्ने थियो । साथै, निजामती, प्रहरी र सेना निवृत्त भए जस्तै गरी ६० बर्ष नाघेका कुनैपनि व्यक्तिलाई राज्यको राजनैतिक अधारमा प्राप्त हुने प्रधान मन्त्री, उपप्रधान मन्त्री, मन्त्री तथा अन्य कुनै कार्यकारी पदमा वा जिम्मेवारीमा रहन अयोग्य घोषित गरी पाउँ भन्ने समेत मागदाबी गर्नुपर्ने थियो । हरेक बिपक्षीहरुको काम वा कृयाकलापलाई एक एक गरी दोषी प्रमाणित गर्न नसकिएतापनि उनीहरुले गरेको गलत कार्यसम्पादन वा गैरजिम्मेवारी वा असक्षमता आदि कुनै न कुनै आधार स्थापना गर्न सकियो भने पक्कै पनि क्लास एक्सनका आधारमा उनीहरुलाई वीर बहादुर तथा नेपाली जनता प्रति उत्तरदायी ठहर्याउन सकिने अवस्था हुन्थ्यो । तसर्थ, यसका लागि आवश्यक कानूनी सिद्धान्त वा आधार पेश गर्नुपर्ने चुनौती थियो ।

झट्ट हेर्दा, सो मुद्दाको बिषय बस्तु कुनै सिनेमाको कथा बस्तु वा फिक्सन जस्तोपनि लाग्यो तर यो बिषयमा दम छ । यो विर बहादुर नेपालीको मात्र होईन सुखद र समृद्ध जीवनको चाहनामा विदेशिने हरेक नेपाली तथा देश भित्र नै पुस्तौ पुस्ता देखि दमित र शोषित आम नेपाली जनताको आवाज र अवस्था हो जसको एउटा अंश म पनि हुँ जस्तो लाग्यो । राजनैतिक विकृतिले फैलाएको दुष्परिणाम नै नेपाल र नेपाली समाजको अधोगतिको कारक हो । तर त्यो बिषय वा घटना फिक्सन वा कोराकल्पनामात्र नभै हाम्रो देश समाजमा दिन दिनै घटीरहेको र धेरै नेपाली जनताले भोगी रहेको नियति वा दुःख हो । मुद्दामा जीत हार एउटा पक्ष हो तर त्यसले मानिसहरुको सोचमा ल्याउने बैचारिक तरङ्ग वा परिवर्तनको चाहना अनि देश र जनताको हितमा खेल्न सक्ने भूमिका मूख्य र महत्वपूर्ण बिषय हो । हो यो मुद्दाको प्रकृति हेर्दा अलि राजनैतिक बिषय प्रधान रहेको र न्यायिक निरोपणको बिषय हुन नसक्ने भनी अदालतले खारेज गर्ने वा दर्तै नगर्न सक्ने सम्भावनापनि होला । तर हामीले बुझ्नु पर्ने कुरा चाहिं यो हो कि समय परिवर्तनशिल छ । देश र समाजको बृहत्तर हित र समुचित न्यायको लागि राज्यका हरेका निकायले उचीत, तार्किक र हितकर बिचार व्यवहार तथा सिद्धान्तको अबलम्बन गर्नैपर्छ र गरेको छ पनि । कानून राजनैतिक वर्गको स्वार्थ रक्षा गर्ने साधन होईन यो त सर्वजन हितायको साधन हो । तसर्थ, मेरा मित्रको अनुरोध र मेरो समेत ईन्टे«ष्ट मिलेकोले कसरी यो रिटलाई प्रभावकारी ढंगले तयार गर्न सकिन्छ भनेर सोच्न थालें । राजनीतिक क्षेत्रले संधै देश र जनतालाई प्रयोगशाला बनाई रहेको मेरो देशको बिगत र बर्तमानको समीक्षा गर्दै देश र जनताको हितका लागि र उचीत न्याय प्रदान गर्नका लागि हाम्रो न्यायपालिकालेपनि जुनसुकै क्षेत्र वा सभ्य देश वा समाजले अंगालेको न्यायिक सिद्धान्तलाई मान्यता दिई अवलम्बन गर्छ भन्ने बिश्वास गरें । यही बीच जेडि प्रथम बर्षमा अध्ययन गरेको दुष्किृति सम्बन्धि कानून (Torts Law) अन्तर्गतको “रेस इप्सा लोक्वईटर (Res Ipsa Loquitur -RIL) को सिद्धान्त यो मुद्दामा सही हुन्छ भन्ने ठानी सो मस्यौदामा तलका निम्नलिखित परिच्छेद थपें ।

अमेरिकी कमनलमा दुष्किृति सम्बन्धि कानून (Torts Law) अन्तर्गतका सिद्धान्तहरु मध्ये “रेस इप्सा लोक्वईटर (Res Ipsa Loquitur -RIL) ”एक महत्वपूर्ण सिद्धान्त मानिन्छ । “रेस इप्सा लोक्वईटर (Res Ipsa Loquitur -RIL) ” ल्याटिन वाक्याँश हो जसको शाब्दिक अर्थ चाहिं “तथ्य वा घटना आफैं बोल्छ (The thing speaks for itself)” भन्ने हो । यो सिद्धान्त प्रत्यक्ष प्रमाणको अभाव भएको र परिस्थितिजन्य प्रमाणका आधारमा विवादको निरोपण गर्नुपर्ने अवस्थामा लागु हुन्छ । मूलत, कुनैपनि दुष्किृति सम्बन्धि मुद्दामा पिडक प्रतिवादीले हेलचेक््रयाईपूर्वक (Negligently) पिडित बादीलाई हानि नोक्सानी पुग्ने गरी घटाएको कुनै घटना वा गरेको कृयाकलापको आधारमा निज प्रतिबादी दोषी हो वा होईन र प्रतिबादीले बादीलाई पुग्न गएको हानि नोक्सानीको क्षतिपूर्ति तिर्नु पर्छ कि पर्दैन भन्ने प्रश्नको निराकरणको लागि अबलम्बन गरिन्छ । यो सिद्धान्त अनुसार “कुनैपनि मुद्दामा रेस इप्सा लोक्वईटरको आधारमा प्रतिवादीको दोष स्थापित गरी आफ्नो दाबी प्रमाणित गर्नका लागि बादीले निम्न ४ -चार) वटा तथ्य वा अवस्था स्थापित गर्नसक्नु पर्दछ M -१) कसै न कसैले अनुचित एवं हेलचक्र्याईपुर्बक  (Unreasonably and Negligently) कार्य नगरेको भए बादीलाई क्षति पुग्ने दुर्घटना घट्ने थिएन, M -२) बादीलाई क्षति पुग्ने दुर्घटना घटाउने साधन (Instrumentality) पूर्ण रुपमा प्रतिवादीको नियन्त्रणमा थियो, -३) सो दुर्घटना घटाउनमा बादी आफैंले कुनै सहयोगी भूमिका निर्वाह गरको थिएन र -४) उल्लेखित ३ अवस्थाको बिद्यमानताको कारणले बादीलाई शारीरिक वा आर्थिक वा अन्य क्षति पुग्न गएको हुनु ।”

सर्वप्रथमतः अमेरिकी कानूनी प्रणालीमा प्रचलित कुनैपनि मुद्दाका पक्षहरु बीचको देवानी प्रकृतिको बिवादमा मात्र लागु हुने यो “रेस इप्सा”को कानूनी सिद्धान्तलाई राज्य र व्यक्ति वा राजनैतिक दल वा समुह तथा नागरिक वा व्यक्ति वा व्यक्ति समुह बीच उत्पन्न हुने वा भएको र राजनैतिक प्रकृतिको मुद्दाको निरोपणका लागि अवलम्बन वा लागु गर्न मिल्छ वा मिल्दैन भन्ने मूल प्रश्न हो । यो मूल प्रश्न निरोपणका लागि हामीले हाम्रो न्याय प्रणालीले यसलाई स्वीकार्छ कि स्वीकार्दैन र हाम्रो राजनैतिक वर्गको चरित्र दोषी छ कि छैन भन्ने दुईवटा प्रश्नहरुको जबाफ खोज्नुपर्ने हुन्छ । पहिलो प्रश्न तर्फ, संबैधानिक सर्वोच्चता अंगीकार गरेको हाम्रो न्याय प्रणालीले न्याय सम्बन्धि अधिकार नेपालको संविधान, कानून र न्यायका मान्य सिद्धान्तको आधारमा अदालत तथा न्यायिक निकायबाट प्रयोग हुने व्यवस्था गरेको छ । जसको सोझो अर्थ कुनैपनि मुद्दा वा विवादको निरोपणका लागि न्याय सम्पादनको क्रममा जुनसुकै न्यायिक सिद्धान्तको प्रयोग र पालना गर्न यो स्वतन्त्र अदालत सक्षम छ । कतिपय चुनौतीपूर्ण विवादहरुमा समय सापेक्ष ढंगले न्याय प्रदान गर्नका लागि न्यायिक तर्क, विवेक तथा प्रचलनका आधारमा नयाँ ढंगको ब्याख्या विश्लेषण गर्दै नवीनतम सिद्धान्तहरुको प्रयोग तथा प्रतिपादन गर्नु नै स्वतन्त्र न्यायपालिको काम कर्तव्य हो । यो नै कुनैपनि सभ्य र सुसंस्कृत समाजको निर्माणको जग हुनुका साथै विधिको शासनको प्रमूख आधारपनि हो अनि आधुनिक विधिशास्त्रीय मान्यता समेत हो ।

दोस्रो प्रश्न तर्फ, हाम्रा शासक तथा राजनीतिक वर्गको राजनैतिक चरित्र अस्थीर र प्रयोगबादी किसिमको रहेको छ । २००७ पछिको मात्र ईतिहास हेर्दापनि, हाम्रो राजनीतिमा धेरै प्रयोगहरु भए । २००७ देखि नै पञ्चायती व्यवस्थाको अवधीलाई छोडेर भन्दा लगभग हरेक दशकमा शासन व्यवस्था परिवर्तनको लागि आन्दोलन भई नयाँ नयाँ संविधान जारी भएको अकाट्य सत्य हाम्रा सामु छ । अन्यत्र बिरलै हुने कतिपय राजनैतिक प्रयोगहरु हामी कहाँ भए । सार्वभौमसत्ता सम्पन्न राजतन्त्र, जनतामा आँशिक सार्वभौमसत्ता सम्पन्न प्रजातन्त्र, प्रधानमन्त्रीको कार्यकारी अधिकार हातमा लिएका राजाको शासन, हुदै हालको गणतन्त्र, अनि गणतन्त्रमैपनि सिमित प्रयोजनकै लागि भएपनि न्यायपालिका प्रमूखलाई प्रधानमन्त्री सरहको कार्यकारी अधिकार सुम्पेको अनौठो शासन । यी सबै प्रयोगहरुका बाबजुदपनि देशमा सारभूत रुपमा कानूनको शासन स्थापना भएको अनुभूति नहुनु र जनताले आफ्नो न्यूनत्तम आकाँक्षाका र आवश्यकता परिपूर्तिको भएको महशुस गर्न नसक्नुको भागेदारी पक्कैपनि असक्षम राजनैतिक नेतृत्व बर्गले बहन गर्नुपर्ने हो र हुन्छ ।

तसर्थ, उल्लेखित विवेचनाबाट यो मुद्दामा उब्जेको मूल प्रश्न निरोपणका भएको छ कि हाम्रो न्याय प्रणालीले पूर्ण न्याय प्रदान गर्नका लागि न्यायका मान्य सिद्धान्तको समय सापेक्ष ब्याख्या गर्दै परिष्कृत र परिमार्जनका साथ लागु गर्न सक्दछ । हाम्रो समकालिन तथा बर्तमान राजनैतिक नेतृत्व वर्गको चरित्र देश र जनताको हितको सुरक्षा गर्न असक्षम रही देश र जनताप्रति दोषी छ । यस्तो अवस्थामा देश र जनताप्रतिको कर्तव्यबाट च्यूत भएको असक्षम र दोषी राजनैतिक तथा शासक वर्गलाई यथोचित ढंगले दण्डित गर्दै देश र जनताप्रति पूर्ण न्याय प्रदान गर्ने उद्देश्य प्राप्तिका गर्न न्याय, तर्क र विवेक समेतका आधारमा यो मुद्दामा यस सम्मानित अदालतले आफुमा सन्निहित न्यायिक अधिकारको फरक तथा नवीनतम प्रयोग गर्दै रेस इप्सा (Res Ipsa) सिद्धान्तको आधारमा यो मुद्दा निरोपण गर्न सक्छ र यसका हरेक एक एक तत्व वा शर्त अवस्थाहरुको बिद्यमानता छ भन्ने तर्फ निम्न बुँदा पेश गर्दछुः

 -१) प्रथमतः बिगत लामो समय देखि नै हाम्रो देशको शासन हाँक्ने शासक तथा राजनीतिज्ञहरुको व्यक्तिगत स्वार्थसिद्धि, देश र जनताको हितप्रतिको उपेक्षा तथा हेलचेक््रयाँई, कार्य क्षमताको अभाव वा असमक्षता, अदूरदर्शिता आदिका कारण देश र आम जनताले ठुलो हानि नोक्सानी व्यहोर्नुपरी रहेछ । बिशेष गरी बर्तमान विश्व परिवेशमा समय सापेक्ष रुपमा देशको राजनीतिक, सामाजिक, आर्थिक विकासका दिशामा हाम्रो देश नेपाललाई सही ढंगले संचालन गर्न नसकि आम नागरिक र जनताले दुःख कष्ट भोग्नु परेको र हाम्रो भन्दा प्राकृतिक, साँस्कृतिक लगायतका साधन स्रोतहरुको कमी भएका विश्वका कैयौं मुलुकहरुको तुलनामा हाम्रो देश पछि पर्नुको युक्तिसंगत कारण राजनैतिक बेईमानी बाहेक अर्को केही हुन सक्दैन । जनता दैनिक रुपमा गाँस बास र कपास, शिक्षा, स्वास्थ्य जस्ता आधारभूत आवश्यकता पूरा गर्न विदेशको चर्को घाममा रगत पसिना बगाउने तर नेता तथा शासक चाहिं भ्रष्टाचार, कमिशनतन्त्र, राज्यको ढुकुटीको लुट मच्चाउने जस्ता दिनदिनैका घटना र दृष्टान्तहरु यसका प्रत्यक्ष प्रमाण हुन । तसर्थ, रेस ईप्साको पहिलो शर्त वा अवस्था “कसै न कसैले अर्थात यी प्रतिवादी नेता तथा शासकहरुले आफ्नो स्वार्थपूर्तिको अनुचित तरीका अवलम्बन गरी एवं आम नेपाली जनताको हितको उपेक्षा गरी हेलचेक््रयाँईपूर्वक देश संचालन नगरेका भए बादी समग्र नेपाली जनताले आजको जस्तो पछ्यौटेपना र कष्ट झेल्नु पर्ने जस्तो क्षति पुग्ने झेल्नु पर्ने थिएन ।

-२) द्धितीयतः उल्लेखित बिपक्षीहरुको पूर्ण नियन्त्रणमा बिगत ३० बर्ष देखि नेपालको शासन सत्ता केन्द्रित थियो । मूलत २०४६ सालमा बहुदलीय व्यवस्था पुनस्थापना पछि र यी मध्येका केही त सो भन्दा अघि पञ्चायत व्यवस्थामै शासन शक्तिमा रही हालीमुहाली गर्ने मध्येका रहेका छन् । आज यस मद्दामा बिपक्षी बनाईएका सबै राजनीतिक दलका नेताहरु तथा पूर्खाको बलिदानको नाउँमा देश संचालन गर्नेहरु बिगत ३० बर्ष वा सो भन्दा अघिदेखि नै नेपालको राज्यसत्तामा रहेका थिए । कुन पार्टीको को नेता कति पटक प्रधान मन्त्री वा मन्त्री भए भन्ने भन्दापनि सामुहिक रुपमा यिनीहरु नै आलोपालो गरी शासन सत्तामा रहेको तथ्य कसैका सामु लुकेको छैन । यिनले नेपालको शासन सत्ता आम नेपाली जनताको बृहत्तर सामाजिक, आर्थिक हितमा प्रयोग नगरी केबल आफ्नो स्वार्थ सिद्धिका लागि मात्र प्रयोग गरेको तथा उल्टै जनताको शोषण दमन र जनआकांक्षा विपरीत प्रयोग भएको बिषय सबैका सामु प्रष्ट छ । तसर्थ, रेस ईप्साको दोस्रो शर्त वा अवस्था “बादीलाई सामान्य आम नेपाली जनतालाई क्षति पुग्ने दुर्घटना घटाउने साधन वा नेपालको राज्य सत्ता पूर्ण रुपमा प्रतिवादी नेता तथा राजनीतिज्ञहरुको नियन्त्रणमा थियो”भन्ने कुरा पूर्ण रुपमा यहाँ पुष्टि भएको छ ।

-३) तृतीयत नेपाली जनताले आफु माथि शासन गर्नका लागि जुन राजनैतिक वर्ग वा समुहलाई विश्वास गरे त्यस वर्गले निरन्तर रुपमा नेपाली जनताको त्यो विश्वास उपर धोका दिई नै रह्यो । सभ्य, समृद्ध र सम्मुनत जीवनको परिकल्पना गर्दै समय सापेक्ष ढंगले शासन व्यवस्था परिवर्तनको लागि जनताले पटक पटक लामो संघर्ष गरे । २००७ साल देखि २०६३ सम्मको अवधीमा हरेक जस्तो दशकमा जनताको आन्दोलन जारी रहे । हरेक आन्दोलनमा देश र जनताको मुहार फेर्ने र विकास र समृद्धि ल्याउने राजनैतिक दलहरुको बाचा र प्रतिबद्धताहरु आन्दोलनको सफलतापछि तिनका सत्तारोहणसंग समाप्त हुने क्रम निरन्तर नै रह्यो । शुशासन, समृद्धि तथा व्यक्तित्व विकासका अवसर जस्ता बिषयहरु दिनानुदिन कमजोर हुँदै जानु र उल्टै भ्रष्टाचार, बेथिति र बिकृति मौंलाउँदै गएको बर्तमान अवस्थाको प्रमूख कारण राजनैतिक तथा शासक वर्गको जनताप्रतिको अनुत्तरदायी प्रवृत्ति र धोका नै हो । चाहे त्यो २०४६ साल पछिको होस वा २०६२।६३ को आन्दोलनको सफलतापछि कै नेपाल होस । जनताले राजा, शासक तथा राजनीतिक दलहरुलाई विश्वास गरेर आफ्ना कर्तव्य पालना गरेकै हुन । पञ्चायतकालमा राजा र पञ्चको विश्वास गरेकै हुन । २०४६ सालको आन्दोलनको नेतृत्व गर्ने नेपाली काँग्रेसलाई बहुमत दिएकै हुन । तर सत्ता उन्मादको कारण आफ्नै दलको बहुमतको सरकार रहेको अवस्थामा संसद विघटन पश्चात २०५६ को निर्वाचनमा तत्कालीन एमालेलाई जनमत दिएर सरकारमा पठाएकै हुन । देश र जनताको मुक्तिको लागि भनी हजारौंको ज्यान जाने र अर्बौंको सम्पत्ति क्षति हुने गरी भएको हिंसात्मक द्वन्द्वको नेतृत्व गरेको माओबादी पार्टीलाई उसैको नेतृत्वले परिवर्तन गरेको भनी २०६४ सालको निर्वाचनमा नेपाली जनताले पुरष्कृत गरेकै हुन । त्यस्तैगरी, छिमेकीको नाकावन्दी तथा राजनीतिक हस्तक्षेपको प्रतिकार गरे बापतको सहानुभूति वा पुरष्कारको रुपमा २०७४ को निर्वाचनमा हालको नेकपालाई नेपाली जनताले झण्डै दुई तिहाईको बहुमत दिएकै हुन । यसरी विकास र उन्नत्तिका लागि परिवर्तनको नारा दिएकै भरमा जनताले आफ्नो आकाँक्षा सम्बोधन गर्ने आशामा राजनैतिक पार्टी तथा शासक वर्गलाई पूरापूर विश्वास गर्दै आएका छन । तर जनताको आकाँक्षा र आशालाई सहि ढंगले अघि बढाई एक समुन्नत र समृद्ध र समय सापेक्ष रुपमा छरछिमेकी मुलुकहरुसंग दाँजिन सक्ने सबल नेपालको निर्माण गर्नमा हाम्रा नेता तथा शासक बारम्बार चुक्दै आएका यर्थाथ प्रमाणित छ । साराँशमा नेपालको विकास, समृद्धि तथा प्रगतिको प्राप्तिको लागि नेपाली जनताले संधै विवेकपूर्ण ढंगले नेपालका राजनीतिक पार्टी वा शासक बर्गको छनौट गर्दै आएका छन तर ती राजनैतिक पार्टी वा शासक वर्गबाट जनताले चाहिं धोका नै पाई राखेको अवस्था छ । नेपाल र नेपाली जनताको समग्र हित र अकाँक्षा परिपूर्तिको मार्गमा हाम्रा नेता, शासक तथा राजनीतिक दलहरु हमेशा असक्षम, अदूरदर्शि तथा दोषी रहँदै आएको पाईएको छ । जनता निर्दोष छन, पिडित छन र निरिह छन । तसर्थ, रेस ईप्साको तेस्रो शर्त वा अवस्था “सो दुर्घटना घटाउनमा देशको दुराबस्था ल्याउनमा बादी, वीर बहादुर लगायतका समान्य नेपाली जनता आफैंले कुनै सहयोगी भूमिका निर्वाह गरेका होईनन् थिएनन्”भन्ने कुरा पूर्ण रुपमा यहाँ पुष्टि भएको छ ।

 -४) चौंथो, नेपाल र नेपाली जनता संधैभरि केही मुठ्ठीभरका राजनीतिक व्यक्ति समुह वा स्वार्थी झुण्डहरुको स्वार्थ र कमजोरीको शिकार बनी रह्यो । व्यवस्था फेरिए तर व्यवस्थापक अनि तिनका प्रबृत्ति फेरिएन, संबिधान तथा कानून फेरियो तर तिनको कार्यान्वयन गर्ने स्वरुप र स्वभाव फेरिएन । शुद्ध र पवित्र भावनाले जनहितमा सर्मपति हुनूपर्ने राजनीति संधैभरि विकृति र विसंगतिले भरियो । राम्रा मान्छेहरु राजनीतिमा अटाएनन वा टिक्न सकेनन् । राजनीति भनेको जालझेल र तिकडमको पर्याय पो हो कि जस्तो लाग्ने दिन आयो । देश भित्रको यही दुरावस्थाको फाईदा उठाउनका लागि ठुला छिमेकिहरु मौका पर्खीरहेका छन । दक्षिणको छिमेकी त संधैको “अफ्ट्यारो ठाउँको पीलो” भने जस्तो छ अब त उत्तरपनि विस्तार रणनीतिका दाउपेचमा उत्रेला जस्तो पो त छ त । कालापानीमा ठूलो नेपाली भूभाग मिचि आफ्नै नाक्शा हाल्ने, अन्य सिमानाहरु रातारात मिच्ने र बर्षौं देखि लुम्बिनिमा आँखा लगाउने दक्षिण छिमेकी झेल्न गाह्रो भईरहेकै अवस्थामा उत्तर छिमेकीपनि हाम्रो सगरमाथा नाप्दै पो छ रे त । डर त यो पो छ कि सगरमाथा हाम्रो हो भनी उत्तरले दाबी पो गर्ने हो कि ? जर्वजस्ती नेपालमाथि आफ्नो हैकम जमाउन प्रयत्नरत दक्षिण छिमेकीले बुद्ध जन्मस्थल लुम्बिनि र आफ्नो फाइदाको लागि माहिर र चलाख उत्तरी छिमेकीले सगरमाथा उपर दाबी गरी एकआपसमा रणनीतिक मौनता साँधे भने अचम्म नमाने हुने अवस्था आएको छ । अर्कातर्फ, देश भित्रकै एकै दल भित्रपनि शक्ति संर्घष, खिचातानी, बेथिति, भ्रष्टाचार, असुरक्षा, जस्ता विकृतिले आम नेपाली जनता आजित छन । बर्षौं अघि परिवारको खर्च धान्नको लागि हातमा नाम्लो बोकेर भारत पसेको ३५ बर्षे बीर बहादुर आजपनि उस्तै हालतमा छ । उही उमेर उस्तै धारतलमा रहेको ३५ बर्षे चाईनिज वाङ्ग लि आज भन्दा ५ बर्ष अघि नै अर्बपति बनी सकेको छ । के जनताको जीवनस्तर बीचको यो फरकमा राज्य संचालकहरुको कुनै भूमिका वा जिम्मेवारी वा कर्तव्यबोध हुँदैन ? पक्कै हुन्छ र हुनू पर्छ । यदि हुन्छ भने हाम्रा दलका नेता तथा शासकहरुले यसको परिपालना किन गरेनन ? जनताको आधारभूत शिक्षा, स्वास्थ्य, सुरक्षा तथा रोजगारको सामान्य व्यवस्थापन गर्न नसक्ने असक्षम राजनैतिक व्यक्तिहरुको समुहलाई राज्यसत्तामा बसी देश र जनतामाथि शोषण गर्ने तथा जनताको हकहितमाथि खेलबाढ गर्ने अधिकार आधुनिक राज्य प्रणालीमा कदापि स्वीकार्य हुन सक्दैन । कोरोना संकटको यो संगीन घडीमा प्राण रक्षाको लागि आफ्नो घर फर्कन लाग्दा उचीत व्यवस्था गरी देश प्रवेश दिनुपर्ने सो नगरी सयौं हजारौं वीर बहादुरहरुलाई सिमानामा काँडेतार लगाउने यो देशको प्रशासनलाई राज्यको नागरिक प्रतिको कर्तव्य र जिम्मेवारी के हो भनी कस्ले बुझाउने ? कुनैपनि संकट वा विपत्तिलाई आफ्नो स्वार्थ सिद्ध गर्ने मौकामा रुपान्तरण गर्ने स्वार्थीहरु माथि कस्ले कारवाही गर्ने ? यस्ता प्रश्नका सूचि लामा छन । साराँशमा, समान्य नेपाली जनता आफ्नै शासक र राजनीतिक वर्गबाट बषौं देखि पिडित छ र अनवरत क्षति व्यहोरीरहेका छन । तसर्थ, रेस ईप्साको चौंथो शर्त वा अवस्था “ उल्लेखित ३ अवस्थाको बिद्यमानताको कारणले बादीलाई शारीरिक वा आर्थिक वा अन्य क्षति पुग्न गएको हुनु ।”भन्ने अवस्थापनि पूर्ण रुपमा यहाँ पुष्टि भएको छ ।

साथै, राज्यको नीति नियम कार्यान्वय गर्ने र देशको प्रशासन चलाउने र सरकारको प्रत्यायोजित अधिकारको कार्यान्वयन गर्ने जिम्मेवारी बोकेको निजमती, सेना, प्रहरी लगायतका सेवामा त ५८ वा ६० को उमेर हद पछि चुस्त दुरुस्त ढंगले काम गर्न नसक्ने अनुमानका आधारमा निवृत्त हुने व्यवस्था छ । यही व्यवस्था वा अनुमानलाई आधार लिने हो भने पनि, झन देश र जनताको हकहित सरोकार र व्यक्तित्व बिकासको अहम बिषयसंग जोडिएर प्रत्यक्ष रुपमा राज्यसत्ताकै संचालन गर्ने झन ठुलो जिम्मेवारी वहन गर्नका लागि ६० बर्ष नाघेका व्यक्ति त स्वत रुपमा असक्षम हुन्छ नै भनी मान्नु पर्ने हुन्छ । तसर्थ, ६० बर्ष नाघेका कुनैपनि व्यक्तिलाई राज्यको राजनैतिक अधारमा प्राप्त हुने प्रधान मन्त्री, उपप्रधान मन्त्री, मन्त्री तथा अन्य कुनै कार्यकारी पद वा जिम्मेवारीमा रहन दिनु देश र जनताको हितमा नहुने समेत प्रष्ट छ ।

तसर्थ माथि उल्लेखि बुँदाहरुका आधारमा सम्मानित अदालत समक्ष आफ्नो र समान्य नेपाली जनताको प्रतिनिधित्व गरेका रिट निवेदक वीर बहादुर नेपालीको निवेदन दाबी बमोमिज बिपक्षी नेपाल राज्यको शासन सत्तामा रही बसी केबल आफ्नो व्यक्तिगत हित स्वार्थमा लिप्त भएका भन्ने मानासिब आधार भएका वा सो नभएपनि देशका लागि खासै योगदान दिन नसकेका वा भविष्यमापनि नसक्ने अवस्थाका नेता तथा राजनीतिक समुहमा पर्ने बिपक्षीहरु “रेस इप्सा लोक्वईटर (Res Ipsa Loquitur -RIL) ”सिद्धान्तका आधारमा देश र जनताप्रतिको कर्तव्य तथा जिम्मेवारी बहन गर्न असक्षम रहेको पाईएकोले प्रथमतः निवेदक वीर बहादुर नेपालीको निवेदन दाबी बमोमिज नेपाल सरकारबाट निजलाई क्षतिपूर्ति भराई पाउँ । द्धितियतः नेपालमा राजनैतिक लाभ वा सार्वजनिक पदमा बसेर पदको दुरुपयोग गरी लाभ आर्जन गरेका वा सो पदको जिम्मेवारी र गरिमा अनुसार देश जनताको हितमा आफ्नो पद र जिम्मेवारीको प्रयोग नगरी वा गर्नबाट असक्षम भई नेपाल र समग्र नेपाली जनताको हक हित उपर क्षति पुर्याएका सबै नेता, शासक तथा प्रशासकहरुलाई अब उप्रान्त राज्यको कुनैपनि राजनैतिक पद वा जिम्मेवारीमा रहन अयोग्य घोषित गरी पाउँ । तृतीयतः माथि उल्लेखित कारण र आधारमा ६० बर्ष नाघेका कुनैपनि व्यक्तिलाई राज्यको निजामति, प्रहरी, सेनाका सेवाबाट निवृत्त भए जस्तै राज्य संचालनको महत्पूर्ण जिम्मेवारीमा रहने बिषय त्यो भन्दा बढी संवेदनशिल र चुनौतीपूर्ण हुने तथा त्यस्तो जिम्मेवारी प्रभावकारी ढंगले संचालन गर्न नसेको तथा देश र जनताको हितमा नरहेको यर्थाथ भोगाई हुँदा अब उप्रान्त ६० बर्ष नाघेका कुनैपनि व्यक्ति राजनैतिक अधारमा प्राप्त हुने प्रधान मन्त्री, उपप्रधान मन्त्री, मन्त्री तथा अन्य कुनै कार्यकारि पद वा जिम्मेवारीमा बस्न रहन निषेध समेत गर्ने गरी यो रिट निवेदन माग बमोजिम उत्प्रेषण परामादेश लगायतका अन्य जो चाहिने आज्ञा आदेश जारी गरी पाउँ भनी सादर निवेदन गर्दछु ।

“बाबा, आर्थरगन टप सेभेनमा, एमेजिङ्ग ? लाग्छ, अब एक नेपाली केटो अमेरिकन आईडल” श्रीमती र छोरी दुबैले चिच्याउँदै सुनाए । म झल्याँस भएर ब्युँझिएँ ।

“ ए हो र? ग्रेट” मैंले भने ।

फेसबुक हेर्दै श्रीमती र छोरी अर्को कोठामा गए । मलाइ बेडबाट उठ्न अल्छी लागी रह्यो । मेरो ध्यान एकछिन अघि निद्रामा छँदा देखेको सपना बारे सोच्नमै तल्लीन रह्यो । ओहो Û कस्तो सपना देखेछु । सपना हो कि बिपना छुट्ट्याउनै गाह्रो । सपनाका धेरै बिषय ठ्याक्कै बिपना र यथार्थसंग मिलेको । जे डि प्रथम बर्षमा आफुले अमेरिकामा पढेको दुष्किृति सम्बन्धि कानून (Torts Law) ”अन्तर्गतको “रेस इप्सा लोक्वईटर (Res Ipsa Loquitur -RIL)” को सिद्धान्त लाई नेपाली समाजको राजनैतिक दुष्किृति वा बिसंगति अन्त्यका लागि न्यायिक प्रयोग गर्न सकिने दाबीका साथ रिट निवेदन लेखी रहेको थिएँ । के यो सपना र कल्पना (Fiction) ” मात्रै हो त ? तर कल्पना यर्थाथमा बद्लिन पनि त सक्छ । समय बढो अचम्मको छ, कुन बेला समयले कस्तो रुप देखाउँछ वा कुन बेला फिक्सन यर्थाथमा बदलिन्छ भन्नै सकिन्न् । कुनै समय नेपालमा गणतन्त्र आउँछ भन्ने कुरा फिक्सन नै थियो । गत डिसेम्बरमा चीनको वुहानबाट शुरु भएको कोरोना संकट यसरी संसारभरि फैलिएर अमेरिका र यूरोप जस्ता शक्ति सम्पन्न देशहरुले यो भयानक अवस्था भोग्नु परेको यर्थाथपनि त कुनै समय फिक्सन नै थियो । तर सबै फिक्सनका बद्लाव नकारात्मक परिणाम दिने मात्र हुँदैनन् । एउटा सुखद उदाहरण, नेपालमा जन्मेको एक युवक दिवेश पोखरेल (Arthur Gunn) यतिखेर आफ्नो राम्रो गायन प्रतीभासंगै नेपाली तथा अमेरिकन लगायतका सबैको प्रशसा र भोट पाएर अमेरिकन आईडलको उत्कृष्ट सातमा आफ्नो स्थान सुरक्षित गराइसकेका छन् र आईडल नै जित्नै सम्भावना देखिएको छ । उनलाई हाम्रो धेरै धेरै शुभकामना । यसबाट के निष्कर्ष निकाल्न सकिन्छ भने कुनैपनि व्यक्ति, वस्तु, विचार वा सिद्धान्त राम्रो वा गुणवान छ भने सबैले मन पराउँछन, सबैलाई स्वीकार्य हुन्छ यही नै मानव समाजको चाहना वा स्वभाव हो । नेपालको एउटा राम्रो प्रतीभाले अमेरिकामा राम्रो स्थान पाए जस्तै विकृति र बिसंगति अन्त्य गर्नका लागि अमेरिकी वा अन्य जुनसुकै कानूनमा बिद्यामान राम्रा र प्रभावकारी सिद्धान्तहरुलाई नेपाली न्याय प्रणालीले पनि अबलम्बन गर्दै जाओस । कारोना संकटले हामीलाई दुःख पीडा मात्र नदिई राम्रा र सहि उद्देश्य प्राप्तिका लागि कल्पना (Fiction) हरु यर्थाथमा बद्ल्ने कारण तथा अवसरहरु पनि प्रदान गरोस अनि छिट्टै कोरोना संकटबाट संसारले छुटकारा पाओस, यही कामना छ ।

** ** ** ** ** ** ** ** **



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...